कथा ~~म सानो हुँदाको दशैं
कथा ~ म सानो हुँदाको दशैं
बर्ष दिनमा बल्ल बल्ल एक पटक आउँने दशैँ ! त्यो पनि गरिबको घरमा गरिबी संगै भित्रिन्थ्यो ! बर्ष भरिनै बिहान देखि बेलुका सम्म हात खुट्टा बजार्दा लाउन खानको दुख भने थिएँन! सायद म दस बर्षकी हुनु पर्छ दशैँ नजिकिंदै थियो ! किनमेल गर्न बाबा आमा बजार जाने तरखरमा हुनुहुँन्थ्यो! मैले पनि बजार जाने जिद्दी गरे! म बाबा आमाको कान्छी छोरी यसै पनि मायाले पुलपुलिएकी थिएँ त्यसैले नाई नभनी लिएर जानु भयो ! हरेक बर्ष स्कुलका ड्रेश त्यहि दशैको मौका पारेर फेरिने गर्थ्यो ! लुगा नयाँ हुन्थ्यो ! तर उही सेतो सर्ट र निलो फरक ,चप्पल नयाँ हुन्थ्यो तर उही पिटिक पिटिक गर्ने हात्ती छाप! दशैँ त आउँथ्यो तर प्रत्येक बर्ष झैँ मेरा इक्ष्या र चाहनाले भने नया रुप लिन सकेका थिएनन ! यसपटक भने म आफै बजार गएकी हुँदा जिद्दीपन संगै सेतो भुइमा रातो र निलो फूल बुट्टा भएको जामा किनेर खुशी हुँदै घर फर्किएँ ! अष्टमी हुँदै बडादशैं पनि आयो ! टिका लाउने तयारी भयो! तिन दाजु र एक दिदी सहित पालो पालो गर्दै टिका संगै आसिर्बाद थाप्ने क्रममा मेरो पालो आयो! बाबा र आमाले टिका लगाउँदै आशिर्बादका सब्द बर्साउँन सुरु गर्नु भयो! नानी ठुली हुनु राम्रो पढ्नु ज्ञानी हुनु आफु भन्दा ठुलाले भनेको मान्नु राम्रो ज्वाई भेटेस् भाग्यमानी भएस .....आदि आदी! यहि आसिर्बाद संगै बाबाले भन्नु भयो अब कान्छीले मासु भात खाएर लिंगे पिङ भएतिर भैसी लिएर जान्छे ! एकै छिनमा आउनु भन्दै बाबाले भने पनि म झन खुशी भएर हतार हतार खाना खाएर भैसी खोलेर हिंडे !
दशैंको दिन नयाँ लुगा फेरेको दिन साथीहरुलाई देखाउन हतारो भएको थियो ! त्यो दशैंमा मेरो नयाँ जामा स्कुलको ड्रेश भन्दा फरक पाएकी ले म फुर्केर भुइमा खुट्टा नै थिएनन्! त्यस बेलाको सिनेमा हल सारदा टाकिज बेलबारीमा लाहुरे फ्लिम चलेकोले गर्दा सबैको मुखमा सोहि फिल्म कै गीत झुन्डिएको थियो ! म पनि भैसी माथी चडेर बिरताको चिनो बिरको सन्तान सहीदको रगत लाहुरेको निशानी....गुन्गुनाउदै भैंसी लाई सिर्कनाले हान्दै छिटो छिटो पाइला सार्ने संकेत दिदै थिएँ ! बाटोमा एक साथी संग भेट भयो! फुरुक्क हुँदै जामाकै कुरा गरें ! क्रमस जामा संगै मेरो फुर्क्याई सकेर म घर फर्कन लागें! भैंसी लाई कुलोमा पानी खुवाउन लाँदै थिएँ ! बजिनिलाई आहाल बस्न मन लागेछ घर आउँन मान्दै मानिन आहाल बसेरै छाडी ! एकछिनमा कुलोको हरियो दुबो चर्याम चर्याम पार्दै चपाउन लागेकीले मेरो कमलो मनले कुलोको बाटो हुँदै घरसम्म चराएर लैजाने निर्णय गर्यो! सो भैसी माथी चडेर आफ्नै कान थर्किने गरी ठुलो ठुलो स्वर निकाल्दै गीत गाउँन लागेछु !
