गीत 14 छाडि नजानु है !
गीत ~~~ छाडि नजानु है !
सम्झनामा खुशी दिन्छु पीडा नलानु है
साथै मर्न राजि हुँन्छु छाडि नजानु है
,
रगत बग्ने मुटु भित्र माया कता खोजौं
तिमी सँगै मन मिल्यो अरु कसलाई रोजौं
निस्ठुरी भई यात्रा मोड्ने कसम नखानु है
नियतिको चाल उस्तो दोषी नठान्नु है
,
सम्झनामा खुशी दिन्छु पीडा नलानु है
साथै मर्न राजि हुँन्छु छाडि नजानु है
,
जून जस्तै शितलु म हुन नसकेनी
दुखेको त्यो अतितलाई धुन नसकेनी
खोली दिनु मन तिम्रो भित्र नबान्नु है
कोसिस गर्छु आँशु पुछ्ने दुख नमान्नु है
,
सम्झनामा खुशी दिन्छु पीडा नलानु है
साथै मर्न राजि हुँन्छु छाडि नजानु है
कल्पना भावुक
काठमाडौँ
गजल ~दुखेर देश रोयो ! ८५
गजल ~दुखेर देश रोयो |
जब तिम्रो सालिक ढल्यो दुखेर देश रोयो
आगो माथि सालिक बल्यो दुखेर देश रोयो |
,
उता भाषण चर्को थियो जनता अलमलिने
गाउँ बस्ति सहर हल्लियो दुखेर देश रोयो|
,
संबिधानको कुरा भन्नू रंगमंच खेल जस्तै
ढाट्ने काम धेरै चल्यो दुखेर देश रोयो |
'
सत्कर्मको बाटो बिर्सी आमाको मान लुट्यौ
शान्ति छैन क्रान्ति फल्यो दुखेर देश रोयो |
,
हात्ती आयो हात्ती आयो भएरै छाड्यो फुस्स
जनताको आशा गल्यो दुखेर देश रोयो |
,
कल्पना भावुक
हाल,इजराएल
काठमाडौँ
गजल सृस्टिको नियम हो ८४
सृस्टिको नियम हो हारेर जानै पर्छ!
जिउँने रहरलाई मारेर जानै पर्छ !
आत्मा नै अमर हुन्छ सरीर त खरानी हो
कालसँगै पाईलाहरु सारेर जानै पर्छ !
,
लालचको भाँडो हाम्रो भरिन्न कैले पनि
अधुराछन् ईक्षाहरु बारेर जानै पर्छ !
,
घमण्डलाई छाडि अब गुनिलो बन्न सिकौ
उमेरका सबै रंग छाडेर जानै पर्छ !
,
कल्पना भावुक
काठमाडौँ
गजल दुख्छ जिन्दगानी! ८३
जिन्दागानी
,
चन्द्र छुने लक्ष्य बोक्छु रुक्छ जिन्दगानी!
सपना झैँ खाडलमा पुग्छ जिन्दगानी!
,
सम्झनाले भिजाउँछ आँशु पिलाउँछ
खहरेको भेल जस्तै सुक्छ जिन्दगानी!
,
खुशी भित्रै हाँस्छु कैले रुन्छु खुशी भित्रै
हाँसो खुशी दुवै भित्र दुख्छ जिन्दगानी!
,
नयाँ यूग नयाँ विचार पोख्न सक्नु पर्छ
समयको साथ छोडे चुक्छ जिन्दगानी!
कल्पना भावुक
काठमाडौँ
मुक्तक
मुक्तकथुँगाहरु ~~~~~
1
तारे भीरका गीतहरु गाऊ परदेशी
देशलाई माया गर्न आऊ परदेशी
हुस्की ब्रान्डी डिस्को अब सबै भुलेर
बनपाखा पधेरिमा छाऊ परदेशी!!
2
सायद मायाले भनेको पनि यहि होला
माया सँग जोडिएको अरु पनि केहि होला
महसुस मै रम्नु पर्ने हुनु पर्ने खुशी पनि
कहिले काहिँ आँशु बग्ने माया त्यहि होला!!
3
निभ्न लाग्या दिप माथि तेल कति थपौ
छोडी जाने निस्ठुरिको नाम कति जपौ
यादहरु बल्झाएर जिउँदो लास हुनु भन्दा
त्यागी दिन्छु देह अब चोट कति खपौ
4
हिमाल पारि गाउँ भन्छौ बादुलुकै घर होला
तिमीलाई मेरो भन्दा जुन ताराकै भर होला
धरती र आकासको मिलन सम्भब हुदै हुन्न
भेट नभै जिन्दगीमा मर्छु भन्ने डर होला !!
5
आँशु झार्दा दुख जाने भ्रममा नपर
बेलुकी हात सुन्य लाग्ने श्रममा नपर
अनुभब हो जीबन र त जीबन बनेकोछ
थोरै बल्झियोस जिन्दगी चरममा नपर !!
