Social Icons

कथा ८


म तेस्तै ११ बर्षकी थिएँ ! बाबा आमाले बसिबियालोको लागि सानो सानो किराना पसल घरमै राख्नु भएको थियो ! जाडोको मौसम पारेर आमाले बिहान बेलुका चिया पनि बनाउनु हुन्थ्यो ! त्यहाँ सामान बेच्ने भन्दा पनि बढी तासको खेल चल्थ्यो! तास खेल्नेहरुले नै चियाको चुस्की धेरै लिने हुँदा पसल राम्रै संग चलेको थियो ! तास खेल्नेहरुमा बुढापाकाहरु नै धेरै थिए त्यसमा पनि मेरो बुबा त नम्बर एक मै पर्नु हुन्थ्यो ! म घरकी सबै भन्दा सानी सदस्य (कान्छी छोरी) !मलाई सानोतिनो काम पालैपालो सबैले अर्हाउने गर्थे,यानेकि म सबैका लागि सजिली रिमोट थिएँ!

           कार्तिक कै बेला हुनु पर्छ! बर्षायामको पसिनाको फल पहेलपुर् भएर खेतबारीमा झुल्दा मेहेनती अनुहारहरु खुशिले गद गद भएर हर्षउल्लासका साथ बिजइ घोषित गर्दै थिय ! हुन पनि किसानलाई त्यो भन्दा ठुलो पुरस्कार के हुन सक्छ र मानो रोपेर मुरी उब्जदै छ अनि वर्षाको भेल संगै बगेका पसिनाका थोपाहरु सुनिला रंगमा रंगिन सफल भएको छ !कोहि धान काट्ने कोहि ओसार्ने कोहि कुनिउ लगाउने कामले कसैलाई फुर्सद थिएन ! भनौ मलाई पनि फुर्सद नै थिएन ! कान्छी खेतमा खाजा पुर्याउन जा है खेतालाहरु भोकाइ सके ,कुनिउ लाउनेहरुलाई चिया लिएर जाजा, पसलमा तास खेल्नेहरुलाई सलाई देन चुरोट खान पर्यो रे, ति बाख्रालाई घाँस हलिदेन भोकले कराई रहेछन, भैसीलाइ पानी खुवाउन लानु पर्ने ,उ साथीहरुले गाईबस्तु खोलेर ल्याएछन बेला गइ सक्यो......यस्तै यस्तै कामहरु हजुरमा देखि लिएर घरका सबै सदस्यले मलाई रिमोट सम्झेर अह्राउन  ! सानी थिएँ सबैकि सजिली थिएँ भ्यासम्म गर्थें पनि ! ठुला मान्छे ठुलै काममा व्यस्त हुने हुँदा म नै थिएँ सबैका लागि एक मात्र रिमोट जसलाई जता मन लाग्यो उतै घुमाउन सजिलो सामग्री ! ठुला मान्छेले साना मान्छेलाई अह्राउन कति सजिलो छ है हाम्रो समाजमा ?

            एक दिन हाम्रो घरमा धानको दाइं हाल्ने धमाधम थियो! घरका सदस्य आआफ्नै तालमा आआफ्नो काम गर्न व्यस्त थिए! मेरो भागमा दाइमा गोरु धपाउने परेको थियो ! बिहान देखि गोरुका पछिपछी हिड्दा गलेर भुतुक्क भै सकेकी म साँझको पाच बजिसक्दा पनि दाइ सकिएकै थिएन! एकोहोरो बाटो हिड्ने हो भने निक्कै लामो यात्रा थकित यात्री हुने थिएं  म   तर पनि त्यो  काम काम मै गनिदैनथ्यो! जून काम सानामान्छेले गर्छन ठुलाका लागि त्यो काम नै नहुने रहेछ उफ्फ़ .... आगन भरि सुकुल ओछ्याईएको थियो ! सबै बुढापाकाहरु तासमा मस्त थिए ! आमाले कल बाट पानी ल्याउन अर्हाउनु भयो ! म पनि चुपलागेर गाग्री बोकेर आगनमा गएँ र पानी भर्न थालें ! दिनभरिको गोरु धपाईले गलेर भुतुक्क भएकि म यति पानी लगेर खाना खान्छु र सुत्छु भनेर सोच्दै गाग्री बोकेर अघि बढें ! ख्यालै गरिनछु जुंगे (दर्जी) दाइ बसेकै सुकुल टेकेर पानी बोकेर गएछु ! माथि पानी पुर्याएर राख्न पनि भ्याएकी थिइन सिर्कनो सवाट पिडुलामा बर्सिदा तोरीका फूल देखे मैले! बिजुली चम्केको आभास भयो !यसो पछाडी फर्खेर हेरेको त त्यहाँ दमाइ बसेको देखिनस? तेही सुकुल टेकेर हिड्नु पर्छ ? भनेर बुबाले कडकिदा पो बल्ल मैले थाहा पाएँ म किन कुटाइ खाँदैछु भनेर !

           ति जुंगे दाइले सुनेर के सोचे होला ? उनि पनि त मान्छे नै हुन् नि, मेरो मनले यस्तै भन्न थाल्यो! सबै खाना खाएर सुत्न गए आमा भने मैले नखादा निक्कै दुखि भएर मलाई सम्झाई रहनु भएको थियो! आमाको मन न हो छोराछोरी भोकै बसेको कहाँ देख्न सक्छ र ! म निक्कै जिद्दी थिएँ मैले खान मानिन र भोकै सुतें !निन्द्रा परेन मनमा एककिसिमको सोचले गाजिरह्यो ! अस्ति म उनका घरमा लुगा लिन जाँदा भाउजुले मलाई चिया र पाउरोटी खाने भनेर सोधिन र खाएकी पनि थिएँ! यो कुरा बुबाले थाहा पाउनु भयो भने? मेरी स्कुलकी साथी पनि हाम्रो समाजको नजरमा सानै जातकी हो, उ संग त जुठो पनि चल्छ मेरो , मैले कति पटक उसका घरमा खाना खाएकिछु, उ मेरी मिल्ने साथी म उसलाई म जस्तै देख्छु उसको र मेरो सरिर पनि उस्तै छ मात्र म भन्दा अलिक मोटि छ! उ र म बिचको फरक भनेको ओजनमा दुइ चार किलो तल माथि हौला बस... तिनै जुंगे दाइले सिलाएको लुगा हाम्रा बाबाले पनि लाउछन, आमा पनि तिनै लुगा लगाएर खाना पकाउनु हुन्छ मैले के गल्ति गरे? म आधा रातसम्म सुतिन यस्तै के के सोचिरहें खै कति बेला निधाएं थाहा छैन !

            जुगे दाइका बारीमा रायोको साग लह लह थियो! आमाले जुगेनी भाउजुलाई सागको कुरा गर्नु भएको रहेछ भोलिपल्ट मलाई साग लिन पठाइयो ! तिनै दाइका बारीमा फलेको साग पकाएर आमाले सबैलाई खाना खान बोलाउनु भयो! सबै खान बसेकै बेला मैले भने त्यो साग त सुँगुरको खोर छेउमा लिदी भएको ठाउबाट टिपेर दिनु भएको हो भाउजुले ! साग टिप्दा भाउजुले सुँगुर पनि छुनु भएको थियो त्यो सागले त सुँगुर पनि छोएको छ म हिजोको रिष पोख्न थालें ! बुबाले नकराइकन भात खान आदेश दिनु भयो ! ठण्डीको बेलामा भेटेको रायोको साग कतिमिठो मानेर भात संग बुजा हाल्दै थिए  सबैजना तर म चुप भइन ! हिजोको कुटाइले मेरो दिल धेरै दुखेको थियो त्यसैले म  बोल्न थालें! उनीहरुले सिलाको लुगा लाउन हुने,बारीको साग खान हुने ,संगै बस्न बोल्न हुने छोएको खान किन नहुने? मलाई किन पिट्नु भएको ? म ठुली भएपछी दमाइ संगै बिहे गर्छु अनि बल्ल ठिक्क हुन्छ भनेर मुख चलाउन लागें ! बुबाले फेरिपनि मलाई थप्पड लाउनु भयो त्यसपछि म आँशुका ढिका बर्बरी झार्दै बिना अवाज रुना थालें  ! त्यो ठुलो हातको झापड यो सानो गलामा पांच औलाको छाप र दुखाइ दिलसम्म पुगेको थियो ! मलाई त्यो दिन एउटा सोचाइ आयो यो सोच बाट इनिहरुलाई बाहिर निकालेरै छाड्छु केहि थोरै भएपनि परिवर्तन गरेरै छाड्छु !

           छुवाछुतको पर्खाल मैले यसरि भत्काएं कि   मेरा अलिक टाढाका साथीहरुलाई अरु नै जातको हौँ भन है भनेर घरमा ल्याउने संगै खाने र संगै  सुत्ने गर्न थालें! त्यो कुरा कसैलाई पनि थाहा भएँन ! म भित्र भित्रै खुशी हुन्थें र जुन बेला उहाहरुले थाहा पाउनु भयो त्यो बेला म ठुली भैसकेकी थिएँ! छोएको नखाएपनि घरमा पस्न र बस्न छुट दिन थालेका थिए !जो होचो उसका मुखमा घोचो भने झैँ मान्छेले आफु भित्र भएको रिषको आवेग पोख्ने ठाउँ सानै मान्छे हुँदो रहेछ यो पाठ पनि मैले तेही बेला सिके !

         रुढिबादी समाजका पुराना मान्छेमा अझै पनि यो भ्रम छदै छ! सानो जातले छोएको खान हुन्न  बिवाह गर्न हुन्न भनेर !मेरो घरमा आफ्नै नाता भित्रका मेरा दाइले तिनै सानो जातकी भाउजु ल्याउदा दाइको घरपरिवारमा निक्कै ठुलो रडाको मच्चिएको थियो! घर बाट उनिहरुलाई निकालिएको थियो ! दशैँ तिहारमा पनि दाजु भाउजु एक्लै भएका थिए! मलाई यो देखेर साह्रै नरमाइलो लागिरहन्थ्यो! ति भाउजुको बोलि ब्यबहार कति मिठो थियो तर सबैले सानो जातकी भनेर हेला गर्थे! म उहाहरूकैमा दशैको टिका थाप्न जान्थे तिहारमा दुबो र तेलले छेकेर दाजु भाउजुलाई टिका लागाइदिंथे भाउजु मलाई देखेर खुशी हुनुहुन्थ्यो र म वहाको खुशी देखेर आनन्दित हुन्थे ! तिनै भाउजु हुन् जसले मलाई आफ्नो खुट्टामा आफै उभिन सिकाएकी छिन ! आत्मनिर्भर हुन सहायोग  गरेकी छिन!

         मेरी भाउजु आज  दुवै किड्नी फेल भएर नाजुक अवस्थामा छिन ! किड्नी tranesfar गर्नु पर्ने अवस्था आएको छ! मैले गर्ने सहयोग त छदै छ तर तिम्रो यो अवस्था सुनेर म धेरै दुखि छु भाउजु !

        म हरेक दिन भगवान संग प्राथना गर्छु यति राम्रो मन र बिचार भएकी मेरी भाउजुलाई अझै बाच्न देउ  भगवान!  लान्छौ भने त्यस्ता खराब मान्छेलाई लैजाउ जो समाजमा  घमण्ड र अहंकारले  ठुलो हुँभन्ने  भ्रम फिजाएर गरिब र असहाय प्रति अन्याय गरिरहेका छन् !

       घरपरिवारले जस्तो दृस्टीकोण बाट हेरे पनि जुन दर्जामा राखे पनि मेरो हरेक खुशीमा रमाउने मेरी भाउजु आज पनि तिमीलाई म धेरै सम्मान गर्छु र सम्झिरहन्छु ! जब मलाई भाउजुको याद आउछ महाकवी लक्ष्मीप्रसाद देबकोटाको याद आउँछ !
क्षेत्रीको छोरो त्यो पाउ छुन्छ घिनले छुदैन 
मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन !!
कल्पना भावुक
इजरायल !

No comments:

Post a Comment