चलेछ बतास सुस्तरी मनै सरर ....
भरोसा छैन जीबनको खेलाची नगर...!
जाँदा जाँदै कुलोको डिलमा भएको अम्बाको बोट अगाडी आईपुगेको ख्याल नै भएनछ! नुहेको हाँगोले जामा अड्काएर उधोमुन्टि पार्दा पो आमा भनेर चिच्याएँछु ! मेरो स्वर सुनेर दाजु, आमा र दिदी कुधेर आउँनु भएछ! अनि मलाई त्यो अंकुसे बाट भुइमा उतार्दा पो चाल पाएँ मेरो नयाँ जामा त दुइटा भएर मलाइ नांगै बनाएर मै माथी आँखा तर्दै गिज्याई रहेको रहेछ ! मामा घरका हजुर बुबाले एक मोहर दिंदा लगाएको टिका पुछेर रुने मान्छे म! नातिनीको आँशु पुछ्न एक रुपयाँको ढ्याक दिनै पर्ने हुन्थ्यो! त्यो जामा लगाएर मामा घरमा हजुरबाले दिने एक रुपियाको ढ्याक थाप्ने मेरो रहर अधुरो भयो ! त्यो जामा फाटेपछी को मेरो दशैं घर भित्रै सिमित भयो ! पुर्णिमाको भोलि पल्ट मात्र बाहिर निस्किएकी थिएँ ! मलाई अझै पनि त्यो फूल बुट्टे जामको खुब माया लाग्छ र त्यो जामा मेरो आँखाभरी आउछ ! त्यो दिन म यति धेरै रोएकी थिएँ कि त्यो क्षण सम्झिंदा म अझै रुन थाल्दछु !!
बडा दशैँ २०६९ को पावन अवसरमा देश विदेशमा रहनु हुने सम्पूर्ण आफन्तजन र मित्रहरुमा हार्दिक हार्दिकमंगलमय शुभकामना व्यक्त गर्दछु!!!
"कल्पना भावुक"
कथा ; समय
कथा ; समय
कालो बादलले आकाश डम्म ढाकिए पनि ठाउँ ठाउँबाट भने निलो गगन मजाले नियाल्न सकिन्छ ! पुर्णिमाको रात टहटह जूनको उज्यालोले धर्ति जगमगाइ रहेको छ ! लिनाको मन्द मुस्कानमा जिबनको सुख र सारा खुशी खोजिरहेको हुन्छ आशीर ! दायाँ बायाँ पनि युगल जोडीहरुको घुइचो लागेको छ! पार्क भरी यस्तै जोडीले ढाकेको महसुस गर्दा गर्दै उनको त्यो जुनेली रातमा लिनाको शिर आफ्नो काखमा राखेर चन्द्रमा र लिनाको मुहार लाई एकै साथ नियाली रहेको हुन्छ आशीर ! आशीर हेरन..! त्यो आकाश र चन्द्रमाको कति अटुट र अजम्बरी साइनो छ है ? के हामी पनि हाम्रो प्रेमलाई त्यस्तै अजम्बरी बनाउन सक्दैनौ ? जो हामी मरेर गएपनि हाम्रो प्रेम सदा अमर बनिरहोस् !
लिना, तिमी भन्छौ भने म तिम्रा हरेक चाहनाहरुलाई सफल बनाउने प्रण गर्छु ! तर मेरो एउटा कुरा तिमीले मान्नु पर्छ ! तिमीले तिम्रो देश बिर्सेर सदा मेरो आसपासमा मुस्कानी फूल बनेर फुलिरहनु पर्छ! लिना दोधारमा पर्छे ! उसलाई कता कता खल्लो महसुस हुन्छ! किन कि ऊ आफ्नो देश छाडेर कामको सिलसिलामा प्राबासी भूमिमा आई पुग्दा दैब संयोग एउटै प्रोजेक्टमा काम गर्ने आशीर संग प्रेममा बाधिन पुगेकी हुन्छे ! दिन बित्दै गयो उनीहरुको प्रेम पनि कलिलो मुना बाट फूल्दै फक्रंदै गयो ! उता भने लिना आमा बाबाकी एउटै मात्र सन्तान थिइ त्यो पनि टाढा प्रबासी भूमिमा..! एकातिर बृद्ध हुन लागेका बाबु आमाको माया अर्को तिर फक्रिन लागेको जवानी अनि प्रेम उसलाई निर्णय लिन निक्कै गाह्रो हुन्छ ! तै पनि ऊ आशीर लाई दुखि देख्न नसकेर ( कहिले काहीं आमा बाबालाई भेट्न जान पाउने सर्तमा ) उसकै अंगालोमा बेरिन पुग्छे !