6
अनुहार त मैले चिनेकै हो जस्तै लाग्छ
मेरो आफन्त भित्रकै हो जस्तै लाग्छ
आफ्नो आफ्नो बिच जब दुरी बढ्छ नि
अनि तस्बिर मित्रकै हो जस्तो लाग्छ!!
7
जहाँ हुन्छ सुद्द मन देवताको बास हुन्छ
नमरुन्जेल मानिसलाई राम्रै हुने आश हुन्छ
घमण्ड हो त्यो जो गन्दैन अरुको बिचारलाई
सुनै खावस सुनै लावस मरेपछी लास हुन्छ!!
कल्पना भावुक
काठमाडौँ
कथा ५
अन्तिम चिठ्ठी~~~~~~
डुब्न लागेको घामको पहेंला किरणहरु डाँडा माथि बिश्राम गर्दाको द्रिस्य देख्ना साथै मलाई मेरो घाँटी थिचिएर स्वास रोकिए जस्तै हुँन थाल्छ ! गोधुली साँझमा उनकोबाटो हेर्दै मनभरी कुराहरु खेल्न थाल्छन् अनि सम्झन थाल्छु बितेका मायालु पलहरुलाई|कति अनौठो छ सृस्टिको लिला ,ठाउँ अनुशारको प्रकृति र प्रकृति अनुशारको ठाउँको भेसभुषाले मानिसको स्वभाब र बिबेकलाई पनि फरक पार्दो रहेछ | जहाँ जस्तो परिवेसमा हुर्कियो जस्तो शिक्षा पायो सोहि अनुशार व्यवहार पनि फरक हुने रहेछ! यती मात्र कहाँ हो र जस्तो ठाउँमा र जुन संसारमा मानिस पुग्दछ त्यही संसारको त्यहि समाजको सिको टिप्दै परिवर्तन पनि हुदों रहेछ या हुँन बाध्य हुँदो रहेछ |
साँझको छ बजेको थियो ! म भान्सामा ब्यस्त थिएँ ससाना नानिहरुलाई खानपिनको तयारी गर्दै थिएँ | भान्साको एक कुनामा बजिरहेको आफ्नै लोकभाकाको गीत सँग मन उडाउँदै .....
यसै मेरो सर्मै रानी जलेको मन छ ,
अझै रुखो सर्मै रानी नबोल चर्कन्छ.....
रेडीयो सँगै गुन्गुनाउँदै उडेको मनलाई अझ उड्न दिइरहेकी थिएँ | सात बर्षकी ठुली छोरी स्कुलको गृहकार्यमा ब्यस्त थिइन र चार बर्षकी सानी छोरी भने म संगसंगै अघि र पछी गर्दै खेल्दै थिइन| मेरो मोबाइलको घन्टी बजेको सुनेर मामु हजुरको फोन आयो भन्दै ठुली छोरीले मलाई बोलाइन | म पनि सबै काम छाडेर हतारिदै फोन टिप्न दौडिएँ | मोबाइलमा एसो के नजर लगाएकी थिएँ मेरो प्राण प्यारो,मेरो मुटुको टुक्रा ,मेरो जिबनको आधा हिस्सा रबीनले पो कल गरेका रहेछन | हतार हतार उठाएर हेल्लो राजा भनेको मात्र के थिएँ मेरी रानी सन्चै छौ भनेर उनको कोकिल कण्ठबाट मायालु आवाज सुन्न पाउने बित्तिकै हतार हतार भने म सन्चै छु तिमीलाई कस्तो छ राजा? यती भन्न साथ उनले, मैले तिमीलाई एउटा चिठ्ठी लेखेर राजुको हातमा पठाएको छु ऊ भोलि बिहान घरमै आएर दिन्छ प्यारी मेरो खबर सबै त्यसैमा छ| मोबाइलको पैसा सकियो राख भन्दै उनले फोन काटे |
त्यस चिठ्ठी भित्र के लेखेको होला, कस्तो खबर होला भन्दै कौतुहलताले मलाइ कोट्याई रहेको छ | कैले हात पर्ला र पढौला भन्दै म प्रतिक्षामा बसकी छु | बेडमा पल्टिएकी छु अनगीन्ति सोचाइमा डुब्न थालेकी छु रात झनै लामो हुँदै गएको जस्तो लाग्दैछ |आँखाभरी उहाको चार बर्ष अघिको अनुहार सम्झिन्छु काँन भरी मायालु आवाज गुन्जिन्छ म तेसै चंचल हुन्छु कता कता इ हातहरु सल्बलाउछ्न् अधर मुस्कुराउछ एक्लै बर्बराउन थाल्छु |
तिमी फर्केर आएपछी म जान दिन्न, जस्तो हुन्छ त्यस्तैमा चित्त बुझाएर बस्ने ल ? म तिमीलाई कुनै गुनासो गर्ने ठाउ दिन्न राजा! तिम्रो यादमा तड्पिएर एक्लै दिन रात बिताउनु भन्दा त बरु जे जस्तो छ म तेसैमा खुशी हुँन्छु| हुनेलाई हैन नहुनेलाई हेरेर चित्त बुझाएर बसौं है भन्दै......... म भुसुक्कै निदाएछु |
