Social Icons

गजल ***पारि जाउँकी वारि बसौ (३६)

पारी जाँउकी वारी बसौँ दोधारैमा पारिदियौ
कल्पित् मेरा भाबनालाई मनै भित्र मारिदियौ
===============================
सुस्त सुस्त मेरा पाइला लक्ष्यतिर बढ्दै थिए
तिमी सम्म पुग्नै लाग्दा पातालमै झारिदियौ
==============================
मेरो दृष्टी तिमी बाहेक अन्त कतै डुलाइन
तिम्रो मन फेरी अन्तै किन बसाइ सारिदियौ
==============================
सँगै यात्रा गर्दै जाँदा   जंघारमा  पुगे पछि
किनारैमा छाडि मलाई अर्कैलाई तारिदियौ
============================
तिम्रो मिठो बचनमा मँ त सधैं भुलीरहेँ
अरु सँगै रमाएर बोलिलेनै  टारिदियौ

कल्पना गिरी
काठमाडौँ
हाल इस्राएल

गजल*** मरे भने (३५)

प्रदेशमा मरे भने  बिलाप् गर्दै नरुनु  है
एक्लो यात्रा गर्नुपर्दा कम्जोर पनि नहुनु है


फकाएर फसाउलान् तिमी एक्लो हुदाँखेरि
बेसुरमा परि तिमी तिन्का कुरा नसुन्नु है


लाउनु तिमी चुरापोते सिंदुर र टिका पनि
अशुभ् भनि कोहि आए सेतो पैरन् नचुन्नु है


सहन्सिल बन्नु तिमी सुशिल र शान्त प्रिय
आँसु खसाई तस्बिर माथि पानीले झैँ नधुनु है


बनिदेऊ उदाहरण समाजमा नौलो तिमी
मैले दिने  उपदेश्का सब्द बाणी नभुल्नु है

कल्पना गिरी
काठमाडौँ
हाल इस्राएल

मुक्तक***

सिमसिम पानी बर्सिदिने बर्साद होकी जीन्दगानी?
मन्दिर बाट चाख्न देको पर्साद होकी जीन्दगानी?
दु;ख,अनि बेदना संग संगै वोइरो लाग्छन
झुपडीमा जन्म लिनु बर्बाद होकी जीन्दगानी ..... ??

गीत ~~~ देश

झुपडी मै रमी दिन्छु बस्छु साथमा रमाएर
पसिनाको बुद रोप्छु देशको माटो समाएर

स्वर्ग जस्तो देश छाडि हिडे सम्मान लुटाउन
संघर्स हो जीवन भन्दै थाले  दु;ख फुटाउन
जान्न अब बस्छु  आफ्नै देशको माया गरी
पराईको  आँखा अघि  हुन्न अब कठैबरी

झुपडी मै रमी दिन्छु बस्छु साथमा रमाएर
पसिनाको बुद रोप्छु देशको माटो समाएर

हलो कुटो कोदालोमा किसान बनि रम्न सकु
गरिबीमा पेट भर्ने अन्न बनि झर्न सकु
माया गर्दै बस्छु  अब फुलाउदै अफ्नो छाती
सगरमाथा देश भनि गर्व गर्छु आफै माथि

झुपडीमै रमी दिन्छु बस्छु साथमा रमाएर
पसिनाको बुद रोप्छु देशको माटो समाएर

कल्पना गिरी भाबुक
काठमाडौँ
हाल इस्राएल

केहि मुक्तक थुँगा हरु

(1)
सुख दु;ख जीन्दगी हो यसरी नै बाच्न सिक
लुकाएर  पिर व्यथा ओठ खोलि हाँस्न सिक
भावनाका फूलहरु क्षण भरमै  ओइली झर्छन
कठोर बनि आसुँ हरु आँखा भित्र साँच्न सिक

(2)
स्मृतिका पाना भरी तिम्रै नाम लेख्न पाए
हर रात सपनिमा तिमीलाई देख्न पाए
भेटिन्थ्यो कि बाच्ने आधार मेटिदिने तिर्खा
दुवै मन मिलाएर साथ राखी सेक्न पाए

(3)
त्यो मन बाट मैले बसाई अन्त कतै सारे भने
फूल्न खोज्ने  चाहना लाई कोपिलामै झारे भने
निस्ठुरीको नाम दिनु पश्चाताप को आँसु संगै
प्रेमिल तिम्रो भाबनालाई बिश्वासघातले मारे भने

(4)
आफ्नो भन्छन रगतको नाता नाताले मारेको देखे
स्नेहको  सद्भभाब छैन सब्द  हरुले बारेको  देखे
मानबरुपी दानब हरुको बास याहाँ बढेपछी
अशान्तिको बिजय हुदाँ बुद्धले  हारेको देखे

(5)
हिजो आज तिम्रो मेरो एउटै घरमा बास छ
तिम्ले हुन्न भनेपनि मलाई तिम्रै आश छ
तिर्खाएको यौबनले केवल तिम्रो साथ रोज्यो
दुइटा मुटु यौटै हुने समयको आभास छ

कल्पना गिरी
काठमाडौँ
हाल इस्राएल 

गजल~~~~ आज तिम्रो जन्म दिन.(३४)

