Social Icons

मुक्तक

मुक्तक
(१)
तिमी बिना जिन्दगी यो चल्दैन झैँ लाग्न थाल्यो
छाडि गए मनको दीप बल्दैन झैँ लाग्न थाल्यो
तिम्रै सम्झनामा चल्छ मुटुको यो धड्कन पनि
तिमी बिना अर्थी मेरो जल्दैन झैँ लाग्न थाल्यो |
(२)
आऊ प्रिय दुवै मिलि एउटा कसम खाउँ आज
हाम्रो माया अमर पार्ने मिठो गीत गाउँ आज
अग्निलाइ सांछी राखी बा आमालाई मनाएर
जीवन भरी नछुटिने अमर प्रित लाउँ आज |
(३)
नाम मात्र फरक हाम्रो तर जीवन दाता एउटै
घर मात्र फरक हाम्रो तर ओढ्ने छाता एउटै
भाषा फरक भेष फरक देश फरक भय पनि
टाउको देखि खुट्टा सम्म सबैको छ गाता एउटै|
(४)
केहि बर्ष टाढा हुँदा परिवेस बदलिएछ
पराई देशको संगतले मेरो भेष बदलिएछ
खान्छु उस्तै बोल्छु उस्तै नेपाल कै छोरी हुँ म
नसोच्नु है मैले टेक्ने आफ्नै देश बदलिएछ|
*
कल्पना भाबुक
काठमाडौँ
(हाल इजरायल)

गजल ६४ जवानीलाई

गजल
जे जे पर्ला बेहोरुंला  हेरीदेऊ यो जवानीलाई
नमेटिने रङग घसी केरीदेऊ यो जवानीलाई !
~~
अत्तर सरी   फैलिएर मोहिनी त्यो  पासो थापी
लिप्त कामुक बासनाले सेरीदेऊ यो जवानीलाई !
~~
उकुस मुकुस गुम्सिएका बैशालु इ तिष्णा सँगै
टाँसिएर   अंगालोमा बेरिदेऊ यो जवानीलाई !
~~
रुखो सुखो   मलजल  गरी उर्वरसिल   बनाएर
बसन्त त्यो ऋतु जस्तै फेरीदेऊ यो जवानीलाई!
~~
भुवा सरि उडी रा'छ उम्किएला यो मन कतै
पिरतिको बार हाली घेरिदेउ यो  जवानीलाई !
~~
कल्पना भाबुक
काठमाडौ
हाल; इजरायल

गजल ६३ अस्ताउन लागेको घाम

गजल
अस्ताउन लागेको घाम मैले अब डुब्नु पर्छ
स्वर्ग होस् या नर्क साथी मरेपछि पुग्नु पर्छ।
~
सृस्‍टिको यो नियम हो कैले आँशु कैले हाँसो
झरि बादल परे पछि इन्द्रेणीले लुक्नु पर्छ ।
~
लाग्न सक्छ सुख्खा यहाँ सिँच्नु पर्छ पौरखले
धर्तीमा बिज छरेपछी उम्रनलाई रुक्नु पर्छ ।
~
इमान बेची खान हुन्न नैतिज्ञवान भई बाँचौं
आखिर गल्ति गरे पछि बैरी सामु झुक्नु पर्छ ।
~
सत्यतामा हुन्छ माया झुटो खेति टिक्ने छैन
प्रेम बसाइ सरे पछि घाऊ नभई दुख्नु पर्छ ।
~
कल्पना भाबुक
काठमाडौं
हाल; इजरायल

गजल ६२ नाउँ छैन

के भनेर चिन्छौ मलाइ मेरो कुनै नाउँ छैन
घुमन्ते भै बित्यो जीवन बास बस्ने ठाउँ छैन।
~
न त छोड्न सके छाप न त कुनै इस्ट मित्र
बेवारिसे भा'छु आज उपमा त्यो गाउँ छैन।
~
चल्छ यहाँ नेताको नाम कि त हुनु पर्छ डाका
सभ्य मानब भई बस्दा त्यसको कुनै भाउ छैन।
~
कलि युग लागेको छ पशु देखि प्राणी सम्म
कोरलिन्छन चल्लाहरु खोजि गरे माउ छैन।
~
तस्करीको लामो ताँती दिनदहाडै अशुरक्षित
खोर भित्र जाकुँ भने समाउँने दाउ छैन।
~
निस्वार्थी छ आमा सब्द बोकी हिड्छिन लालाबाला
जात भने मनुसको छ खोजि गरे बाउ छैन ।
~
बल्झी बल्झी दुखि रैछ नेपाल आमा तिम्रो मुटु
खोक्रो पारे धमिराले देख्ने कुनै घाऊ छैन ।
~
कल्पना भाबुक
काठमाडौं
हाल ; इजरायल