समय एकै ठाउँमा कहाँ बस्थ्यो र एक दुई गर्दै घडीले बिहानको सात बजाई सकेको रहेछ | बेलुकी ढिला सुतेर होला सात बजे सम्म सुतेछु | छोरीहरु स्कुल जाने हुँदा दिनभरिको खाली समयलाई सदुपयोग गर्न तरकारी लगाउने गरेकी छु | राम्रो मल् जल गरेकीले बारी थोरै भएपनि घरमा खाएर पनि दुइटी छोरीको स्कुलको फिस र टिफिन खर्च मैले तरकारी बेचेरै पुर्याउने गरेकी छु |
पुष महिनाको सनिबारको दिन बारीमा घाम ताप्दै नानीहरु सँग बसेर साग केलाउँदै .. तिम्रो बाबाको चिठ्ठी आउछ राजु अंकलले लिएर आउनु हुन्छ तिमीहरुलाई धेरै माया र सम्झना पठाउनु भएको छ रे बाबाले भन्दै छोरीहरु सँग चिठ्ठीको प्रतिक्षामा बसेकी छु नभन्दै राजु भाइको आगमन हुन्छ .. |
भाउजु नमस्कार! नमस्कार बाबु! कैले आउनु भयो के छ त उनको खबर? सन्च बिसन्च भन्नुस न बाबु? म हतार हतार सोध्न थाल्छु |राजु बाबुले कता कता अन्कन गर्दै भाउजु ठिकै छ | दाइले सबै चिठ्ठीमा लेख्नु भएको छ नि हेर्नुस न है भन्दै टार्नुभयो | मैले चिया बनाउछु भन्दा पनि म अहिले हतारमा छु भनेर हिंडी हल्ल्नु भयो| घर गृहस्ती राम्रै सँग चलेको भएता पनि सुन्दर भविष्यको खोजीमा वाहा चार वर्ष देखि विदेश जानु भएको थियो| मैले बारम्बार छुट्टी आउनुसन भन्दा पनि अनेक समस्या देखाएर आइडी नबनाई आउँन पाइन भन्दै अलमल्याई रहने मेरो रबीनको चिठ्ठी यस प्रकारको छ |
मेरी हृदयकी रानी प्यारी रुपा सन्चै छौ होलानी हैन ? अनि नानीहरुलाई कस्तो छ? ती कलिला कोपिलाहरुको ख्याल गर है |रुपा तिमी त मेरो सुख दु;ख बाड्ने जीबन संगिनी हौ मेरो मुटु हौ हामी र हाम्रो सरिर अलग भए पनि हाम्रो मन मुटु आत्मा एकै छ रुपा | म कसरी बिर्सन सक्छु ती दुखका दिनहरुमा तिमीले हातमा हात राखेर मलाई दिएको साहस् र हिम्मत लाई | तिमीमा त्यो साहस र आट छ जसले गर्दा म यहाँ सम्म आइपुगेको छु| तिमी त्यो साहसी नारी हौ जो समाजका औलामा बिरलै भेटिन्छन | आज म तिमीलाई एउटा तितो सत्य भन्दै छु है तिम्रो आटिलो मन र मुटुलाई अझै दह्रो बनाऊ है रुपा |
तिमीलाई थाहै छ रुपा म यहाँ आए पछी छ महिना जती काम नगरी बसेँ | राजु भाई सरु बैनी र शीलु हामी चारै जनाको एउटै आपडमेन्ट छ राजु अबिबाहित केटो उस्ले त सरु सँग यहिँ बिवाह गरेर बस्यो शीलु पनि उनकै दाजु भाउजुसंग यहाँ आएकी अबिवाहित केटि जो अहिले म सँग छिन| यती पढ्दा नपढ़दै मेरो मनमा ढ्यांग्रो बज्न थाल्यो हातखुट्टा लल्याक लुलुक भएर गले र पनि हिम्मतका साथमा चिठ्ठी लाई अगाडी बढाएँ| शिलु र म काम गर्ने एउटै अफिस हो उनको र मेरो भेट पनि त्यहि बाट सुरु भयो संधै भेट हुने र ठट्टा गर्ने बानिले गर्दा हामी एकार्कामा नजिक हुँन पुगेउँ | मन नै त हो हास्दै बोल्दै जाँदा माया पनि बढ्दै जाँदो रहेछ | म एक्लो पुरूस अनि उनि एक्ली मस्त जवानकी तरुनी केटि| मैले शीलुलाई पनि अबिबाहित हुँ भनेर ढाँटेको थिएँ | हामीले एकार्कालाई चाहन थाल्यौ मेरो र उनको हरेक कुराहरु चाहानाहरु मिल्न थाल्यो र हाम्रो एक अर्का प्रतिको चाहना जीबनभरि नछुटिने बाचाका साथमा जीबन साथी बनेर बिताउने निर्णय गरिउँ | एसै क्रममा एक दिन शिलुले दाजु भाउजुलाई बोलाएर हाम्रो प्रेमको बारेमा भनिन | वहाहरुले पनि स्वीकृति दिएपछि शिलु र म सँगै बस्न थालिउँ म उनि सँगै रमाउँन थालें भने उनि म सँग | उनि यहाकै नागरिक भएकी छिन यसो हुँदा म आफुलाइ सुरक्षित भएको महसुस गर्छु| उनि आधुनिक जमानाकी शिक्षित केटि तिमी र उनीमा धेरै अन्तर पाएँ मैले | यहाको सुख सुभिधा यहाको कल्चर म भुल्न पनि सक्दिन| मलाई त्यहाको त्यो अत्यासलाग्दो जिन्दगी जिउन अब मन छैन अब हामी यतै बस्छौ रुपा दुख नमान है? आज दुई बर्सको छोराकी आमा भएर मेरो साथमा तिम्रो सम्पूर्ण हकअधिकार लिएर बसेकी छिन| तिमी यो तितो सत्य लाई स्विकार है रुपा तिमी त साहासी नारि मन नदुखाउ है उही तिम्रो निस्ठुरी पति रबीन....|
चिठ्ठी पढिसकेपछी म माथि पर्न आएको घातले म मुर्छा परेर भुइमा लडेछु | मेरी ठुली छोरीले मामु मामु भन्दै मलाई बोलाउँदा मलाई सपना झैँ भएको थियो| बिस्तारै म उठेर र तिनै मेरा दुई छोरीलाई अंगालो मार्दै धेरै बेर सम्म रोइरहें| रबिन तिमीले त मलाई धोका दियौ मलाई बिर्सिएर डलर सँगै नाता गस्यौ र बिदेशी भूमिमै शिलुको जवानी सँगै रमाउँन सफल भयौ | गरिब देशको राजा हुनु भन्दा धनि देशको कुकुर हुँन मन्जुर भयौ तिमी| कुनै दिन आफु जन्मिएर हुर्किएको माटोको माया लाग्ला ,मातृभूमीको यादले सताउला,आफ्ना र आफन्तको सम्झनाले बोलाउला तेती बेला तिमीलाई पश्चाताप हुनेछ ,धिक्कार्नेछ तिम्रो मातृभूमीले | तिमी जस्ता डलरमा लोभिएर जन्म भुमि नै त्याग्न सक्ने नागरिक माथि | म त ई दुई छोरीलाई लिएर हासी खुशी मेरो माटो सँग रमाउनेछु येही माटोको टिका लागाएर खुशी साथ नेपाल आमाको काखमा निर्धक्क शिर ठाडो गरेर हिड्ने छु |स्वाभिमानी भएर जिउनेछु तिमी जस्तो स्वाभिमान बेचेर हैन रबिन .....मलाई लाचार र कम्जोर नारी नसम्झ तिमी अब | म तिम्रो निम्ती पत्थर बनेर आफ्नै स्वाभिमानमा म र मेरा छोरीलाई हुर्काउने छु स्वाभिमानी भएर बाच्न सिकाउने छु | तिमी तिम्रो स्वाभिमानलाई बेचेर बस तिमी आफ्नो कर्तब्य र दाइत्व बाट हटेर बस तिमीलाई सधैको लागी बिदा भन्न चाहन्छु रबिन ..............
अब त रबिन मेरो सपनाको साथमा पनि छैन बिपनाको त कुरै नगरौ |समयले चाहे खुशी लिएर आओस चाहे दु;ख बितेर जानेनै रहेछ अब रबिन न फर्केर मेरो अंगालोमा नै आउछ न ऊ मेरो....जीन्दगीको कुनै क्षेणमा म एक्ली भएकी छु तर म हिम्मत हार्दिन मेरो साथमा मेरा छोरीहरु छन| मेरा आँखाका नानीहरु मेरो कलेजिका टुक्राहरु मात्र मेरा हुन् म जे जस्तो भएर पनि म मेरा छोरीहरुलाई राम्रो शिक्षादिक्षा दिन सकु म मेरो जिन्दगी इनै छोरीहरुको निम्ती समर्पण गर्न सकु ..!
गाउन नपाई रुकी दिन्छ्न मेरा सारा गीतहरु,,
कोपिला मै झरि दिन्छ्न फूल रूपी प्रितहरु
निर्मोहिले डाहा गरि सजाय पो दियो कि,,
जिबन भरी रुवाउने संकल्प पो थियो कि ,,
मिलन,बिछोड,आँसु,हासों जिन्दगीका ऋतहरु,,
कोपीला मै मरिदिन्छ्न फूल रूपी प्रितहरु.......
समाप्त ...............
कल्पना भावुक काठमाडौँ
हाल,इजरायल
गजल चाहेर त्यो समय बस्मा हुँने भए ८२
गजल हुने भए
चाहेर त्यो समय बस्मा हुँने भए
धेरै रुन्थे आँशुले दु;ख धुने भए !
*
किन पर्थ्यो गाउँन गीत विरहको
पिरतीको धुनले त्यो मन छुने भए !
*
माया फुल्ने ठाउँमा देखा पर्यो काँढा
किन लाउनु पिरती संधै रुने भए !
चाहेर त्यो समय बस्मा हुँने भए
धेरै रुन्थे आँशुले दु;ख धुने भए !
*
किन पर्थ्यो गाउँन गीत विरहको
पिरतीको धुनले त्यो मन छुने भए !
*
माया फुल्ने ठाउँमा देखा पर्यो काँढा
किन लाउनु पिरती संधै रुने भए !
गजल याद बस्ने मुटु पनि खाली भएछ !८१
गजल ~~सबथोक भएछ
~
मेरो हाँसो उस्का लागि गाली भएछ
मेरो आँशु उस्का लागि ताली भएछ !
,
कसम खाइ लाको माया झुट्टो भै'गयो
चोखो मिठो प्रित पनि जालि भएछ !
,
दुई किनार हुँदै यो मन दोमन हुँनाले
याद बस्ने मुटु पनि खाली भएछ !
,
प्रेम जब सस्तो हुन्छ हुन्छ बिकाऊ
फूल कुल्ची हिड्ने पनि मालि भएछ !
,
पाप पुण्य पखाल्दिने गंगा भै गयो
सुन्दर मनको तलाउ नि नाली भएछ !
,
गुराँस फुल्ने भिर पनि सबै सुख्खा छन्
जहाँ काँडा उमार्दिने डाली भएछ !
,
जम्मा भयो पैसा जब नामै बेचेर
त्यही पैसा पेट भर्ने थाली भएछ !
,
कल्पना भावुक
इजरायल
कथा ४
होचाहरूको बीचमा -By कृष्ण धरावासी
जन्मिदा त अरु जस्तै थिएँ होला तर जति हुर्किदै गएँ, उत्ति नै होचिदै गएँ म । सँगै खेल्ने साथीहरु हेर्दाहेर्दै वर्षै पिच्छे अग्लाअग्ला देखिंदै जान्थे । म भने हरेक वर्ष त्यत्राको त्यत्रै । आमाले खुट्टामा तेल लगाइ दिंदैगर्दा पिडुला छामेर भन्नु हुन्थ्यो– ‘यो नबढ्ने नै रहेछ, यी हेर त यसका पिडुला गाँठो परेका ।’ पिंडुला गाँठो परेपछि मान्छे नबढ्ने रहेछ भनेर सुनेदेखि म पनि चिहाइचिहाइ साथीहरूका पिंडुला हेर्थे– तिनीहरूका पिंडुला सुलुत्त परेका हुन्थे । आफ्ना चाहिं छाम्यो लोहोरो जस्तो । कहिलेकाही सपनामा देख्थें मेरा पिंडुला त हेर्दाहेर्दै सुलुत्त भएर तन्किँदा रैछन् रे । ब्यूँझन्छु गाँठाका गाठै ।
दिदीबहिनी सबैले फुत्तफुत्त नाघ्दै गए मलाई । उकालो चढ्न नसक्ने यात्रुलाई पछिल्लाहरूले छोड्दै अधि बढेझैं बढिरहे बिस्तारै उनीहरू पनि । साना थिए हातका नारी । बुबासँग चिन्हा हेराउन आउनेहरूका छेउमा टुसुक्क बसेर तिनीहरूको चिन्हाको फल सुनिरहन्थें । आफ्नै सुरमा मेरा साना नारी हत्केलाले खेलाउँदै कसैले भन्थे– ‘हेर ! कत्ति सानो रैछ यसको नारी पनि । कसरी गरि खाला है पछाडि यसले ।’ छेउमै बस्नु भएकी आमाले भन्नु हुन्थ्यो– ‘यो जन्मिदा पनि सानो थियो । पछिसम्म बेर्नु निस्कन्थ्यो । केही खाँदैन । पढ्न भनेपछि हुरुक्क हुन्छ । जतिबेला पनि जे भेटे पनि अक्षर देखेपछि पढिरहन्छ ।’ मेरो हात समात्नेले भनिन्– ‘यस्तै हुन्छन् कति भूरा । हाम्री जेठी छोरीको छोरो पनि यस्तै छ । पटक्कै केही खाँदैन । पढ्न भने पछि हुरुक्क ।’ पढ्नु राम्रो रैछ थोरै खायो भने झन् पढिने रहेछ जस्तो बुझें मैले । अनि झन्झन् जानीजानी थोरथोरै खाने गर्थँे ।
