Social Icons

ओइलिएको पात देख्यौ ७१

गजल
दिप बनि आएको थें अँधेरी त्यो रात देख्यौ
पलाउँन  खोजेको थें ओइलिएको पात देख्यौ|
,
ग्रहण थियो दाग संझी लत्याएर सितल जून
सामाजको नजरबाट मलाई सानो जात देख्यौ|
,
माया पनि ऐंचो पैचो हुँदो रैछ कलियुगमा
एकै मुस्कान अनुरोधको पर्न जाने घात देख्यौ|
,
निस्ठुरी कै नाम पाउँने गल्ति मेरो ठुलो रैछ
प्रित भित्र खाको कसम बैमनिको लात देख्यौ|
,
बिछोडमा दुवै मन टुक्रीदिन्छ जान्दाजान्दै
ज्यानै दिन तयार हुँदा अबिस्वासी साथ देख्यौ|
,
कल्पना भाबुक
काठमाडौँ|

अतित बल्झेर दुख्दा,७०

गजल

फेरी  त्यो अतित  बल्झेर  दुख्दा,
मिल्थ्यो की मुक्ति यो प्राण छुट्दा 
,
खड्किन्छ मुटु भड्किन्छ पाइला
गालाका  डिलमा  यी आँशु  सुक्दा
,
पश्चाताप गर्दै जिन्दगी बित्यो  
रहर  नपुगी  यो  बैंस  लुक्दा
,
कोपिला बसी फुल्न मन लाग्छ,
फलेको  हाँगो  बेसरी  झुक्दा
,
न पाउँन सके  सफल  जीवन ,
आजिबन तिम्रो मुर्तिलाई पुज्दा
,
लाडिन्छ  पन  ममता  सँगै
बाल्यावस्थामा यो  मन  पुग्दा !
, 
कल्पना भाबुक 
काठमाडौँ 
हाल इजराएल 

कथा

पढनै पर्ने कथा

by 
शशांक लामा, न्युयोर्क
जब म त्यस रात घर पुगेँ, मेरी श्रीमती खान पस्किन तरखर गर्दै थिइन् | तिनको हात समात्दै मैले भनें: "तिमिसित एउटा कुरा गर्नु छ्"| तिनी बसिन र चुपचाप खान थालिन् | मैले तिनको आँखामा उदासीपन महसुस गरें | अचानक मेरो वाक्य बन्द भयो | तर जे कुरा मैले धेरै दिनदेखि सोचिरहेको थिएँ, त्यो भन्न जरुरी थियो - म तिनिसँग सम्बन्ध बिच्छेद गर्न गैरहेको थिएँ | मैले आफ्नो कुरा संयमका साथ राखेँ | मेरो कुराबाट तिनी बिस्मयचकित् भएको पाइन, बरु नम्र भएर सोधी: किन? मैले तिनको प्रश्नलाई टार्न खोजेँ | तिनी रिसाइन र चप्स्टिक हुर्याएर मलाई 'नामर्द' भन्दै चिच्याइन | त्यस रात हामी दुवैबिच कुराकानी भएन,तिनी रुइरहेकी थिइन् | हाम्रो बैबाहिक सम्बन्धमा के त्यस्तो खोट देखापर्‍यो भन्ने कुरा तिनले जान्न चाहनु स्वभाविकै कुरो हो | तर मसंग तिनलाई दिने त्यस्तो सन्तोषजनक जवाफ थिएन | जेन भन्ने महिलाले मेरो हृदय जितिसकेको थियो र मैले मेरो श्रीमतीलाई माया गर्न छोडिसकेको थिएँ | तिनिप्रति दया जागेर आयो |

गह्रुगो अपराधबोधकासाथ मैले एउटा सम्बन्ध्-बिच्छेदको सम्झौता पत्र तयार पारेँ, जसानुसार हाम्रो घर, गाडी र मेरो कम्पनीको ३०% शेयरमा तिनलाई हकदार बनाएँ | तिनले त्यो सम्झौता-पत्रमा एक नजर दिइन र फाडेर च्यातच्युत पारीन | दश दश बर्षसम्म एउटै छानामुनी बसेकी ती महिला अब अजनवी भैसकेको थियो |यस घरमा आएर तिनको आफ्नो समय, शिप, शक्ति र यौवन बित्थामा खेर गएकोमा म अत्यन्तै दुखित थिएँ| तर मैले जे निर्णय गरेँ, त्यसबाट पनि म बिमुख उन चहिरहेको थिइन, कारण म जेनलाई असाध्यै माया गर्थेँ | अन्तत मैले अपेक्षा गरे अनुरुप तिनी डाँको छोडेर रुन थालिन् |साँच्चै भन्नु हो भने तिनको रुवाइले मलाई केही सान्त्वना दिलायो | अनि धरै दिनदेखि मनमा सँगालिराखेको सम्बन्ध्-बिच्छेद गर्ने बिचार अहिले आएर ठोस् र स्पष्ट भएजस्तो लाग्यो |

अर्को दिन जब म राती अबेर घर पुगेँ, तिनी टेबलमाथि केही लेखिरहेकी थिइन | मैले बेलुकीको खाना खाएको थिइन, तर त्यसदिन जेनसंग गजब रमाइलो दिन बिताएकोले गर्दा म थकित थिएँ र सिधै ओछ्यानमा गएर पल्टेँ | जब म बिउँझे, तिनी अझै लेख्दै थिइन | मैले वास्ता गरिन र अर्कोतर्फ फर्केर फेरी सुतेँ | भोलिपल्ट तिनले सम्बन्ध्-बिच्छेदका शर्तहरु मेरो सामु तेर्स्याइन- सम्बन्ध्-बिच्छेद गर्नुअघि १ महिनाको अग्रिम सुचना दिनुपर्ने बाहेक तिनले म बाट कुनै हकदावी गरिन | त्यो एक महिनाभित्र हामी दुवैले सकेसम्म सँधैको जस्तो पारिवारिक माहौल कायम गराउनु पर्ने तिनको अनुरोध थियो, कारण १ महिनापछि हाम्रो छोराको जांच थियो र हाम्रो तनावपुर्ण सम्बन्धले उसलाई नराम्रो असर नपरोस भन्ने तिनको चाहना थियो | यो बाहेक तिनको एउटा अनौठो शर्त थियो: हाम्रो बिहे भएको बेला कसरी मैले तिनलाई बोकेर सुहागरात मनाउने कोठामा लगेको थिएँ,त्यो सँस्मरण गर्न भनिएको थियो| अनि त्यो एक महिनाभरी बिहेताका झैँ तिनलाई शयन कक्षबाट घरको बाहिरी ढोकासम्म बोकेर लानुपर्ने तिनको अनुरोध थियो| कतै पगली त भइनन् ?! एकछिन त म अकमक परेँ | हाम्रा अन्तिम दिनहरु राम्ररी बितोस भन्नाका खातिर मैले तिनको अनौठो प्रस्ताव स्वीकार गरेँ | मैले जेनलाई मेरी श्रीमतीको शर्तहरुबारे बताउँदा तिनी जोडले हांसेर तिरस्कार गर्दै भनेकी थिइन: जस्तोसुकै चलाखी अपनाए पनि त्यल्ले सम्बन्ध्-बिच्छेद नगरि धरै पाउँदिन |

