कविता ; मेरो कविता मेरो देशको खातिर!
कविता ; मेरो कविता मेरो देशको खातिर!
आमा
सुनन..
त्यो कपुत छोराको खोजीमा किन अपाहिज बन्छौ ?
तिम्रो ममता बाट बुर्लुक्क माथी उफ्रिएर
निसास्सिने गरी
तिम्रै छातीमा
ड्याम्म बुट जुत्ता बजारेको बिर्सियौ
आमा...!
तिम्रो सग्लो अनि सुन्दर स्वरुप माथि
निर्माणका निर्धारित धर्साहरु कोर्दै
प्रयोगसालामा राखिएको रवरको टुक्रा सम्झेर
मनोमानित आकार दिने बहानामा
तिम्रो प्राकृतिक सुन्दरतालाई
बकुल्लाको घाटी बनाएका बिर्सियौ ?
जहाँ
आँखा चिम्लिएर निशाना लगाउने होडबाजीमा
ऊ प्रथम बनोस!
आमा...!
तिमीले संसार हेर्ने आँखा पनि गुमाएकी छौ
तिनै कपुत हरुका खातिर
तिनकै भुडीका खातिर
प्रत्येक गाँसमा सन्तानको नाम लेखेर राख्यौ
परेलीको डिलमा टिलपिल भएको आँशु
परेलिमै सुकाई छोराको पर्खाइमा
मुसुक्क हाँसेर
घुटुक्क थुक निल्दै किलकिले भिजायौ
तर
स्वअस्तित्व बचाउँनको खातिर
तिम्रै सन्तानले
तिम्रै सन्तानलाई मुला बनाएर
घिरौला बनाएर
छाप्काऊँदै रक्तकुन्डको होलीमा
नृत्य गरेको बिर्सियौ आमा ?
आमा...!
ति सन्तानको पर्खाइमा
त्यो चिरा चिरा परेको छाति
अझै आशाको झिल्को बोकेर
खुइया गर्दै
रंग बिनाका
नुनिला आँशुको बाढी नबगाउ आमा !
अब त तिमीले
यस्तो सन्तानको आशा गर्नु पर्छ
जो जन्मदै शान्तिको माला
घाटीमा पहिरिएर आवस
स्वाभिमानी बर्कोले जिउ ढाकेर आवस
असल कर्मका खातिर
जननी जन्म भूमिका खातिर
सुदूर क्षितिज नियाल्न शान्तिको प्रतिक
अनि
प्रेमको प्रतिक बनेर आवस
तिमी भन्दा शक्तिसाली अरु कोहि छैन आमा!
त्यसैले.... त्यसैले
एउटा अशल सन्तानको खोजि गर
आमा..!
जो तिम्रो खातिर
एक मुठी पानीले सम्पूर्ण भोक मेट्न सकोस
एक त्यान्द्रो कपडाले सम्पूर्ण लाज ढाक्न सकोस
तिम्रो एक उपदेशले ब्रम्हाण्ड हाँक्न सकोस्
हर्षका साथ तिम्रो नाम
खुला छातीमा स्वाभिमानले लेख्न सकोस
आमा..!
ममताको पर्खालले दुस्मनको गोली छेक्न सकोस !
कल्पना गिरी "भावुक"
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment