Social Icons

कथा

कथा
"उनीहरु पात्र होइनन् ।"
----------------
-मिश्र वैजयन्ती
========
घाम थिए र उज्यालो थियो । उज्यालोसँगै गर्मी पनि उत्तिकै थियो । उनीहरु माइकिनारमा आएर उभिए । माइको उत्तरपट्टिको यो किनारामा फेरि एकचोटि उही कटेराहरु सम्झना गरे ।
‘जय कता गइरहेछौँ हामी ? यसरी आफन्तको पनि के भर पर्नु छ र ? बसिरहेका भए एकैठाउँ केही हुन्थ्यो कि । अरु पनि त बसिरहेकै छन् । ’ जयमायाको टिठ्याइला आँखाले जयबहादुरलाई हेरिरहेका थिए ।
‘त्यो पनि ठिकै हुन्थ्यो जयमाया । यो देश आफनै पुर्खाले बनाएको हो । यहाँका हाम्रा आफन्तहरु हाम्रा आफनै हुन् । सबैसँग नाता जोडिएको छ हाम्रो । बसौँला नि कतै । शिविरमा सकिएन बस्न , गजमाउरो छ त्यहाँ । ’जयबहादुरले सम्झाए जयमायालाई ।
‘अबचाहिँ ढुक्कले एकठाउँ बसेर मर्न पाए हुन्थ्यो जय । साह्रै हिँडियो ।’
बात मादैँ उनीहरु हिँडेर आई कन्काइमाईको पुलनेरको फलैँचामा बसे । कसैले ‘तालिम ’ भनेर संबोधन गरी बोलाएको सुनियो । एउटी महिला आफनो तालिम नामको छोरो आफूलाई छोडेर कता गयो भनी अत्तालिएर खोज्दै थिइन् ।नाति केटोलाई आफनो छोरोजस्तै देखिन् होला । उनका साथमा अरु एकदुई निकै आत्तिएर तालिमलाई खोजिरहेथे । जयमायाले चाउचाउको पोको खोलेर खाँदै गरेको नाति केटोलाई हेरेर मुसुमुसु हाँसिन् र एक पटक थोते दाँतले सुहाउँदिलो गरी हाँस्तै उनले पनि भनिन् ‘तालिम’ । केटो मुस्कुरायो । थकाइ मरेछ । उनीहरु फेरि हिँडे पश्चिमतिर ।
माईधार पुग्नेबित्तिकै भोकले भाउन्न भयो भन्दै जयमाया थुचुक्क बसिन् । जयबहादुरले आफूसँग भएको गिलास झोलाबाट झिकेर कलबाट पानी ल्याए र जयमायालाई खान दिए ।
जयबहादुर आफनो पुरानो इस्टकोटको भित्री गोजीबाट केही पैसा झिके । यसो हेरे । सबभन्दा ठूलो पैसा पाँच रुपैयाँको नोट झिकेर उनले बिस्कुट किनेर जयमाया र नातिलाई ख्वाए ।
मागी खानुभन्दा गरी खानु जाती । माइधारमा घरेलु बिस्कुट फैकठ्री रहेछ । उनले त्यहाँ काम पाए । सक्ने काम जयमायाका लागि पनि भयो । जयबहादुर लुरुलुरु काम गरिरहन्थे । उनको कामले निकै प्रशंसा पनि पायो । फैक्ट्रीमै बस्ने व्यवस्था भयो । अब उनीहरुले कतै नजाने निधो गरे ।
जयमायाले एकदिन बिस्कुट प्याकेज गर्दै भनिन् — ‘हामी त केही होइनौ रहेछौँ । हाम्रा कथा मात्रै ठूला रहेछन् ।’
‘किन यसो भन्यौ जयमाया ? हाम्रा कथा पनि के हुन् र ? कति कति कथाहरु छन् यस संसारमा हाम्राभन्दा भिन्न । नलेखिएका कथा । ’ जयबहादुरले सूर्तीको सर्को तानेर भने ।
‘कथा हाम्रा बेचिँदैछन् । हामी भने कति निरिह बाँच्नु ? ’ जयमायाले तालिमलाई छेउमा बसाएर भनिन् ।
‘हाम्रो कथा निकै चर्चित छ रे । हामी भने यहाँ गुमनाम छौँ । हामीजस्तै धेरै चर्चितहरु गुमनाम होलान् । तर हामी कर्म गर्ने मान्छे जया । काम गर्छौँ । बाँच्ने अभ्यास गर्छौँ । तर मलाई यो खेलाँची लाग्दैन । ’ भने जयबहादुरले ।
‘राई बूढाले के खेलौँ बाँच्ने खेल भनेका थिए सबैलाई पुग्यो । फेरि हाम्रो जीवनचाहिँ भकुण्डो भयो । ’ जयमायाले नाति तालिमको टाउको मुसादैँ भनिन् । तालिम चकचक गरिरहेको थियो ।
‘हाम्रा कथा दुरुस्तै छन् शरणार्थी उपन्यासमा । कृष्ण धरावासीको हो त्यो । हामी त अब निमित्त मात्र । हामी केही होइनौँ । । त्यो कथालाई बोकी हिँड्ने पात्र हौँ । हाम्रा कथा छन् तर हामी छैनौँ । ’ जयमायाले भनिन् ।
‘आफनै कथा त कसले लेखेका छन् र जया ! सबैलाई आफू अनुकूल बनाएर लेख्ता रहेछन् । हामी जस्तो छौँ त्यस्तै दुरुस्त त छैन होला । अस्ति नै मात्र धरावासीकहाँ हामीलाई कति खातिरदारी गरे । हाम्रा कुरा कति सुने । तर यथार्थमा हामीजस्ता यस्ता गन्धे , पसिनाले सधैँ भिजिरहनेलाई कसैले त्यति राम्रो सोफामा बसाएर गफ गर्थे र ? त्यो हामीलाई त्यत्रो खातिरदारी पनि कथामै त हो गरेको । ’ जयबहादुरले अझै धुँवारेचन गर्न चाहे क्यारे ।
‘ आ ! तिमी पनि कहिलेकहिँ कति नबुझिने कुरा गर्छौ ? गको त हो नि । उनले त यथार्थमै गरे । ’ जयमायाले भनेकी हुन् तर पूर्ववत चाहिँ थिएन । बोलीमा अलिक बल परेको सुनिन्थ्यो ।
‘ त्यो कथाकारले कुदाएको हामीलाई । त्यत्रो घाममा । हामी श्रम गरी हिँड्ने मान्छेलाई कहिले कता कहिले कता पुर्याउँछन् । कुनैदिन तिमी र मलाई छुट्याएर यिनीहरुले कता पारिदिने हुन् । अब हामी कतै नजाने । यहाँ छौँ भनेर पनि कसैलाई नभनौँ अलिकदिन । लेखकहरुले हामीलाई साह्रै लछारपछार पारिसके । ’ जयबहादुरले लामो सुस्केरा ताने ।
‘ आ ! अर्को ठाउँमा जाँदा हामी अर्कै नामका भैदिऊँ कि क्या हो । यो केटो पनि तालिम भयो । बाटैमा जुनी फेर्यो यसले । ’ जयमायाले ठट्यौली गरिन् ।
‘ कति हिँड्नु हौ जयमाया , कति हिँड्नु ? भो अब अस्ति तिमीले ढुक्कले बस्ने भनेको होइन ? तिम्रो मनमा फेरि हिँड्ने कुरा कहाँबाट आयो ? हामी जहाँ गए पनि श्रमिक । यहाँ पनि काम पाएकै छौँ । श्रमको मूल्यको कुरा हामीले गरेका पनि छैनौँ । यो सब राजनीति गर्नेको चारो मात्र हो । हामी त केवल श्रम गर्ने हौँ । यत्ति हो हाम्रो थात थलो छैन । ’ जयबहादुरको कुराले जयमायालाई के भयो को नि बोलिनन् ।
मौनता निकै बेर रह्यो ।
‘जयमाया के भयो ? बोल, मनमा जे जे भए पनि मुखैले सुन्न मन हुन्छ । बोल । के भयो ? ’ जयबहादुरले जयमायाको मौनतालाई भत्काउन खोजे । जयमाया त्यसै टोलाएझैँ भइन् ।
‘ जयबहादुर हामीजस्ता श्रम गर्ने यस देशमा कति छन् कति ? हामी त रासन पानी पाउँदा पाउँदै आफन्तको औडाहाले हिँड्यौँ । स्वतन्त्र कमाइ खान हिँड्यौँ । हाम्रै पूर्खाको माटो हो भन्दै हिँड्यौँ । तर पुर्खाको माटो भए पनि यो हाम्रो होइन रहेछ । हामीलाई जहिल्यै पनि नेपाली नभनेर शरणार्थी नै भन्दा रहेछन् । भूटानी भन्छन् । शिविरे भन्छन् । तर हामीभन्दा तल्लो स्तरको श्रम गरेर आधा पेट खाएर बस्ने यी यहाँका मानिसहरु हामी जस्तै कथाका पात्र मात्र पनि हुँदैनन् । ’ जयमायाले अन्तिम पोको बिस्कुटको काम सकेर दुवैजना आफना कोठातिर लागे । तालिम त उनीहरुको छायाजस्तै जता गयो उतै जाने न हो । ज्ञानी पनि छ ।
गलेर थुचुक्क बसेकी जयमायालाई जयबहादुरले रातो चिया पकाएर दिए । आफू र तालिमलाई पनि ल्याए । भाँचिएका बिस्कुटहरु पाएका थिए । तिनैलाई चियासँग खाए । जयमायाले भनिन् ‘तालिमको पेट भरियो भने हामी पनि अघायौँ , म त अघाएँ । ’
जयबहादुर यसमा केही बोलेनन् ।
बाहिर हल्ला खल्ला भयो । ग्वारग्वार्ती मान्छेहरु निस्के । कोही के कोही के भनेर कराउँदै निस्के । झमक्क साँझ परेको थियो । जयमाया कोठाको छेउमै थिइन् । उनी पनि निस्किइन् । घटना बिस्कुट फैक्टी्रमै रहेछ । तर के भएको थाहा भएन उनलाई । बिस्कुट छरपस्ट थिए । पिठो छरिएको थियो । केही युवाहरु गाली गलौज गर्दै थिए । तर कसलाई जयमायालाई पत्तो भएन । जयबहादुर पनि पुगेछन् । आरोपप्रत्यारोप मात्र भएको थियो । जयमाया तालिमलाई लिएर फर्किइन् ।
साँझ निकै ढल्किँदा पनि जयबहादुर नआएकाले जयमाया बाहिर निस्केकी मात्र थिइन् । जयबहादुर आउँदै रहेछन् ।
‘के भएको रहेछ जय ?’
‘अब यहाँ बसाइ हुँदैन जया । ’
‘ किन ? के भयो ? ’
‘रविलाई रगपच्छे पारेका छन् । ’
‘रवि त त्यहीँ बोल्दै थिए त । ’
‘ अहिले एम्बुलेन्समा हालेर लगिसके । ’ जयबहादुरको कोठा अगाडिको चौरमा धेरैबेर गाउँका मानिसहरु उभिएर बात मारे । उनीहरुको कोठाबाट सुनिन्थ्यो ।
‘रविले धेरै ऋण लिएको थियो अनि नतिरेकोले आइलागेका रहेछन् । ’
‘रविले राति राति केटी राख्थ्यो रे । ’ खुसुक्क भनेको शैलीमा आवाज आयो ।
‘गुण्डा केटाहरुसँग लेनदेन नमिलेर हो । कता कता के के छ छ नि ? ’ कसैले भन्यो ।
‘साह्रै पिटे कि के हो ? निकै रगत जमेको थियो । ’
‘टाउको फुटाएका छन् । ’
‘हैन , रवि त केही नभई गएको , त्यो अर्कोचाहिँको फुटेको नाथ्री । ’
‘दाँतै झरेको छ । मुखैबाट भलभल गइरहेको थियो रगत । ’
‘ भोलिदेखि अब फैक्ट्री बन्द भयो भने के गरी गुजारा चलाउनु होला । ’ बुढो सन्तबहादुर पनि त्यहीँ रहेछन्, आवाज आएपछि चिने जयमायाहरुले । सन्तबहादुरको कुरा सुनेर सबै हाँसे गललललल ।
‘यहाँ मान्छेको मर्नु बाँच्नुको सवाल छ सन्त दाइ , गुजाराको के कुरा ?’ कसैले भन्यो । भन्नेलाई जयबहादुरले चिनेन । सुनेर भित्र अमिलो भयो । हाम्रो पनि मर्नु बाँच्नुको नै सवाल हो नि । हामीचाहिँ मर्नु र बाँच्नुको परिभाषामा पदैँनौ ? भन्ने सोच्यो जयबहादुरले ।
््््््््््््््््््््.............................
‘उठ जयमाया , अब भोग पुग्यो यस ठाउँको । जीवन यसरी नै बसाइँ सरेर काट्नुपर्ने रहेछ । उता नातिनीहरु पनि छन् । छोरी पनि उतै होलिन् । जाऔँ । ’
जयबहादुर अघि नै Aजाने भनी उनीहरु घरमालिकसँग विदा मागी हिँडे । पथरीमा होटल चलाएर बसेका छन् रे ।

कविता ,आशल सन्तान

कविता;

बाबु आमा देव हाम्रा मन्दिरमा  छैनन् 
मन्दिरमा बसेका जो बाबु आमा हैनन!

भोकै बसी पालि पोसि  संसार टेखाउछन 
आफ्नो भाग्य आफैँ लेख्न बाटो देखाउछन!

आदर गरौँ सम्मान गरौँ  घृणा नगरौं है  
बा आमाका आँखा भरि  आँशु नभरौ  है!

सुनै खाओस सुनै  लाओस बुढो हुनै पर्छ 
अजम्बरी  कोही छैन  सबले  जानै  पर्छ!

पुजनीय बा आमालाई जसले हेला गर्छ 
कुनै दिन त संझी संझी पछुताउनै पर्छ!

प्रण गरौ आजै बाट अशल सन्तान बन्न
कु-संस्कारी कुलंघार नपाउँन  है  भन्न !

कविता  यो दिवसमा मिलि कशम खाउँ  
अशल सन्तान बनि हामी कमाउँ है नाउँ   !

कल्पना भावुक 

गजल मरिजाने चोला ८०

गजल ~ मरिजाने  चोला 

बाँची राख्ने सधैं मानीस कहाँ  होला
रोकिन्न है रोकी उँधो बग्ने खोला !
,
रित्तै आयौं  हामी जाँदा रित्तै जान्छौ
जिन्दगी त रैछ  मात्र खालि झोला !
,
जगत साझा भन्छन तर हक छैन 
सम्पन्न त हाँस्छ रुँदा दुखी   रोला !
,
गरिबको इज्जत  पैतालामा  हुँने   
धनिको कुकर्म  सुनैसुन्को तोला ! 
,
निक्कै गर्व लाग्थ्यो मान्छे हुँन पाउँदा 
मरे माटो हुँने रैछ हाम्रो चोला !
,
कल्पना "भावुक"

गजल~ ७९ आँखा भरी

गजल ~~ आँखा भरी

बिर्सनलाई खोजे पनि झल्किन्छौ आँखा भरी
प्रणयको  आगो बनि सल्किन्छौ आँखा भरी!
*
तिमीले यो  मुहार मात्रै पिरतीको घर ठान्यौ 
ठाउँ दिंदा  दिल भित्र पल्किन्छौ आँखा भरी!
*
मुहारमा लुकेको त्यो चोखो  प्रेम हेरौ भन्दा 
बिम्ब बनि ऐना भित्र टल्किन्छौ आँखा भरी !
*
मलाई छाडि टाढा जाँदा मेरा याद सबै लाँदा  
अनायासै  कोशी  बनि छल्किन्छौ  आँखा भरी !
*
कल्पना भावुक 
काठमाड...

गजल ~ ७८ पराई नभन्नु

आठौँ नयाँ छन्द ( जवाकस्तूरी ) अनुशार बहरमा मेरो गजल


गजल~पराई  नभन्नु


कसैले  सोधे  हराई  भन्नु
सबैको  भैछे  पराई भन्नु !
~
मनैको  बैरी  घरैमा  हुँदा 
पिरैमा  पर्दा  डराई  भन्नू!
~
दुखेको  छाती  बिलौना गर्दै 
भईछे  टाढा  लजाई  भन्नु!
~
झुकेरै  मैले  जिउँने  भन्दा 
चुनेरै  कोही  सजाई भन्नु  !
~
नमारी इच्छा  डटेरै संधै 
सुवासी बन्दै बसाई भन्नु!
~
पुरानो  ठाऊँ  झझल्को आई
नुनीलो   पानी  खसाई  भन्नु!
~
iss ss iss ss

कल्पना भावुक 
काठमाडौँ 
हाल ,इजराएल 

कथा ~


गायत्री= कथा ~काथाकार महादेव अधिकारी 

'दाइ नमस्कार,सञ्चै हुनुहुन्छ' अपरिचित जस्ती तर परिचित जस्तीपनि ती वहिनी दश औला जोडेर मेरो सामु खडा थिईन्।मेरा आँखाले उनलाई घोचिरहे। सिउदोमा रातो सिन्दूर, नाक कान गहनाले झाटिएका रातो किनारा भरेको सारीमा रातै व्लाउज । 

मैले असमन्जसमा परेरै नमस्कार फर्काएँ।सैनिक अभिलेखालयमा अचानक भेटिएकी ती वहिनीलाई मुस्किलले ठम्याएर सोधे'गायत्री हौ?' 'हजुर दाइ म त्यहि गायत्री हूँ जसले हजुरको प्रेरणा सल्लाह र साहश पाएर आज वैधव्यको भारी बिसाएर साध्वी जीवन जिउन आँट गर्न सकेकी छ।' भावात्मक आवेगमा मेरा नयनहरूमा हर्षाश्रु टिलपिलाए। तिनको साथमा एक युवक र बूढीआमा पनि थिए।युवक युयुत्सु थियो मेरो साथी ययाती को भाइ हामीहरु चमेना गृहतिर गयौँ। 

काठमाण्डौँमा जाडो पलाई सकेको थियो।मलिना सूर्यका कीरण अल्छीपाराले जमिनमा फिजारिएका थिए।ती बूढीआमाका निम्जा आँखाले मलाई कुल्चीरहेका थिए। 
गायत्रीले बूढीआमालाई देखाउदै भनिन 'उहाँ मेरी सासूआमा'। मैले नमस्कार गरे। आमाले मलाई सोधिन् 'बाबुलाई त मैले चिन्न सकिननी' मैले भने 'आमा म ययाती को साथी कृष्णकान्त हूँ'।त्यति सुन्ने बित्तिकै आमाको मातृवात्सल्यता छचल्किएर हिउँनदीबनेर परेलीका डिलबाट हाम्फाल्न थाले। आमाले ययातीलाई सम्झन पुगिन्।'भगवानले पनि राम्रो मान्छेलाई चाँडै उठाउदा रहेछन् बाबु सानो छदापनि कहिले च्याहाँ गरेर रोएन बरू यसलाई युयुत्सुलाई देखाउदै भुईमा राख्नै हुदैन्थ्यो।सबैका लागि आँखाको नानी थियो ऊँ।त्यो घटना हुदा बाबु कहाँ थियौनी?। 

मैले भने 'त्यो दिन पनि हामीसंगै थियौ आमा! हामी दुबैजना छुट्टिबाट फर्केकै दिन अन्यकेहि साथीहरुसंगै आछामको मंगलसेनमा खटिएर गयौँ।हल्ला चलेको थियो मंगलसेनमा आक्रमण गर्नको लागि भनेर दशौहजारको संख्यामा बिद्रोहीहरु आएर रामारोशन र माष्टमाण्डवतिर रातारात राँगा भैसीहरू काटेर भोजखाएर लडाइँको अन्तिम तयारीमा थिए।त्यसैले थप फौजको रूपमा हामी त्यहाँ खटिएका थियौँ। 
त्यहाँ पुगेर हेर्दा एकातिर ठूलोभीर, तल कैलाश खोला, नजिकै मंगलसेन बजार प्रहरी कार्यालय र कारागार,माथि कच्चीशडक, समानन्तर रेखामा पारीपट्टि नेपालका प्रथम नाटककार पहलमानसिँह स्वारको गाउँ वयलपाटा छर्लङ्ग देखिन्थ्यो।त्यहाँको मनोरम दृष्यले सबै कुराहरु बिर्साईदिएको थियो। 
ययाती भन्थ्यो विवाह गरेको भोलीपल्टै हिँड्नुपरेकोले अहिले म गायत्रीको अनुहार पनि याद गर्न सकेको छैना कल्पनाकी परी बनेकी छन्। 

म उसलाई सम्झाउँथेँ 'विपत्तिमा धैर्य, वैरभावमा दया र संकटमा सहनशिलता भयो भने जीवन सजिलो बन्छ। परिस्थितिलाई स्वीकारेर सरलता र लचकता अपनाउनु पर्छ'भनेर। 
हामीहरू रातभर नसुतिकन ड्यूटी गर्दथ्यौँ। अधिकृतहरुपनि नसुतिकन घुमिरहन्थे। कृष्णपक्षकारात र रामारोशनतिर बाक्लो हिउँ परेकोले हाम्रो बंकरमा पनि हिउँ बुर्बुरी झरी रहेको थियो।' मैले त्यसोभन्दा ती आमा बच्चाले बत्तिमा हेरे जस्तै एकटकले हेरिरहेकी थिईन्। 

चमेनाको पैसा तिरेर म कार्यालयभित्र गएँ।पट्टामा फोटो टासेर ल्याप्चे लगाएपछि मेरो त्यो दिनको काम सकियो।गायत्रीको पनि दर्ताको काम भयो।गायत्रीको अनुरोधलाई नकार्न नसकेर हामीहरु भद्रकालीबाट पैदल हिँडेर सुनधारागयौँ र पूजा लजमा तीन बेडको कोठा लियौँ।म गायत्रीको रुप ,लावण्ड्य, आभूषण, भेषभूषा, वोली र भाग्यलाई नियालीरहेको थिएँ। 
त्यो भाइ युयुत्सु जसले मेरो सानो सुझावलाई स्वीकार गरेर समाजमालाई अग्रगति दिएको थियो।नयाँ पिढीलाई हिँड्न सजिलो हुने गरि बाटो बनाई दिएको थियो। 
गाउँको शान्तवातावरणमा जीवन गुजारेकी आमालाई काठमाण्डौँको त्यो धुवा, धुलो र कोलाहलपूर्ण प्रदुषणले बिरामी जस्तो बनाएको थियो। 
युयुत्सु र गायत्री एउटै बेडमा बसेका थिए, म र आमा छुट्टाछुट्टै बेडमा बसेका थियौँ।गायत्री वत्तिको उज्यालोमा रम्भा र रश्मी जस्ती देखिएकी थिई।कीराहरु ट्यूबलाईटमा झुम्मीरहेका थिए माउसुली चुपचाप तिनको शिकार गरीरहेको थियो। 
गायत्रीका ओठ चले। 'दाइ त्यसदिनको लडाइँको बारेमा केहिँकुरा सुनाउनुन।' तर आमाले भनिन् ' भो बाबु म मा सुन्ने हिम्मत छैन।' तर फेरी युयुत्सुले भन्यो ' होईन आमा अब दाइसंग फेरी भेट होला नहोला जानीराखे पछि हामीलाई पनि अरूलाई सुनाउन सजिलो हुन्छ।' 

'सदाझै त्यसदिन पनि डिउटीभएकाहरू पेरीमीटरमा तयारीमा थिए।बाँकी कोही आगो तापेर बसेका थिए त कोहि चारबजे उठ्नको लागि सुति सकेका थिए।बिहान चारबजेपछि आक्रमण हुने सम्भावना कम भएकोले थोरै जवानसरुमात्र राती सुत्दथे र चारबजे उठेर ड्यूटी गर्दथे। 
नयाँ ठाउँ हुनाले भवनपनि बनेको थिएन।पाल टागेर पालमै बस्ने बंकरमा सुत्ने गर्दथ्यौँ। चारैतिर काँटेतार र बिलेट जस्तै धार भएका तार अनि माईनबमहरु लगाएर बिद्रोहीहरु आउन नसकुन भनि अबरोध खडा गरेका थियौँ। हामी कर्तव्यनिष्ठा भएर होसियारीका साथ बसिरहेका थियौँ।राईफलमा जडेको म्याग्जिन, चेक गरी हतियार कक गरेर तयारी गरी बाँकी जगेडा म्याग्जिन, गोली गठ्ठा, गृनेडबम सबै तयारी थिए। 

कैलाशखोलाबाट बहेर आएको सिरेटोले बिरालाको नाक भएको थियो।आँखाबाट तरतरी आँसु र नाकबाट पानी बहेको थियो। राईफल समातेको हात काठ्ठिएर कट्कटी खाएको थियो। हावाबाट हिउँ र बरफ बुर्बुरी खसेको थियो। अँधेरोमा आँखाले नदेखिने हुँदा कानको भरपर्नुपर्ने थियो तर हिउँ बोकेको हुरीले सुसाएको आवाजले कान पनि बन्द थिए। 
अचानक पालमा डढ्याम्म डढ्याम्म गरेर ठूलो आवाजमा दुईवटा बम पड्किएर डाँडा खोला हल्लाई दियो। पालमा सुत्ने व्यक्ति र हतियार ध्वस्त भए।हाम्रो मन हल्लीयो विवेक छचल्कियो होस हवास हावासंगै तरंगिएर गयो। हंशले ठाउँ छाड्यो। त्यो आवाजसंगसंगै माथि शडकमा आगाको ज्वाला देखिएर विलिन भयो।बिद्रोहीले त्यहिँबाट रकेट लन्चर बमको फाएर गरेका थिए। 
कमाण्डपोष्टबाट आदेश आयो फायर....।त्यसपछि हामी सबैले आ-अफ्ना हतियारबाट अन्धाधुन्द फायर गर्यौँ।पानीको फोहोरा जस्तै दुबैतिरबाट गोलीका पर्रा छुटे।भटटटटटट भुटुटुटुटुटु ढ्याङ्ग ढ्याङ्ग ढ्याङ्ग ढ्याङ्ग डुङ्ग डुङ्ग डुङ्ग डुङ्ग ढ्वाङ्ग गरेर पड्केका आवाजले कान बन्द भए। ययाती र म एउटै बंकरमा थियौँ। मानव चित्कार पनि सुनियो। मलाई गोलीलाग्यो रगत रोकिदेओ मेडिकल बोलाओ भन्ने आवाज गुञ्जिई रहे तर जाने को?। 
युद्ध बिजुलीको चम्काई जस्तै भएको थियो। त्यो मध्यरातमा भर्खरै पहाड निदाएको थियो, हावा निदाएर चल्न छाडेको थियो। खोला निदाएर सुसाउन छाडेको थियो। प्रकृतिले समेत थकाई मारेको समयमा भएको त्यो अचानक आक्रमणले हामीमा चट्याङ पार्यो। तलतिर बिद्रोहीहरू पनि कामरेड अमूक अमूकलाई गोली लाग्यो डोके टोली अगाडि बढेर घाईतेहरुलाई पछि हटाओ भनेको सुनिन्थ्यो। छापामारहरू सलहझै पसेर नजिक नजिक आई पुगेका थिए। करिब एक घण्टामा हाम्रो साथका गोलीगठ्ठा सकिन थाले। मैले नजिकै भएको माईन को स्वीच अन गरिदिएँ। झड्याम्म गरेर ठूलो आवाजका साथ माइनबम पड्कियो। केहि छापामारहरू त्यसैमा परे।म ट्रेञ्चबाट निस्केर दौडदै गएर गृनेडको बाकस बोकेर फर्कदै थिएँ। एउटा सकेटबम आएर मेरो हातमा पड्कियो मेरो एउटाहातका औलाहरु उछिट्टीएर कता पुगे कता।हातको डुडुलो मात्र बाँकी रह्यो। रगत रोकिएन र म जमिनमा सुतेर कुहिना टेकेर हातलाई टाउको भन्दा माथि पारे। 
ययाती आत्तिदै ट्रेञ्चबाट निस्केर आयो र मलाई घिसारेर बंकरमा लानखोज्यो। मैले गृनेडको बाकस लिएर जा भने। उसले बाकस उठाउन निहुरेको थियो पछाडिबाट गोलीले छेडेर अगाडि छाती भत्काएर गयो।दाइ मलाईपनि गोली लाग्यो भनेर डङ्ग्रङ्ग मै माथि ढल्यो। 
मैले एक हातले आफ्नो कपडा च्यातेर उसको रगत थमाउनखोजे।तर उसले मलाईनै थिचिराखेकोले असफल भएँ।हामी दुवै जना घर परिवार सम्झेर खुव रौयौँ, उसले सासले फुस्फुसाउदै अन्तिम कुरा भन्यो। दाजु म गायत्रीसंग एकरात पनि ....। ऊ हिमालको मूल जत्तिकै पवित्र छ दाजु। विहेको रात भान्छाखालमै निदाएँ घरभरि पाहुना थिए भोलीपल्ट हिँडीहाले दाजु तपाई बाँच्नु भयोभने त्यो एक चिम्टी कृतिम सिन्दूर पखालेर मेरो नाममा त्यो पूर्ण जवानी अर्पण नगर्नु भनि दिनुहोला म त अऽ ब आऽ ऽमा ....गा ...ऽऽ य ...ऽऽ त्री ... भनेर प्राण छोड्यो। मैलेपनि बाँच्ने आशा मारी सकेको थिएँ।छापामारहरु पसि सकेका थिए। 
ययातीको शबअररीदै आयो।हिउँले हामीलाई पुर्दै थियो। फ्याट्ट फुट्ट गोलीका आवाज सुनिदै थियो। रेडीयो अप्रेटरलाई मार्दै गरेको मैले देखे। गोली भन्दा खुर्पा खुकुरी का छ्याक्छ्याक् आवाज आएपछि हाम्रो हार भैसकेको संकेत भयो।गोली खर्च नगर कामरेड हो जिवित जतिलाई छप्काएर मार भन्ने आदेश सुने। म पनि ययातीको लाश मुनी मरेको अभिनय गर्दै थिएँ।मर्न कति गाह्रो थियो कसैले भनेन तर मरेको अभिनय गर्न जस्तो गारोकाम संसारमा आर्को लागेन मलाई।हल्लाहरु चलिरहेको थियो मलाई रक्त अल्पता हुदै गयोर सबै कुरा कता कता सपना जस्तो भयो त्यसपछि केहि थाहा भएन। 
भोली पल्ट विहान कता कता हेलिकप्टरको आवाज सुनेजस्तो लागेर होस खुल्यो।पानी प्यासले आत जलेको रहेछ।पानी थिएन घस्रेर भान्छानेर पुगे थालमा भाँडा माझ्ने गरेको मैलो खरानी पानी रहेछ त्यहिँभए पनि पिउछुँ भनेर पशुले झै मुख गाड्न लागेको कसैले कृष्णकान्त भनेर पछाडिबाट बोलायो।ला छापामारले मेरो नामप्लेट पढेछ अब मार्छ भनेर फेरी लथ्रक्कै ज्यान छाडेर सास रोके। उसले म अनिल हो नेपालगञ्जबाट हेलिकप्टर लिएर आएका छौँ नडराउ अब केहि हुन्न किन यस्तो पानी खान लागेको भनेर काखमा लिएर आफ्नो तुम्लेटको पानी पिलायो मलाई साक्षात भगवान को दर्शन पाए जस्तो भयो। उसले मलाई बोकेर हेलिकप्टरमा लगेर राख्यो । हेलिकप्टरमा पाईलटहरुले कुरा गरे अनुसार म बाहेक सबै अधिकृत देखि जवानसम्मका व्यक्तिले विरगति प्राप्त गरिसकेका रहेछन जिबित भएकाहरुलाइ पनि काटेर र जिउदै जलाएर मारेकाले डढेका लाशका टुक्राहरु हेलीकप्टरमा हाल्दै थिए। 
मलाई काठमाण्डौ लगेर उपचार गरेपछि ठीक भएर आफ्नै पल्टनमा फर्के पछि अफिसमा काम गर्न थाले त्यहिबेला गायत्री र युयुत्सुसंग भेट भयो आमा।' त्यति भन्दै थिएँ ती बूढीआमाले ए मेरो बाबु ... भन्दै डाको छोडेर मलाई अंगालो हालीन्। 