हाम्रो सम्बन्ध्-बिच्छेदको कुरो भएदेखी श्रीमती र म बिच शारिरीक सम्बन्ध भएको थिएन | उनको अनुरोध बमोजिम पहिलो दिन जब मैले तिनलाई बोकेँ, हामी दुवैलाई कस्तो कस्तो अप्ठ्यारो महसुस भएको थियो | ड्याडिले मम्मीलाइ बोक्नुभयो भनेर छोरो हाम्रो पछाडि ताली पिटदै थियो | छोराले त्यसो भन्दा मैले नजानिन्दो पिडा महसुस गरेँ | श्रीमतीलाई बोकेर शयन्-कक्षदेखी बैठक कोठा हुँदै मुलढोकासम्म करीब १० मिटर म हिँडे हुँला | मैले तिनलाई बोकिरहेको बेलामा तिनले आँखा बन्द गरेर मधुर स्वरमा भनिन: हाम्रो सम्बन्ध-बिच्छेदबारे छोरालाई नभन है | मैले दुखी भएर स्वीकृतिसुचक टाउको हल्लाएँ | तिनी काममा जान बस बिसौनितिर लागिन भने,म एक्लै गाडी हाँकेर अफिस गएँ |दोस्रो दिनको बोकाइमा हामी दुवैले केही सजिलो अनुभव गर्यौँ, तिनले टाउको मेरो छातीमाथि राखिन, तिनको ब्लाउजबाट मिठो अत्तरको सुगन्ध आइरहेको थियो| तिनको मुहारलाई राम्ररी नियालेर हेरेँ,तिनी अब पहिले जस्तो जवान थिइनन,निधार र आँखाका छेउछाउ हल्का चाउरीहरु देखेँ, केश पनि कहीं कहीँ फुलेको थियो|वैवाहिक जीवनले नै तिनलाई यस्तो तुल्याएको थियो|म आँफैले पो तिनलाई वास्ता नगरेको निकै भएछ |

चौथो दिन जब मैले तिनलाई बोकेँ, एक किसिमको आत्मियता मैले महसुस गरेँ | यिनी तिनै महिला थिइन,जसले बिगत दश बर्षादेखी मलाई साथ दिँदै आएकी थिइन | पाँचौ र छैठौँ दिन पनि त्यो आत्मियता झन झन प्रगाढ हुँदै गएको मैले पाएँ | जती जती समय बित्दै गयो, तिनलाई बोक्न झन झन सजिलो हुँदै गयो | शायद प्रत्येक दिनको बोकाइले म बलियो पो हुँदै गएँ की ! एक बिहान तिनी लुगा छान्दै थिइन,चार पाँच चोटि लुगा फेरिसकेपछी लामो सुस्केरा हालेर भनिन: मेरा सबै लुगाहरु खुकुलो भैसके, कुनैपनि जीउमा मिल्दैन | मैले ध्यान दिएर तिनलाई हेरेँ, कस्ती दुब्ली भईछे, त्यसैले पो होला मलाई बोक्न सजिलो भएको ! आफ्नो मनभित्र अथाह् पीडा, ब्यथालाई लुकाएर तिनी बाँचेकी रहिछिन भन्ने कुराले मलाई अत्यधिक पीडाबोध भयो | एकाएक अर्धचेतनमा मैले तिनको शिर छोएँ | त्यति नै बेला छोरो करायो: मम्मीलाइ बोकेर बाहिर लाने बेला भएन र? उसको बाबुले आमालाई बोक्ने काम दिनचर्या जस्तो ठानिसकेको थियो मेरो छोरोले | मेरी श्रीमतीले छोरोलाई नजिक आउन साउती गरिन र बेस्कन अंगालो हालिन | आफ्नो अडानमा बिचलन नआओस भन्ना खातिर मैले टाउको अन्तै मोडेँ | शयन-कक्ष, बैठक कोठा, हलवे हुँदै म श्रीमतीलाइ बोकेर पाइला चाल्दै थिएँ, तिनको हातहरु मेरो घाँटिमा आरामसंग बेरिएका थिए,हाम्रो विवाह् अवसरमा झै मैले तिनको शरीरलाई बेस्मारी च्यापेको थिएँ |

तिनको हलुँगो वजन देखेर म चिन्तित थिएँ | अन्तिम दिन जब मैले तिनलाई बोकेँ,किन किन मैले पाइला चाल्न सकिरहेको थिइन | छोरो स्कुल गैसकेको थियो | मैले तिनलाई बेस्मारी च्यापेर भनेँ: हामी दुई बीचको आत्मीय सम्बन्धमा कमी भएको त मलाई हेक्कै भएन | म काममा हिँडे,अफिस पुगेपछी गाडीमा चाबी नै नलगाइ सरासर उक्लेँ | केही बेरको ढिलाइले मेरो मन परिवर्तन होला भन्ने मलाई डर थियो | माथ्लो तल्लामा उक्लेपछी जेनले ढोका खोली दिइन | आफु सम्बन्ध-बिच्छेद नगर्ने निर्णयमा पुगेको कुरा जेनलाई बताएँ | जेनले छक्क परेर मतिर हेरिन र मेरो निधार छामिन | तिमीलाई जरो आएको छ ? तिनले सोधिन | निधारबाट तिनको हात हटाउँदै मैले फेरी दोहोर्याएँ: म सम्बन्ध-बिच्छेद नगर्ने भएँ, हाम्रो वैवाहिक जीवन यसरी रसहीन हुनाको कारण हामीले एकार्कालाई माया नगरेर भएको होइन रहेछ,जिन्दगीका झिना मसिना कुराहरुलाई महत्वहीन ठानेकाले नै यस्तो भएको रहेछ | विहेको अवसरमा मेरी श्रीमतीलाई मैले बोकेर घरभित्र भित्र्याए झै जिन्दगीको अन्तिम क्षणसम्म पनि त्यही भावना राख्नु पर्ने रहेछ भनेर म अहिले महसुस गर्दैछु | जेन जुरुक्क उठिन,बेस्कन मेरो गाला चडकाएर ढोका ड्याम्म थुनेर डाँको छोडेर रुन थालिन | म गाडी चढेर घरतर्फ लागेँ | बाटोमा फुल पसलमा रोकिएर एउटा फुलको गुच्छा किन्न लाग्दा फुल पसल्नीले सोधी: कार्डमा के लेखिदिउँ? कार्ड तिनको हातबाट लिएर मैले मुस्काएर लेखेँ - जीवनको अन्तिम घडीसम्म प्रत्येक बिहान म तिमीलाई बोक्नेछु!!!

हातमा फुल, मुहारमा मुस्कान लिएर हतार हतार त्यस साँझ म घर पुगेँ | दगुर्दै भर्र्याङ् उक्लेँ | यसरी हतारिएको त मेरी श्रीमतीलाई मृतावस्थामा फेला पार्नु पो रहेछ | म जेनको प्रेममा यसरी डुबुल्किएको थिएँ कि मेरी श्रीमती महिनौँ देखी क्यान्सरको बिरामी भएको कुरो समेत मैले थाहा पाउन सकिन रहेछु | आफ्नो मृत्‍यु चाँडै नै हुँदैछ भन्ने कुरा तिनलाई थाहा रहेछ | हाम्रो सम्बन्ध्-बिच्छेद भैगएको भए त्यसको नकारात्मक असर छोरामा नपरोस र छोराको नजरमा म दोषी नदेखियोस भनेर मलाई बचाउन तिनले त्यसो गरेकी रहेछिन - फलस्वरुप छोराको नजरमा म मायालु लोग्ने हुन पुगेँ |जीवनका झिना-मसिना कुराहरु नै वैवाहिक सम्बन्धलाई टिकाउने खम्बाहरु हुन, न की भब्य महल, गाडी, जग्गा-जमीन र पैसा --यी चिजहरुले त केही टेवा दिने मात्र हो, मुख्य कडी यी होइनन!!!!

तसर्थ आफ्नो ब्यस्त दिनचर्याबाट केही समय निकालेर आफ्नो जीवनसाथीसंग आत्मीयता गाँसौ र जिन्दगीका झिना-मसिना ठानिएका कुराहरुलाई अंगालेर त हेरौँ ! यिनै महत्वहिन ठानिएका कुराहरुले नै वैवाहिक जीवन भत्किनबाट जोगाउँछ| सफलताको कारक तत्वहरुलाई पहिचान गर्न नसक्दा नै मानिसहरुले असफलता बेहोर्छ |

(घर सुन्दर छ भने न समाज पनि सुन्दर बन्छ भन्ने कुरालाई हृदयंगम गरी यो कथा पाठकहरु समक्ष प्रस्तुत गरेको छु | यो मेरो मौलिक लेख होइन, एउटा अज्ञात लेखकले समाजलाई माया गरी लेखेको कथा हो,फिक्सन पनि हुन सक्छ, सत्यकथामा आधारित पनि हुनसक्छ,जे भएपनि कथा मार्मिक छ, हामी बाँचेकै जिन्दगीको बर्णन छ | फेसबुक मार्फत प्रचार प्रसार गर्न अनुरोध गरिएको थियो | मौलिक लेख अंग्रेजिमा थियो र मैले नेपालीमा अनुवाद गर्ने जमर्को गरेको छु | कतिपय हरफहरुमा शब्दानुवाद् नगरि भावानुवाद् गरिएको छ्| मेरो यो अनुवादले कुनै नेपालीको भत्किन लागेको घरलाइ टेको दिन समर्थ भयो भने मैले गरेको कार्य सार्थक भएछ भनेर ठान्नेछु| पाठकहरुको प्रतिकृयाको अपेक्षा राख्दै.....)
शशांक लामा, न्युयोर्क
lama_sasang@yahoo.com

मुक्तकहरु ...

छेउको सियो माझतिर सर्नेछ एकदिन
गरिबको दु;ख् दर्द टर्नेछ एकदिन
बुद्ध जन्मिएको देश हरेस खान हुन्न
शान्ति  दिप जली क्रान्ति मर्नेछ एकदिन

एउटै गाउँमा बस्थ्यौँ हामी हाम्रो एउटै जात थियो
चिठ्ठी लेख्थे दिनमा एउटा दिने अर्कै हात थियो
तिम्रो बाटो हेरिकन मेरो जुनी बित्यो कान्छा
कम्जोर पारि मलाई मार्ने तिम्रो माया घात थियो
,,
सिंगै मुटु दिएको थे टुक्रा पार भन्यौ
दिल भित्र राखेको थे तल झार भन्यौ
समय त उस्तै रैछ मात्र तिमी फेरीएछौ
भेट हुदाँ बाच्ने इछ्या सबै मार भन्यौ
,,
समिपमा तिम्रो म छु देखेनौ नि कान्छा
बर्षौ टाढा हुदाँ चिठ्ठी लेखेनौ नि कान्छा
अमर नाता जीन्दगीको छुटाऊदिन भन्थ्यौ
एउटै थुँगा पिरतीको फेकेनौ नि कान्छा
,,
कल्पना गिरी (भाबुक)
काठमाडौँ हाल इजराएल

मुक्तक हरु

स्वर्ग जस्तो सुन्दर देश टुक्रा टुक्रा पार्ने भयौ
एकताको भावनालाई फेरी अब मार्ने भयौ
जाती जाती लड्न थाले बाँकि के पो रहला र
नेपाल यो नाम अब ईतिहासमा सार्ने भयौ
,,
घाम पानी छल्न मात्र सबैलाई छाता प्यारो
रगतको नाता भन्दा भावनाको साथ प्यारो
बिना स्वार्थ एकै पाईलो सर्दैन की जिन्दगीको
सबैलाई सधैँ लाग्छ माया दिने जात प्यारो
,,
तिमीले दिएका हरेक दु;ख सहन सक्छु म
जस्तो सुकै हालतमा पनि जिउँन सक्छु म
त्यो मनले मान्छ भने बिष बोकी आऊ
हाँसी हाँसी तिम्रो सामु पिउँन सक्छु म
,,
कल्पना गिरी (भाबुक)
काठमाडौँ
हाल (इजराएल)

गजल; ६९ नोटको कुरा नगर साथी|

हेर्दामा राम्रो बिष ओकल्ने बोटको कुरा नगर साथी|
फाटेका लुगा भोको छ पेट नोटको कुरा नगर साथी|
,
बल्छिको माछी हामी जनता नेताजी भए लागेको कर्द,
सत्तामा पुगी बन्सो उमार्ने भोटको कुरा नगर साथी|
,
बाटेको थिएँ मायाको डोरी चुडाए बरै दुस्मन लागी,
दुख्दैन छुँदा फाटेको मुटु चोटको कुरा नगर साथी|
,
गरीब माथी लाग्छ कानुन न्यायको घर बैरी भो आज,
ख्वाएर घुस पाएँ सजाय कोटको कुरा नगर साथी |
,
पैसाले किन्ने तिम्रो इज्जत मान्दैछौ जित संसार तिम्रो,
अपांग मन बाँचे छु मर्दै खोटको कुरा नगर साथी|
,
कल्पना भाबुक
काठमाडौँ

गजल ६८ भन्छ मलाई

गजल
स्वतन्त्र भै बाँच तिमी आकाशले भन्छ मलाई
उमंगका डाली भाँच सुवाशले भन्छ मलाई|
,
हिजो थियो आज हुन्छ भोलि पनि हुन्छ नै त्यो ,
बर्तमानमा जिई नाच आभासले भन्छ मलाई|
,
फर्कीएर स्वदेशमा चलाउनु छ खुर्पी डोको
त्यसैले त बल साँच प्रबाशले भन्छ मलाई|
,
अनमोल गहना हुन् भोगाइका पलहरु
आलस्यका पोथ्रा लाछ उदासले भन्छ मलाई !
~
कल्पना भाबुक
काठमाडौँ

गजल ६७ चोखो माया थियो मेरो

गजल**
चोखो माया थियो मेरो अनर्थ पो लाउँदैछौ रे
टोल बस्ति भेला गरी नानाभाती गाउँदैछौ रे !
~
उनको माया यो मुटुमा काँडा जस्तै बिझ्यो भनी
पागल बनि बेसी तिर शान्ति खोज्न धाउँदैछौ रे !
~
जे जे भयो जिन्दगीमा सबै दोष मलाई हाली
मृत्यु रोजी खोजि खोजि बिष पिउन बाउँदैछौ रे !
~
आक्रोसित हुँदै फेरी प्रतिसोधको भाब राखी
बादल बनि गर्जिएर मै माथि पो छाउँदैछौ रे !
~
त्यतिले नी नपुगेर सडक पेटी पछ्याउँदै
मार्छु अनि मर्छु भन्दै छुरा बोकी आउँदैछौ रे!
~
कल्पना भाबुक
काठमाडौँ

गजल ६६ बल्झिएर दुख्दा

गजल,

प्रजातान्त्रिक घाऊ आज बल्झिएर दुख्दा
इज्जत तिम्रो थाहा भयो दुनियाले थुक्दा !
,,
धर्म कर्म गर्न छाडी गिर खेल्छौ सधैँ
गोर्खाली नाम लोप होला हाम्रो शिर झुक्दा !
,,
सुस्ताउँदै बिरहमा रुन्छन मेची काली
हिमाल तराई दुखि रा'छ कर्मठ पाईला रुक्दा !
,,
अल्प बुद्धि अल्प ज्ञान सधैँ यस्तै भए
बल्ल थाहा पाउने छौ मानबता लुक्दा !
,,
केहि गर्न लागी पर भाषण मात्र हैन
भोलि सबै जोगी हुन्छौँ तिम्रो बोली चुक्दा !
,,
पुर्ब पश्चिम उत्तर दक्षिण भेद भाब राखे
कुलेलाम ठोक्नु पर्ला पराईले भुक्दा !
,,
कल्पना गिरी(भाबुक)
काठमाडौँ

गजल ६५ नया बर्ष

गजल **
सबै मनमा खुसियाली उमंगले छायो
दुख सुख सबै लिई नया बर्ष आयो |
,,
कतै बज्छ डिस्को डान्स लोक भाका पनि
खोया बिर्के रम सँगै फेद न टुप्पो गायो |
,,
आसिर्बाद बर्सी दिन्छ बृद्ध बाल सम्म
सुख शान्ति मिलोस् भनी ठुलै मुख बायो |
,,
मिस्टान्न थाली कतै नाना थरी भोजन
भोलिको दिन थाहा छैन खानु आजै खायो |
,,
प्याला सँगै चढ्छ नशा गुम्छ अनि होस
एकै छिनमा मन मिलाई चाउरे प्रिती लायो |
,,
"सुभकामना नयाँ बर्षको
कामना सबैमा हर्षको ,,
कल्पना भाबुक
काठमाडौँ

मुक्तक

मुक्तक
(१)
तिमी बिना जिन्दगी यो चल्दैन झैँ लाग्न थाल्यो
छाडि गए मनको दीप बल्दैन झैँ लाग्न थाल्यो
तिम्रै सम्झनामा चल्छ मुटुको यो धड्कन पनि
तिमी बिना अर्थी मेरो जल्दैन झैँ लाग्न थाल्यो |
(२)
आऊ प्रिय दुवै मिलि एउटा कसम खाउँ आज
हाम्रो माया अमर पार्ने मिठो गीत गाउँ आज
अग्निलाइ सांछी राखी बा आमालाई मनाएर
जीवन भरी नछुटिने अमर प्रित लाउँ आज |
(३)
नाम मात्र फरक हाम्रो तर जीवन दाता एउटै
घर मात्र फरक हाम्रो तर ओढ्ने छाता एउटै
भाषा फरक भेष फरक देश फरक भय पनि
टाउको देखि खुट्टा सम्म सबैको छ गाता एउटै|
(४)
केहि बर्ष टाढा हुँदा परिवेस बदलिएछ
पराई देशको संगतले मेरो भेष बदलिएछ
खान्छु उस्तै बोल्छु उस्तै नेपाल कै छोरी हुँ म
नसोच्नु है मैले टेक्ने आफ्नै देश बदलिएछ|
*
कल्पना भाबुक
काठमाडौँ
(हाल इजरायल)

गजल ६४ जवानीलाई

गजल
जे जे पर्ला बेहोरुंला  हेरीदेऊ यो जवानीलाई
नमेटिने रङग घसी केरीदेऊ यो जवानीलाई !
~~
अत्तर सरी   फैलिएर मोहिनी त्यो  पासो थापी
लिप्त कामुक बासनाले सेरीदेऊ यो जवानीलाई !
~~
उकुस मुकुस गुम्सिएका बैशालु इ तिष्णा सँगै
टाँसिएर   अंगालोमा बेरिदेऊ यो जवानीलाई !
~~
रुखो सुखो   मलजल  गरी उर्वरसिल   बनाएर
बसन्त त्यो ऋतु जस्तै फेरीदेऊ यो जवानीलाई!
~~
भुवा सरि उडी रा'छ उम्किएला यो मन कतै
पिरतिको बार हाली घेरिदेउ यो  जवानीलाई !
~~
कल्पना भाबुक
काठमाडौ
हाल; इजरायल

गजल ६३ अस्ताउन लागेको घाम

गजल
अस्ताउन लागेको घाम मैले अब डुब्नु पर्छ
स्वर्ग होस् या नर्क साथी मरेपछि पुग्नु पर्छ।
~
सृस्‍टिको यो नियम हो कैले आँशु कैले हाँसो
झरि बादल परे पछि इन्द्रेणीले लुक्नु पर्छ ।
~
लाग्न सक्छ सुख्खा यहाँ सिँच्नु पर्छ पौरखले
धर्तीमा बिज छरेपछी उम्रनलाई रुक्नु पर्छ ।
~
इमान बेची खान हुन्न नैतिज्ञवान भई बाँचौं
आखिर गल्ति गरे पछि बैरी सामु झुक्नु पर्छ ।
~
सत्यतामा हुन्छ माया झुटो खेति टिक्ने छैन
प्रेम बसाइ सरे पछि घाऊ नभई दुख्नु पर्छ ।
~
कल्पना भाबुक
काठमाडौं
हाल; इजरायल