समय चिप्लेको र उमेरले नेटो काटेको पत्तै हुँदो रहेनछ ! हेर्दा हेर्दै उनीहरुबाट एक सन्तानको जन्म भयो! दुवै जागिरे छन् ! बिहानको आठ नबज्दै बाहिरिएका बेल्लुकाको आठ बजे मात्र भेट हुन्छन उनीहरु ! छोरी हेर्ने शिसुस्याहार केन्द्र छदै छ! दुबैको कमाइ पनि राम्रो छ ! कुनै कुराको कमि छैन उनीहरुको परिवारमा ! दिनदिनै छोरी पनि ठुली हुदै गइरहेकी छ बोली रहुँ खेलाई रहुँ जस्ती...! जव जव छोरीको हाँसो लिनाको मनमुटु सम्म फैलिन्छ तव उस्ले पनि बाबा आमाको माया र ममता लाई झल्झली सम्झन थाल्छे ! लिना आफ्ना पति र छोरी बाट सन्तुस्ट र खुशी छे! तर पनि उसलाई केहि कुराको कमि महसुश भई रहेको छ! एउटी भएकी छोरी पनि दुरादेशमा! बृद्ध भएका बाबु आमाको दु;ख सुख बाँढ्ने र ममता पोख्ने ठाउँ पनि सपना झैँ भएको छ ! आमा, सधैं छोरीको सम्झनामा आँशु बगाईरहन्छिन्! बाबु आशाको त्यान्द्रो बटुल्दै बाटो हेरिरहन्छन ! यता लिना पनि जति जति छोरीलाई मायाले अंगाल्छे त्यति नै आमा बाबाको यादले छटपटिन थाल्छे र सम्झिन्छे उस्को बालापन! बिरामी परेको बेला उस्ले खाना नखाए सम्म उसकी आमा दिनभर भोकै हुन्थिन! बाबु अफिसबाट घर आउँदा रित्तो हात कहिल्यै फर्कंदैनथे! केहि न केहि लिएर नै आउँथे ! आज तिनै बृद्ध बाबा आमाको साहारा बन्न नसक्दा ऊ छोरीलाई अंगालो मार्दै आँशुका बलिन्द्र धारा बगाएर रुन थाल्छे ! जव घरमा आशीरको उपस्थिति संगै लिना माथी सयौं प्रश्न तेर्सिन्छन् ! तब लिना एका एक बर्बराउँदै आफ्नो मनमा गुम्सिएका बेदनाका पोका हरु खोल्न थाल्छे ! बाबा आमाको आफु बाहेक बुढेसकालको सहारा कोहि पनि नभएको बताउँछिन् लिना ! छोरीको बाटो हेर्दा हेर्दै पर्खाइमा ति बृद्ध नयनबाट बगेका आँशुले कुनै एउटा ताल बनि सक्यो होला ! उनीहरुको बुढेसकालको सहारा अनि आशा र भरोसाको पर्खाल म एउटै मात्र हुँ ! उनीहरुको मन मस्तिस्कमा कति पीडा र छटपटी बितिरहेको होला ! मलाई मेरा बाबा आमाको साथमा जानु छ! र म उनीहरुको बाकी जीबनमा दिप बनेर उज्यालो छर्नुछ आशीर ! लिनाको रुन्चे अनि भावुक बोलीले आशीरको मन चसक्क हुन्छ अनि आफ्नो पुरुषार्थ जमाउँने रवाफ देखाउँन् थाल्छ! तिमी त पराई धन हौ, उमेर नपुगुन्जेल मात्रै बाबा आमाको ममता भित्र त्यस पछी त पति को घर नै सबै थोक हुन्छ ! छोरी भएर जन्मे पछी इ सम्पूर्ण कुरा हरुलाई बुझ्न पनि सक्नु पर्छ लिना! सधै माइती घरमै बस्ने भए किन बिहे गरेर आउनु, कुमारी नै बसेर बाबा आमाको सेवा गरेर बसे भैगो नि ! यस्तै यस्तै थोरै रुख्खो पन मिसिएको उपदेश सुरु हुन्छ आशीर बाट!
