Social Icons

गजल (५०) संम्हालेर राखें फूल

गजल

~
संम्हालेर राखें फूल ओइलिएर झर्‍यो,
तिम्रो बाटो हेर्दा हेर्दै आधा बैंश मर्‍यो।
~
पिरतीमा सुख्खा लाग्यो उजाडियो यौवन,
आशा मात्रै देखाई रह्यौ मेरो बोली टर्‍यो।
~
माया गर्छु साथै मर्छु भन्दै हत्ते गर्‍थ्यौ,
सहयात्री बन्छु भन्ने मन कता सर्‍यो।
~
भलो चाहें सधैँ तिम्रो पूजा गरि रहें,
चाहनाको खात माथि फेरी घात पर्‍यो|
~
खुशी पार लागे मेरा तिम्ले बार हाल्यौ,
कोमल तिम्रा भाबनाले आज सागर तर्‍यो।
~
कल्पनामा डुब्छु सधैँ भोलि कस्तो होला,
भाविले नै भाबुक माथि यस्तो जाल गर्‍यो|
~
कल्पना भाबुक
काठमाडौं
हाल ; इजरायल

गीत;आएनौ तिमी जीवनमा फर्केर।

गीत

~

नमारी आशा संगाली बसें उज्यालो पर्खेर
अस्तायो खुशी आएनौ तिमी जीवनमा फर्केर।
~
अँधेरी रातको एकान्त पनले तिम्रो याद दिलाउँछ
लाग्दामा तिर्खा यो प्यास मेट्न यै आसुँ पिलाउँछ
बल्दछ आगो पोलेर मुटु फुट्ने भो चर्केर
अस्तायो खुशी आएनौ तिमी जीवनमा फर्केर।
~
नमारी आशा संगाली बसें उज्यालो पर्खेर
अस्तायो खुशी आएनौ तिमी जीवनमा फर्केर।
~
आकाश माथि परेवी उड्छे पखेटा फिजाउँदै
बित्ने भो जोवन कल्पेर बस्दा परेली भिजाउँदै
भोलिको दिन सम्झेर ल्याउदा मन रुन्छ धर्केर
अस्तायो खुशी आएनौ तिमी जीवनमा फर्केर।
~
नमारी आशा संगाली बसें उज्यालो पर्खेर
अस्तायो खुशी आएनौ तिमी जीवनमा फर्केर।
~
कल्पना भाबुक
काठमाडौं

गजल (४९) खुशीको सुसेली

खुशीको  सुसेली सुनेरै रमाएँ 
मितेरी हितैको चुनेरै  रमाएँ 

दिलैमा बसेछौ लगाई सुराकी
परेली   भिजेका थुनेरै रमाएँ 

तिमीछौ अगी जो लजायो जवानी 
छुटेको  मजेत्रो  बुनेरै  रमाएँ 

मनैले मनायौ  लजाई पनैमा
सुनौलो बिहानी कुरेरै   रमाएँ 

 लय छन्दः भुजङ्गप्रयात
१२२ १२२ १२२ १२२
iss iss iss iss

 कल्पना गिरी (भाबुक)
काठमाडौँ
हाल; इजराएल

मुक्तक

पछाडी फर्केर हैन देशलाई अगाडी बढेर हेर
ईतिहास जिउदैछ गोर्खालीको एक पटक पढेर हेर
कति पुस्ता बित्छन डलरमा आखिर नेपालि नै त हो
तिमीले खाने र पढ्ने अक्षेरमा एक पटक गढेर हेर

मुक्तक

हसिलो त्यो मुहारमा किन आँशु झार्यौ भन
सहयात्री बन्छु भन्दा किन बाटो बार्यौ भन
तिम्रा लागि चन्द्र टिप्छु तिमी जीवन भन्थ्यौ
साहसिलो मन थियो किन आज मार्यौं भन

गजल (४८) गजलले,

गजल
दुखियाको आत्मकथा बोल्छ गजलले,
मन भित्रको पिरव्यथा खोल्छ गजलले |

श्रीखण्डको रुप हो यो बुझ्न सक्नु पर्छ,
जिन्दगीमा मिठो रङ्ग घोल्छ गजलले |

लेख्ने मात्र प्रयास गरे जीवन सुगम बन्छ,
बिग्रिएको दिमाग लाई टोल्छ गजलले |

खोट,गाली गलौजमा जसको मन रम्छ,
तिनका लागि दुख्छ अनि पोल्छ गजलले |
कल्पना गिरी(भाबुक)

गीत

गीत

***
पल पल तड्पिएर तिम्रो बाटो हेरिरहेँ 
हाम्रो मायाँ बचाई राख्न मैंले  सास फेरिरहेँ ।
***
दिन बित्यो महिना बित्यो बिते धेरै सालहरु
जम्मा गरे यी आँशुका हुन्थे कति तालहरु
याद आउँदा तिम्रो तस्बिर अंगालोमा बेरिरहेँ
हाम्रो मायाँ बचाई राख्न मैंले सास फेरिरहेँ ।
*** 
पल पल तड्पिएर तिम्रो बाटो हेरिरहेँ
हाम्रो मायाँ बचाई राख्न मैंले सास फेरिरहेँ ।
***
रंग फेर्‍यो बसन्तले बर्षात लाई बोलाउँदै
थाके आँखा तिम्रै बाटो हेरी हेरी टोलाउँदै
सम्झनामा तिम्रो चित्र मस्तिस्कमा केरिरहेँ 
हाम्रो मायाँ बचाई राख्न मैंले सास फेरिरहेँ ।
***
पल पल तड्पिएर तिम्रो बाटो हेरिरहेँ ।
हाम्रो मायाँ बचाई राख्न मैंले सास फेरिरहेँ । 
***
कल्पना भाबुक
काठमाडौं
हाल;इजरायल