हामी सबै रेयौँ गायत्रीले आँचलले आँखा र नाक पुछिन्। अनि एक छिन रोकिएर भन्न थालिन्।'हजुरले मलाई पुनर्विवाहको सल्लाह दिदा त्योपनि आफ्नै देवरसंग त्यो सुनेर शुरुमा मैले हजुरलाई कस्तो पागल मान्छे हो यो भन्ने सोचे।तर जति पछि भयो उति हजुरका वाणीहरु कानमा गुञ्जीई रहे।अविराले घरजम गर्नु पाप होईन पुण्य हो भन्ने हजुरको वाणी र यस बिषयमा धेरै समय लगाएर निधार खुम्चाएर सोच र निर्णय गर भनेको हुँदा जति पछि भयो उति हजुर पागलबाट असलमान्छे ,असलबाट ज्ञानीमान्छे ठान्न थाले। जव हिँड्ने वेलामा भन्नुभयो सरकारबाट प्राप्त रकम आफ्नो खातामा राखेर सदुपयोग गर्नु भनेर बसमा पनि त्यहि सोचिरहे।यो भगवानले होईन पुरुष शासकले चलाएको प्रथा हो भन्ने उपदेशनै मलाई सद्मार्ग लाग्यो तर उहाँ डराउनु भयो। 
हजुरको सुझाव सुनाए निद्रा र डर जति बढायो उति बढ्दै जान्छ। आमूल परिवर्तनका लागि डरलाई हटाउनै पर्छ। अन्तमा उहाँले पनि पानीको भुल्का त होनी जीवन एउटा विलाउछ आर्को निस्कन्छ भनेर संसारको वृक्षको बिउ केबल स्त्री हो भने पवित्र नारीलाई स्वीकार्नु पाप होईन तर अर्जुनले कुन्तिको अनुमतिले द्रौपदी बाडे जस्तै म पनि माता पिताको स्वीकृति चाहन्छु भन्नु भयो। 
शुरुमा त कुरा सुन्दैमा सबैले कान थुने। तर पेनशन पट्टा र सबै रकम मेरो नाममा भएपछि गाउँ समाज बसेर छलफल भयो बिरोधका गाली र समर्थनका ताली बराबर पाईयो।नौलोकाम गर्दा बिरोधको सामना त गर्नै पर्छ नत्र त गोल चक्रमै घुमीन्छ ईच्छालाई दबायो भने मन खरानी हुन्छ भनेर हजुरले सिकाएका कुराले सबैको मन जिते। 
आखिरमा जुन आगोले पोलेको थियो त्यसैले डाहा मार्यो दाइ । वाई सि एल हरुले नै हाम्रो विवाह सम्पन्न गराई दिए। बिरोध गर्नेका मुखमा बन्दूक राखेर भएपनि चुप गराई दिए। मलाई त्यति बेला टाढाको देवता भन्दा नजिकको भूत कामलाग्ने रहेछ जस्तो लाग्यो दाइ। 
त्यसैले अब अर्काकी पत्नी भै सकेपछि यो पेन्शन लिनु पापहो भनेर उहाँको दूधको भारा कटियोस भनेर पेन्शन आमाको नाममा नामसारी गर्न आएका दाइ शौभाग्यले हजुरसंगपनि भेट भयो'। 
उनका त्यति कुरा सुनेपछि मैले भने 'परिस्थितिले दिएको ज्ञानलाई स्वच्छ आत्माले स्वीकार गरेपछि माटोको घैला जस्तो जीवनले सिद्धि पाउछ वहिनी।त्यसैले त आत्मलाई दमन गर्नु पाप हो भनेको थिएँ।तिमीहरुको दाम्पत्य जीवनले सफलताको शिखर पार गरोस यहि मेरो शुभकामना छ। 

महादेव अधिकारी 
बूढानीलकण्ठ काठमाण्डौँ

गजल~ लोभिदेख्छु नजर तिम्रो ७७

गजल

निपूर्ण छौ तिमी भनि  कसरी पो छान्ने मैले 
संसारकै उत्तम मान्छे कसरी पो मान्ने मैले! 
,
लोभी देख्छु  तिम्रो नजर    झनै देख्छु तिर्खाएको 
युक्त छ रे बत्तिस लक्षण  कसरी पो ठान्ने मैले! 
,
शिर देखि पाऊ सम्म     देख्छु ठुलै घरानाको 
घमण्डी पो छ कि मन   कसरी पो जान्ने मैले ! 
,
कुरा काट्छ  समाजले  सोधिखोजी  गर्न थाले  
कुलतमा फसे फेरी      कसरी  पो तान्ने  मैले! 
,
हत्कडी र पासो बनाइ    लाए पछी चुरा पोते   
नमिले'सी मन हाम्रो    कसरि पो धान्ने मैले !
,
कल्पना भावुक
काठमाडौँ
हाल; इजरायल