समय बदलिने हैन बदलिन्छ त मानिसको सोच बिचार र हेर्ने दृष्टिकोण ! त्यो सानो र शुखी परिवारमा पनि आज अभाब फैलिएको छ ! लिना बाबा आमालाई सम्झेर पागल भएकी छ! आशीर आफु पुरुष हुनुको घमण्ड डेग सर्न दिदैन ! बिचरी त्यो नाबालक छोरी, बाबु आमाले मुखा मुख गरेको देखेर ट्वाल्ल परेर हेरिरहन्छे ! डाँडा माथिको घाम ुडुबे पछी यो धर्ति मा उज्यालो देख्न एक युगको पर्खाइमा बस्नु पर्छ ! ति बृद्ध भएका बाबु आमा एक पटक अस्ताएपछी जीबन भरको पर्खाइ पनि असफल हुन्छ! यो नितिको नियम कसैले पनि बदल्न सक्दैन! एकदिन लिना उही सम्झनामा टोलाउँदै सुक्सुराउँदै बिगतका रमाइला क्षणहरुलाई मनमनै सुम्सुम्याउन थाल्छे! उस्को हात छोरीको शिरमाथि मन संगै दौडी रहेको हुन्छ! छोरीले जे जति बुझेकी छ आमालाई सम्झाउने र रुन सघाउने बातावरण बाट भने टाढिएकी छैन ! उता छोरी धेरै बर्ष सम्म नआए पछी टेली फोन सम्पर्क टाढिदै जाँदा एक दिन छोरी संग सम्पर्क बिहिन नै हुन पुग्छन बाबु आमा ! समयको दौरान संगै दुखित मन पनि दौडिरहेको बेलामा एक दिन हुलाकीले लिनाको हातमा एउटा चिट्ठी थमाएर जान्छन ! हतार हतार खोलेर हेर्छे! चिठ्ठी भित्रको खबरले ऊ बिह्रल बन्छे र आशीरको अनुस्पस्थितिमै छोरी च्यापेर घरबाट बाहिरिन्छे लिना ! टिकेट को चाँजोपाँजो मिलेपछी जन्म घर तिरको उडान सुरु हुन्छ र ऊ जन्मथलोमा पाइला टेक्न पुग्छे छोरी लिनाको साथमा ! छोरीको आगमनमा आमाले तप्लक्क मोतीदाना खसाल्दै भुइँतिर हेर्छिन ! बाबा नदेखे पछी ऊ सबै कोठा चाहार्छे र आमालाई अंगालो मारेर रुन थाल्छे ! अब उसले बाबालाई मात्रै भित्ताको तस्बिरमा देख्न पाउने छ! जून बाबाले अन्तिम क्षण लिना लिना भन्दै देह बिसाएका थिए! उस्ले अब एउटा संकल्प नै गर्छे र भन्छे ! आमा! मैले मेरो प्राण भन्दा प्यारो बाबाको बोली सुन्न अब अर्को जुनीमा उहाकै छोरी भएर जन्मिनु पर्छ! म तपाईलाई छाडेर कहिँ जान्न यहिँ छोरीका साथमा तपाई संग सदाको लागि बस्न आएकी छु ! छोरीका कुरा सुनेर आमाले पनि हर्ष र बिस्मात दुवै मिसाएर आँशु झार्छिन ! दिन बित्दै जान्छ हजुरआमा र नातिनी रमाई रमाई खेलेको देखेर मख्ख परेर हेरिरहन्छिन लिना!