आज तिम्रो जन्मदिन के नै दिन सक्छु छोरा,
सुख सान्ति मिलोस् भनि देबतानै भाक्छु छोरा

बाध्यताले छोडी आए  तिम्रै लागि पर्देसमा
तिम्रो जीवन सुखी पार्न रातभरी जाग्छु छोरा

निस्वार्थ छ माया मेरो आमा हुदाँ गर्व गर्छु
तिम्रो ओठ्मा हासो ल्याउन दुखि डाडा नाग्छु छोरा

यो बिरानो मुलुकमा तिम्रै माया साथ राखी
आसिर्बाद्का सब्दहरु तिम्रै शिरमा राक्छु छोरा

बसन्तका लहरहरु सातौ पार गरि सक्यौ
सयौ वर्ष बाँच तिमी मत यहि माग्छु छोरा

कल्पना गिरी
काठमाडौँ
हाल इस्राएल

गजल~~~किन ? (३३)


  


जुनिभरी साथ दिने बाचा किन तोडी दियौ?
समाएर हात मेरो फेरी किन छोडी दियौ?

खुशियाली समेटेर गर्दै थियौ संगै यात्रा
आधा बाटो पुगी अन्तै यात्रा किन मोडी दियौ?

प्रिती फूल्ने डाली हाम्रो कोपिलामै निमोठेर
रमाएर अर्को संग नाता किन जोडी दियौ?

समेटेर पिरती यो जतनले राख्छु भन्दा
तिम्रा लागि धड्की दिने मुटु किन फोडी दियौ?

पिरतिको फलफूल फलाउने धोको मेरो
लत्याएर बागबाणी झाडी किन गोडी दियौ?

बेहुलीको स्रीन्गारले सजाउँने धोको मेरो
मलाई छाडी पराईको घुम्टो किन ओढी दियौ?
    
कल्पना गिरी
काठमाडौँ
हाल इजराएल

गजल~~~दिन्छु तिमीलाई (३२)


यौवनको उन्मादिलो मात दिन्छु तिमीलाई
बासनाले भरिएको रात दिन्छु तिमीलाई

मात्र तिर्खा भरिएको ज्यान लिई आऊ सानु
प्यासहरू मेटिदिने आत दिन्छु तिमीलाई

अटुट नाता जोडीदिने बाचा लिई आऊ सानु
जुनिभरी बाधी राख्ने जात दिन्छु तिमीलाई

निराशाको सुस्केरामा कति रात काट्छौ सानु
पिरतीको रस भरी बात दिन्छु तिमीलाई

दु;ख पीडा जीन्दगीको पन्छाएर आऊ सानु
खुशियाली बहारको खात दिन्छु तिमीलाई

जीबन यो भार संझी चिन्ता गर्न छाड सानु
जुनिभरी साहाराको  हात दिन्छु तिमीलाई
कल्पना गिरी
काठमाडौँ
हाल इजराएल

गजल~~~~जल्छ भने (३१)


तिम्रो सामु म उभिदा इमान ढल्छ भने
बस्ति छाडी हिडीदिन्छु दियो बल्छ भने

जुन तारा झुटा भए नसकेर चिन्न
बिर्सिदेउ माया गर्न आत्मा जल्छ भने

यात्रा थियो शिखर चुम्ने बटुलेर आट
मुर्ती बनि बस अब पाऊ गल्छ भने

अध्यारोमा जताततै हान्न थालेउ झट्टी
नल गोडी पानी हाल आशा फल्छ भने

दुष्ट संझी पर सारेऊ नमिलाई हात
मियों बिनै दाई गर जीवन् चल्छ भने
  
कल्पना गिरी
काठमाडौँ
हाल इजराएल

गजल ~~~अधेरिमा (३०)

अँधेरीमा रमेकै थेँ जुन बनि छायौ
गोधुलीमा अस्ताउन झुटो माया लायौ


छिया छिया भको छाती दुखिराछ अझै
मलम् बनि भित्रभित्रै चस्का हान्न धायौ


ज्वालामुखी चलाएर पोलिदियौ आशा
झुटो बोली चिप्लो दल्दै फेरी मुख बायौ


आँसु खुशी सुख दु;ख हाम्रो साझा भन्दै
मन भित्र कपट राखी प्रिती गीत गायौ


आखिरीमा छोडि जाने रैछौ जाली तिमी
माया गर्ने बाहनामा सुस्तसुस्त आयौ


कल्पना गिरी
काठमाडौँ
हाल इजराएल

गजल~~ लिई आऊ (२९)

जवानीको नसा चढ्यो मात लिई आऊ  l
लजाउँदै बोली दिने बात लिई आऊ ll


चादनीले घुम्टो खोल्दै चिहाउन लागिन l
चाहनामा नछुटिने साथ लिई आऊ ll


प्रभातमा लाली छर्दै बोलाउँछिन उषा l
बहानामा नबिउँझने रात लिई आऊ ll


अंग अंग बिझाउँछ्न तड्पी बस्नु पर्दा l
सिमलको भुवा जस्तै  हात लिई आऊ ll


नस्वीकार्दा  समाजले हेला हुन्छौं कि त l
भावनाको नाम दिने जात लिई आऊ  ll

कल्पना गिरी
काठमाडौँ
हाल इजराएल