साथीहरु जति अग्लिदै गए म उति नै होचिदै रहेँ । अनि साथीहरू माया गर्दै, जिस्क्याउँदै भन्थे– ‘कान्छा होचो छ, कान्छा सानो छ ।’ मलाई यो होचो हुनु र सानो हुनु पनि राम्रै जस्तो लाग्न थाल्यो । यही कारणले पनि मैले कैयौं सुविधाहरू पाएको छु । धेरैवर्षसम्म बसमा भाडा लागेन । लुगाफाटो किन्दा खर्च थोरै । जादूचटक हेर्नु प¥यो भने अगाडि बस्न पाइने । फोटो खिच्दा पनि होचाहरूलाई अगाडि ठाउँ सुरक्षित । मिनी वा माइक्रोबसमा यात्रा गर्न पनि सजिलो । अफ्ठयारो पनि थियो कति कुरमा । उमेर बढ्दै गएपछि समकालीन केटीहरूले होचो भनेर हेप्थे, जिस्काउथे । भीडमा थिचिने डर । टाढाबाट हेर्नु पर्ने कुरा अग्लाहरूबाट सधै छेलिनु पर्ने । देख्थें– अग्लोको व्यक्तित्व नै फरक, आकर्षक । लुगा पनि सुहाउने, हिडाइको फड्का पनि लामो, अगाडिकोलाई प्रभावित गर्न पनि सजिलो ।
होचो र अग्लो प्राकृतिक कुरा हुन । यी न हाँसोका विषय हुन र हिनताका । तै पनि आफ्नो शरीरको बनावटसँग मानिसको मनोविज्ञानले ठूलो काम गरेको हुन्छ । ज्ञान एकातिर, मनोग्रन्थी अर्काेतिर भइरहेका हुन्छन् । जति नै बुद्धिमान र ज्ञानी भएता पनि हरेक मान्छे आ–आफ्नै ग्रन्थीले ग्रस्त हुन्छ नै । रुप नै मानिसको सबैभन्दा ठूला सम्पत्ति हो । पहिला देखिने कुरा रुप नै हो । विस्तारै घनिष्ठता बढ्दै गएमा मात्र उसका गुणका आधारमा सम्बन्धमा पुनर्विचार हुन सक्दछ । सुन्दर हुनु वा अरुद्वारा प्रशंसित हुन जसलाई पनि मन लाग्दछ । त्यसकै निम्ति मानिसले आफ्नो आम्दानीको अधिकांश भाग खर्च गरिरहेको हुन्छ । शरीरसँग जोडिएर आउने अनेकौं विचार, चेतना र संवेगहरू नै मानिसका जीवनआधारहरू हुन्छन् ।
मानिसले आफ्ना कमजोरीहरुलाई थिच्न आफैं भित्रबाट नयाँ नयाँ सीपहरुको विकास गर्दछ । नसोचिएका, नदेखिएका र अनुमानै नगरिएका गुणहरु नपत्याउँदो मानिसभित्र उत्पन्न हुन्छन् । अन्धाहरूको स्मरण शक्ति, बहिराहरूको इसारा बुझ्ने शक्ति, लुलाहरूको बसीबसी अनेकौं काम गर्ने शक्ति, उसभित्रबाट उत्पन्न वैकल्पिक क्षमता हो । कुनै एकपक्ष कमजोर भएको व्यक्तिमा अर्काेपक्षको चामत्कारिक विकास भइरहेको हुन्छ ।
म सानो, लुते र कमजोर थिएँ । सानैदेखि मेरो एउटा खुट्टो अर्काे भन्दा केही लुलो थियो, त्यसैले म दौडिन, उफ्रिन र खेल्न सक्दिनथें । म बसेर खेलिने चेस, लुडो, क्यारेम वोर्ड आदिहरू खेल्थें र राम्रो जान्दथें पनि । त्यसो त मैले संगीत र कलाको क्षेत्रमा पनि विकास गर्दाे हुँ तर घरको दयनीय आर्थिक अवश्थाका कारणले होला त्यसका लागि चाहिने बाजागाजा र क्यान्भास, रङ्गकुचीको प्रबन्ध हुन सकेन । अनि म बिस्तारै कागजमा पेन्सिल र डटपेनले मनका कुराहरू कोर्न थालेँ । अरु साथीहरू खेलेर शिल्ड कपहरू जित्थे म कविता सुनाएर खाता, कलमहरू जित्थे ।
विस्तारै मलाई आफू होचो भएको कुराले खासै प्रभावित गर्न छोड्यो किनभने एकदिन मैले थाहा पाएँ, म त मेरी आमा भन्दा अग्लो रैछु । धेरै ठूली ठानेकी मेरी आमा त म भन्दा नि होची पो रैछिन् । अनि थाहा नपाई म अरुसँग दाँजिन थालें । यसो गर्दै जाँदा बुझ्दै गएँ मलाई होचो भन्ने केटीहरू भन्दा पनि मै अग्लो हुँदोरैछु । बुझ्दै गएँ मानिसको लुगा कपडाले पनि हेर्दा अग्लो होचो देखिदोरहेछ । महिलाहरू माथिदेखि तलसम्म छोपिने साडी चोलो, कुर्ता सलवार, जामा, म्याक्सी आदिहरूले अग्ला देखिदा रहेछन् र पुरुषहरु सर्ट पेन्ट, हाफ पेन्ट, हाफ भेस्ट आदिले होचा देखिने ।