जवानी रहुन्जेल पराइको साथ र माया प्यारो भए पनि जब एउटी नारी आमा बन्छे तब सन्तानको ममता र दाइत्व आँखा अगाडी बिम्ब बनेर बसिदिन्छ ! आफुले आफ्नो सन्तान लाई जन्म दिंदा जति खुशी थिइन उनि! उसै गरी आफुलाई जन्माउदा आफु जस्तै खुशी भएका बाबा आमाको कल्पना गर्छे! सबै कुराले सन्तुस्ट भए पनि आज फेरी कहीं कतै केहि अभावको महसुश हुँदै छ लिना लाई ! हुन त उता आशीर लाई पनि श्रीमती र छोरीको बियोगले पागल नबनाएको भने होइन ! नत उस्ले लिना लाई भेट्ने आँट गर्छ नत एक्लै जीबन बिताउने नै! आफ्नै स्वार्थीपनले गर्दा आज ऊ सबै बाट टाढा भएको छ एक्लो भएको छ .....!!!
"यसै लाई जीवनको एउटा रित सम्झेर आज लिना आफ्नी आमा र आफ्नो प्रेमको निशानी स्वरूप प्यारी छोरीको साथमा आनन्दले जीवन बिताई रहेकी छिन् "
कल्पना भावुक
काठमाडौँ
हाल ,इजराएल
कविता ; मेरो कविता मेरो देशको खातिर!
कविता ; मेरो कविता मेरो देशको खातिर!
आमा
सुनन..
त्यो कपुत छोराको खोजीमा किन अपाहिज बन्छौ ?
तिम्रो ममता बाट बुर्लुक्क माथी उफ्रिएर
निसास्सिने गरी
तिम्रै छातीमा
ड्याम्म बुट जुत्ता बजारेको बिर्सियौ
आमा...!
तिम्रो सग्लो अनि सुन्दर स्वरुप माथि
निर्माणका निर्धारित धर्साहरु कोर्दै
प्रयोगसालामा राखिएको रवरको टुक्रा सम्झेर
मनोमानित आकार दिने बहानामा
तिम्रो प्राकृतिक सुन्दरतालाई
बकुल्लाको घाटी बनाएका बिर्सियौ ?
जहाँ
आँखा चिम्लिएर निशाना लगाउने होडबाजीमा
ऊ प्रथम बनोस!
आमा...!
तिमीले संसार हेर्ने आँखा पनि गुमाएकी छौ
तिनै कपुत हरुका खातिर
तिनकै भुडीका खातिर
प्रत्येक गाँसमा सन्तानको नाम लेखेर राख्यौ
परेलीको डिलमा टिलपिल भएको आँशु
परेलिमै सुकाई छोराको पर्खाइमा
मुसुक्क हाँसेर
घुटुक्क थुक निल्दै किलकिले भिजायौ
तर
स्वअस्तित्व बचाउँनको खातिर
तिम्रै सन्तानले
तिम्रै सन्तानलाई मुला बनाएर
घिरौला बनाएर
छाप्काऊँदै रक्तकुन्डको होलीमा
नृत्य गरेको बिर्सियौ आमा ?
आमा...!
ति सन्तानको पर्खाइमा
त्यो चिरा चिरा परेको छाति
अझै आशाको झिल्को बोकेर
खुइया गर्दै
रंग बिनाका
नुनिला आँशुको बाढी नबगाउ आमा !
अब त तिमीले
यस्तो सन्तानको आशा गर्नु पर्छ
जो जन्मदै शान्तिको माला
घाटीमा पहिरिएर आवस
स्वाभिमानी बर्कोले जिउ ढाकेर आवस
असल कर्मका खातिर
जननी जन्म भूमिका खातिर
सुदूर क्षितिज नियाल्न शान्तिको प्रतिक
अनि
प्रेमको प्रतिक बनेर आवस
तिमी भन्दा शक्तिसाली अरु कोहि छैन आमा!
त्यसैले.... त्यसैले
एउटा अशल सन्तानको खोजि गर
आमा..!
जो तिम्रो खातिर
एक मुठी पानीले सम्पूर्ण भोक मेट्न सकोस
एक त्यान्द्रो कपडाले सम्पूर्ण लाज ढाक्न सकोस
तिम्रो एक उपदेशले ब्रम्हाण्ड हाँक्न सकोस्
हर्षका साथ तिम्रो नाम
खुला छातीमा स्वाभिमानले लेख्न सकोस
आमा..!
ममताको पर्खालले दुस्मनको गोली छेक्न सकोस !