मुक्तक

मुक्तक दोहोरी

 
केही दिन अघी कल्पना भाबुक जी को वालमा सवाल जवाफ गरिएका मुक्तक हरु संकलन गरी यहाँ हरु समक्ष बाँड्ने जमर्को गरें आज। ट्यागको सिमिततालाई बुझेर आफ्नो राय सुझाव राख्नु नै हुने छ भन्ने आशा लिएको छु। धन्यवाद सम्पूर्ण सर्जक मित्र हरुलाई।
*********************
मुक्तक दोहोरी
१,
टाउको माथि हात राखी चिन्ता कति गरौँ प्रिय
मुटु फोक्सो दुवै दुख्छन कुन पाटोमा सरौं प्रिय
जीवनकै टुङ्गो छैन गुनासोका खात धेरै
बिपती र झन्झटमा अझै कति परौं प्रिय|***कल्पना भाबुक
*
२,
पिर चिन्ता नगर भो जे जे पर्छ उही टर्छ
तिम्रो मुटु दुख्दा यहाँ मेरो छाती दुख्ने गर्छ
यात्रा तय गर्दै गर गर्दिन म गुनासो नि
आसुँ हैन हाँसोले नै जिन्दगीको दु:ख हर्छ!!!***गोविन्द भाबुक
*
३,
तिमी टाढा हुँदा खुशी मासेर नै जीवन बितोस
सप्रतिक्षामा जिन्दगीलाई राखेर नै जीवन बितोस
कस्तो यात्रा तय गर्नु सिंगै मुटु छोडी मैले
आँशु सँग जिन्दगी यो साटेर नै जीवन बितोस।***कल्पना भाबुक
*
४,
म बिनाको एक्लो जीवन कसो गरी काटौली खै
पीडा बोकी आफ्नै मनलाई कती दिन ढाँटौली खै
तिमी जहाँ म उँही छु साथ छुट्ने छैन कहिल्यै
आसुँ सँग जिन्दगी त्यो के संम्झेर साटौली खै!!***!गोविन्द भाबुक
*
५,
काट्नै पर्दो रैछ जीवन आफ्नै अंग छुटे पनि
आट्नै पर्दो रैछ यात्रा समयले कुटे पनि
कल्पनामा डुबी डुबी तिम्रै बाटो हेर्ने गर्छु
हास्नै पर्दो रैछ यहाँ सिंगै मुटु फुटे पनि|***कल्पना भाबुक
*
६,
टाढा बसी बेदनाका पोका नखोल भो
असह्य भो सुन्दा अझै त्यस्तो नबोल भो
यस्तै रैछ जिन्दगी यो प्रतिक्षामै दिन काटौं
निस्चल हाम्रो पिरतिमा आसुँ नघोल भो!!!***गोविन्द भाबुक
*
७,
टाढै बसी प्रियसीका कथाहरु सुन प्रिय
चाहेर नी तिम्रो हात सक्दिन म छुन प्रिय
सुनी हल्का गरी देउ यो मनको भारिलाइ
दिदैन कि समयले छिटै तिम्रो हुन प्रिय !!***कल्पना भाबुक
*
८,
लेख्न थाल्यौ बेदनाले भरिएका कथा फेरी
भो अब त नसुनाउ बल्झ्यो उही ब्यथा फेरी
कतिन्जेल चल्छ र खै तिमी वारी म पारी भै
एउटै मुटु छुटाउने कस्ले ल्यायो प्रथा फेरी!!!***गोविन्द भाबुक
*
९,
बन्द गरेँ दिलको खाता नदुखाउ मन अब
सकुसल छ कि छैन तिम्रो खबर भन अब
वारि पारि भए पनि भेट गर्ने बाटो खोजौ
छिटै मन मिलाउने हाम्रो दिन गन अब !!!***कल्पना भाबुक
*
१०,
दिलको खाता बन्द गर्छु भन्छौ र पो मन दुख्छ
हेर्दा ठिकै लाग्छ तर खै किन हो तन दुख्छ
भरोसाको त्यान्द्रो छोडें सृस्‍टि कर्ता उनैलाई
भाग्य भए भेट होला नत्र आफ्नो पन दुख्छ!!!***गोविन्द भाबुक
*****
गोविन्द अधिकारी
रचना; १२ मंसिर २०६८