यो शरीरको अग्लो होचोको मानसिक दवावबाट मुक्त हुँदै गएपछि बिस्तारै मलाई आफ्नो उचाइमा बेग्लै प्रकारको गर्व लाग्न थाल्यो । मैले यही उचाई पाएकाले म लेखक हुन सकें, अरुको माया पाउन सकें । जहाँ पनि सजिलै प्रवेश पाउन सकें र अनुभवहरु भेला गर्न सकें ।
काका स्व. एस.एल. शर्माले प्रायः मलाई भनिरहनु हुन्थ्यो– ‘आजसम्म मलाई कसैले निहुराउन सकेको थिएन, तैले लुरुक्कै पार्छस् सधँै ।’ उहाँ निकै अग्लो हुनु हुन्थ्यो । झापाका थोरै अग्ला व्यक्तिहरूमा एस.एल. शर्मा पर्नु हुन्थ्यो । त्यसो त उहाँका छोरा शलभ पनि अग्लै हुनुहुन्छ । जब म उहाँको छेउमा गएर उभिन्थें, उहाँले मलाई हेर्न निहुरिनु प¥थ्यो । उहाँको यो कुरा सुनेर वरिपरिका हाँस्थे । उहाँको त्यो कुरा सुने पछि ममा एकप्रकारको रमाइलो गर्व भरियो । अनि म नजानिदो पाराले अचेल पनि अग्लाहरूको छेउमा पुगेर उभिइदिन्छु । अनि उनीहरू बाध्य भएर मेरा अघि निहुरिइरहेका हुन्छन् । अरुलाई आफूसँग सजिलै झुकाउन सकिने यो शक्ति के रामशरण महत, केशवकुमार बुढाथोकी, राधाकृष्ण मैनाली, बिष्णुविभु घिमिरे, राजेन्द्र शलव, नारायण वाग्लेहरूसँग होला ?
होचो भएपछि आफूले कहिल्यै तल हेर्नु नपर्ने रहेछ । सधँै माथितिर मात्र हेर्नु पर्ने । त्यसो त आध्यात्मिकहरू प्रायः सबैले माथि हेर्नु, उत्तरोत्तर हेर्नु नै भन्छन् । उनीहरूको विचारमा स्वर्ग, वैकुण्ठ सबै माथि नै हुन्छ । भौतिक कुरा गर्दा पनि प्रायः महत्वपूर्ण कुराहरू माथि नै हुन्छन् । जून, तारा, सूर्यहरू माथि नै छन्, वायुमण्डल माथि नै छ, हिमाल माथि नै छ, प्लेन उड्ने बाटो माथि नै छ । माथि नै थिए अस्तिसम्म राजा, अहिले राष्ट्रपति माथि नै छन् । मन्त्री, सचिव, सरकार सब माथि नै हुन्छ । माथि नै बस्छन् घर मालिकहरू, माथिबाटै बोलेको मात्र सुन्छन् सबैले ।
सबैको प्रयत्न हुन्छ माथि पुग्ने । माथिको आकर्षणले प्रायः सबैले तलकोलाई कुल्ची रहेका हुन्छन् । तलकाको ढाडमा नटेकी माथि पुग्न कोही सक्दैन । पैसाले, बलले, ज्ञानले, आवाजले, हतियारले जेसुकैले भए पनि तलकोलाई दवाएर माथि पुग्ने यस प्रतिस्पर्धामा म मात्र तल बसिरहने के कुरा थियो त । सायद त्यसैले मैले पनि माथि पुग्न, माथिको भएर देखिन कैयौं तलकोहरूलाई टेकें होला । नजानेर त जसले पनि टेक्न सक्छ, तर जानीजानी पनि त नटेकी कहाँ हुन्छ । कसकसलाई कहिलेकहिले कहाँकहाँ टेक्दै म यहाँसम्म आइपुगें भन्ने मलाई भन्दा बढी कसलाई थाहा होला र ! अरुबाट आफू हेपिएको, थिचिएको, भनिरहँदा के मबाट अरुहरू हेपिएका, थिचिएका, मिचिएका थिएनन् ? मैले कृषि विकास बैंकको आयोगमा आफूलाई पास गराउँदा कुनै अर्काे अज्ञात एकजना मबाट थिचिएको थिएन ? म आनन्दसँग माइक्रोबसको सीटमा बसिरहेको बेला अरु कुनै एकजना कुप्रिएर उभिइरहेको हुँदैन ? मेरो पुस्तक सजिलै प्रकाशित भइरहेको बेला अर्काे कुनै राम्रो लेखक प्रकाशकको अभावमा कुण्ठित भइरहेको छैन ? मैले प्रत्येक क्षेण कुनै अज्ञात एकजनाको हरेक सुविधा खोसिरहेको हुन्न ? म यहाँसम्म आउँदा अर्काको बाटो नछेकी, उसलाई नअल्झाई आएको हुँला त ?