कल्पना गिरी "भावुक"
गीत ~17 डाली बाट पात खस्दा आफै खसे जस्तो लाग्यो
गीत
डाली बाट पात खस्दा आफै खसे जस्तो लाग्यो
माया बस्ने मुटु भित्र ढुंगा पसे जस्तो लाग्यो
,
तलाउ झैँ नयन् हुँदा संसार डुब्या देख्न थालें
मुटु हलचल हुन्थ्यो जब बाहिर आँधी छेक्न थालेँ
घाम लुक्दा बादल भित्र सासै रुके जस्तो लाग्यो
भासिदैथे मेरा पाइला मुटु दुखे जस्तो लाग्यो
,
डाली बाट पात खस्दा आफै खसे जस्तो लाग्यो
माया बस्ने मुटु भित्र ढुंगा पसे जस्तो लाग्यो
,
नत रुके मेरा पाइला नत झुके नजर तिम्रा
मेरो कमि किन हुन्थ्यो म जस्ता त हजार तिम्रा
झरनाको साथ पनि मन सधै प्यासी लाग्यो
मन्दिरको प्रसाद थिएँ तिम्रा लागि बासि लाग्यो !
गजल~कस्तो गजल लेखौं प्रिय? १०६
गजल~कस्तो गजल लेखौं प्रिय?
याद आउँने न'आउँने, कस्तो गजल लेखौं प्रिय?
आँखामा या मन भित्र, कुन संसारमा देखौं प्रिय ?
.
फूल टेके पाप लाग्ला, काँडा टेके बिजाउला
दुवै मेरो बाटो छेक्छन, कहानेर टेकौं प्रिय ?
.
हरेक साँझ गोधुलीमा, तिमी तिरै उड्छ मन
मन उडाउने हुरी बतास, कुन पर्दाले छेकौं प्रिय ?
.
बिर्से एक्लै हुँने डर, सम्झे संधै दुख्छ मुटु
रातदिनै दुख्ने मुटु, कुन मलहमले सेकौं प्रिय ?
.
त छाड म छाड गरिगरी भावनाको ओहिरो लाग्छ
दुवैको दिल शितल हुने, कस्तो शब्द फेकौं प्रिय?
कल्पना भावुक
काठमाडौँ
गजल ~ चोटका कुरा ! १०५
गजल ~ चोटका कुरा !
म जिउँदो लास हुँदा, तिमी चोटका कुरा गर्छौ !
म लाजको दास हुँदा , तिमी कोटाका कुरा गर्छौ !
मुटु र रगत बीच टुट्न हुन्न नाता भन्छु
सम्बन्ध बिगार्दिने , तिमी होडका कुरा गर्छौ !
रित्तो छ संधै गोजी , बल्दैन यो चिसो चुलो
खै किन बुझ्दैनौ र? , तिमी नोटका कुरा गर्छौ !
चुलिँदै भावना इ , सगरमाथा उभिदैछन
मरीच झैं नबढ्ने , तिमी बोटका कुरा गर्छौ !
चन्द्रमा छुन उड्छु , कल्पनाको संसारमा
हँसिया थमाउँदै , तिमी गोठका कुरा गर्छौ
कल्पना भावुक
काठमाडौँ
गजल ~ किनारको साथ पाउँ १०४
गजल ~जंघारमा मन डुब्दा , किनारको साथ पाउँ
जंघारमा मन डुब्दा , किनारको साथ पाउँ
नदि सुके प्यास मेट्ने , इनारको साथ पाउँ !
.
दायाँ बायाँ संधै रित्तो , उनकै यादमा सुस्ताउँछु
आँशु सबै चुमी दिने सिरानको साथ पाउँ
आँखा खोले चिम्ले पनि, तिम्रै तस्विर डुल्छ संधै
घामबनी झुल्किदिदा , बिहानको साथ पाउँ
घर छाडी प्रबासमा , खुशी खोज्न डटिरैछु
यस्तो लाग्छ भाग्यमानी, निधारको साथ पाउँ
कल्पना भावुक
काठमाडौँ
काठमाडौँ
गजल ; बेकार भो जिन्दगी १०३
गजल ; बेकार भो जिन्दगी
,
रहरमा लगाम लगाएपछी बेकार भो जिन्दगी
आस्थाको दिप निभाएपछी बेकार भो जिन्दगी !
,
कसैको यादमा झरेको आँशु जमेर ताल भयो
आँशु कै तालमा हराएपछी बेकार भो जिन्दगी !
,
साहारा छैन अगाडि बढ्ने सुन्य भो संसार
आँखाको ज्योति गुमाएपछी बेकार भो जिन्दगी !
,
बिरही मनमा अधेरी छायो झुल्केन घाम पनि
रहरको किरण अस्ताएपछी बेकार भो जिन्दगी !
,
पारिजात छैन चमेली छैन सुवास के खोज्नु
शंकाले बाग सल्काएपछी बेकार भो जिन्दगी !
,
कल्पना भावुक
काठमाडौँ
गजल ~ यस्तै भए १०२
गजल ~ यस्तै भए
पिउँदिन भन्थेँ आज पिलाउने साथी भए!
यस्तै रैछ रित यहाँ पिएँ अनि जाती भए!
,
महलको सान थियो घमण्डले शिखर छुन्थ्यो
मुरी फुर्ती गर्थे हिजो आज सबै पाथी भए!
,
आफ्ना अनि आफन्तकै माया भित्र बाच्न चाहें
पिठ्यु पछि छुरा हान्ने आफ्नै बिस्वास''घाती भए!
,
सन्दुकको साँचो भिरी घांटी गह्रौ भयो मेरो
सम्पतिमा रयाल काड्ने सबै मेरा माथि भए!
,
कल्पना भावुक
इजरायल
गजल ~बिरहमा बाँच्न गाह्रो प्रेम बाटै टुट्न सकुं १०१
गजल ~बिरहमा बाँच्न गाह्रो प्रेम बाटै टुट्न सकुं
बिरहमा बाँच्न गाह्रो प्रेम बाटै टुट्न सकुं
गाडे लास कुहिने छ जलाई दिनु उड्न सकुं!
,
स्वाभिमानी कहलाउँ सुँघ्न पाउँ देशको माटो
गीता बेद पुराण झैँ संस्कारी भै उठ्न सकुं !
,
सगरमाथा शिर भए मेरा पाउ मेची काली
बुद्ध मार्ग पहिल्याइ शान्ति बिगुल फुक्न सकुं !
,
जन्म दियौ कर्म दियौ दियौ असल संस्कार पनि
सार्थक मान्दै यो जिन्दगी जननीलाई पुज्न सकुं !
,
जोगाउनुछ आफ्नो ठानी राष्ट्र अनि राष्ट्रियता
प्रबाश बाटै भए पनि नेपाली पन बुझ्न सकुं !
,
हार जितको लडाइँमा सकारात्मक सोच बनोस
देशको झन्डा समाएर शिखरमा पुग्न सकुं!
,
कल्पना भावुक
काठमाडौँ
गीत ~16 लुक्दछ यो हाँसो ~
गीत~प्रबासमा छाती चिरिंदा प्रिय लुक्दछ यो हाँसो
~
प्रबासमा छाती चिरिंदा प्रिय लुक्दछ यो हाँसो
तस्बिर हेरी मन बुझाउँ भन्दा बर्सिन्छन् यि आँशु !
~
गोधुली साँझमा चरीको चिर्बिर बाँसुरी बजाउँकी
झरेका आँशु चिठ्ठीमा हाली कोशेली पठाउँकी
के गर्दै हौली साँझ र बिहान बढ्दैछ झन चासो
तस्बिर हेरी मन बुझाउँ भन्दा बर्सिन्छन् यि आँशु
~
रातको निन्द्रा दिनको भोक कसैको पेवा भो
प्रबासी हुँदा यो मेरो जिबन अर्कैलाई सेवा भो
जिउँदै छु लाग्छ चिमोट्दा पनि दुख्दैन यो मासु
तस्बिर हेरी मन बुझाउँ भन्दा बर्सिन्छन् यि आँशु
~
प्रबाशमा छाती चिरिंदा प्रिय लुक्दछ यो हाँसो
तस्बिर हेरी मन बुझाउँ भन्दा बर्सिन्छन यि आँशु !
~
कल्पना भावुक
काठमाडौँ
Subscribe to:
Posts (Atom)