तर यो ‘माथि’ वा ‘अग्लो’ ले कहिल्यै पनि किन देख्न नसकेको होला होचोलाई ? भन्न त एस.एल.शर्माले भन्नु भाथ्यो ‘तँ होचोले मलाई सधै निहुराउँछस्’ तर के यथार्थमा अग्लोहरू होचोहरूका अघि निहुरिएका हुन्छन् ? झुकेका हुन्छन् ? होचोबाटै अग्लिएकाहरूले विर्सिसकेका हुन्छन् आफ्नो धरती । आफू आएको बाटो र आफ्नो हिजो । माथि भनेको हिडदै जाँदा पुगिने हो । हिंड्नेहरू जो पनि पुग्न सक्छन् माथि । तर पुगिसकें पछि फेरि तल झर्नु पर्छ, मेरो वास्तविक ठाउँ भनेको तलै हो भन्ने ज्ञान चाहिं कसरी हराएको होला ?
म जागिरमा पस्दै अर्दली भन्दा माथि थिएँ, अलिक पछि खरदार भन्दा माथि भएँ, फेरि सुब्बा भन्दा माथि भएँ । हेर्दाहेर्दै मलाई हेर्नेहरूकै नजर फरक परेका थिएँ । अस्ति भर्खर कसैले मलाई भन्यो– ‘तपाई त अब धेरै माथि पुगिसक्नु भयो ।’
एकछिन टोलाएर उसलाई हेरें र सोचेँ– म खै काहाँ पुगेँ र ? के म पनि माथि पुगेँ त ? के मैले पनि तल देख्न छोडेँ त ?होचो, पुड्रको, सानो देखिएको म अग्लिएँ त ? अग्लिनलाई के पिँडुला तन्किनै पर्दैन त ? म चार फुट एघार इञ्चको मान्छे पनि अग्लिएँ त ?
मलाई डर लागेको छ– साँच्चै म अग्लिएँ भने र होचाहरूलाई देख्न छाडेँ भनेँ म पनि के यो देशका नेताहरू जस्तै, कालाबजारी जस्तै, भ्रष्टाचारी र कमिशनखोर जस्तै हुन्न ? अस्तिसम्मको साह्रै होचो, म जस्तै होचिएका कैयौँ कृष्णप्रसादहरूलाई नदेख्ने म कुनै हरामप्रसाद बन्दिन होला त ?
तर एउटा कुराले खुसी छु म कि संसारको सबैभन्दा होचो मान्छे पनि मेरै देशमा छ र ऊ अब संसारको सबभन्दा अग्लो भएको छ । अब लागेको छ अग्लो हुनलाई अग्लै हुनु नपर्दोरहेछ । अब होचाहरू आफ्नै होचाइका कारण अग्लिनसक्ने रहेछन् । शरीरको होचो मात्र होइन, सामाजिक, आर्थिक, राजनैतिक, धार्मिक आदि कारणले दबाइएका होचाहरू अब आफैँ अग्लिन थालेका छन् । सबभन्दा अग्लो मानिएको दरबार नै होचिएपछि अब अरु कुन् अग्लाहरू छन् जसले अझै होच्याइरहलान् ? त्यसो त अग्लिन होडबाजी गर्ने कैयौँ समकालीन होचाहरू नै छन् जो आज अग्लिएर टाक्सिदै गएका छन् , जसले अग्लिनु अघि भन्थे– म अग्लिएँ भने तिमीहरू सबैलाई उचाल्ने छु तर, आज उनीहरू एक्लै अग्लिएका छन् र सबको नजरमा होचिइरहेका छन् ।
हे अग्लोमा चढेर देखिएका होचाहरू ! तिमी अझै पनि अग्लिन सक्छौ यदि तल हे¥यौ र तलका होचाहरूलाई माथि आउन हात दियौ भने , नत्र लेप्चा भाइहरूले फुटाइदिएको हाँडीको सिँढी जस्तो ढल्ने छ तिम्रो अग्लाईको थुम्को ।
चित्त बुझेको छ आज मलाई कि अग्लो हुन पिडुला डल्लो परेर केही नहुने रहेछ । अग्लो हुन होचाहरूसँगै हिँडिरहनु पर्ने रहेछ, र म हिडिरहेको छु होचाहरूकै बीचमा होचै भएर ।
Subscribe to:
Posts (Atom)