गजल ६२ नाउँ छैन

के भनेर चिन्छौ मलाइ मेरो कुनै नाउँ छैन
घुमन्ते भै बित्यो जीवन बास बस्ने ठाउँ छैन।
~
न त छोड्न सके छाप न त कुनै इस्ट मित्र
बेवारिसे भा'छु आज उपमा त्यो गाउँ छैन।
~
चल्छ यहाँ नेताको नाम कि त हुनु पर्छ डाका
सभ्य मानब भई बस्दा त्यसको कुनै भाउ छैन।
~
कलि युग लागेको छ पशु देखि प्राणी सम्म
कोरलिन्छन चल्लाहरु खोजि गरे माउ छैन।
~
तस्करीको लामो ताँती दिनदहाडै अशुरक्षित
खोर भित्र जाकुँ भने समाउँने दाउ छैन।
~
निस्वार्थी छ आमा सब्द बोकी हिड्छिन लालाबाला
जात भने मनुसको छ खोजि गरे बाउ छैन ।
~
बल्झी बल्झी दुखि रैछ नेपाल आमा तिम्रो मुटु
खोक्रो पारे धमिराले देख्ने कुनै घाऊ छैन ।
~
कल्पना भाबुक
काठमाडौं
हाल ; इजरायल

मुक्तक

मुक्तक दोहोरी

 
केही दिन अघी कल्पना भाबुक जी को वालमा सवाल जवाफ गरिएका मुक्तक हरु संकलन गरी यहाँ हरु समक्ष बाँड्ने जमर्को गरें आज। ट्यागको सिमिततालाई बुझेर आफ्नो राय सुझाव राख्नु नै हुने छ भन्ने आशा लिएको छु। धन्यवाद सम्पूर्ण सर्जक मित्र हरुलाई।
*********************
मुक्तक दोहोरी
१,
टाउको माथि हात राखी चिन्ता कति गरौँ प्रिय
मुटु फोक्सो दुवै दुख्छन कुन पाटोमा सरौं प्रिय
जीवनकै टुङ्गो छैन गुनासोका खात धेरै
बिपती र झन्झटमा अझै कति परौं प्रिय|***कल्पना भाबुक
*
२,
पिर चिन्ता नगर भो जे जे पर्छ उही टर्छ
तिम्रो मुटु दुख्दा यहाँ मेरो छाती दुख्ने गर्छ
यात्रा तय गर्दै गर गर्दिन म गुनासो नि
आसुँ हैन हाँसोले नै जिन्दगीको दु:ख हर्छ!!!***गोविन्द भाबुक
*
३,
तिमी टाढा हुँदा खुशी मासेर नै जीवन बितोस
सप्रतिक्षामा जिन्दगीलाई राखेर नै जीवन बितोस
कस्तो यात्रा तय गर्नु सिंगै मुटु छोडी मैले
आँशु सँग जिन्दगी यो साटेर नै जीवन बितोस।***कल्पना भाबुक
*
४,
म बिनाको एक्लो जीवन कसो गरी काटौली खै
पीडा बोकी आफ्नै मनलाई कती दिन ढाँटौली खै
तिमी जहाँ म उँही छु साथ छुट्ने छैन कहिल्यै
आसुँ सँग जिन्दगी त्यो के संम्झेर साटौली खै!!***!गोविन्द भाबुक
*
५,
काट्नै पर्दो रैछ जीवन आफ्नै अंग छुटे पनि
आट्नै पर्दो रैछ यात्रा समयले कुटे पनि
कल्पनामा डुबी डुबी तिम्रै बाटो हेर्ने गर्छु
हास्नै पर्दो रैछ यहाँ सिंगै मुटु फुटे पनि|***कल्पना भाबुक
*
६,
टाढा बसी बेदनाका पोका नखोल भो
असह्य भो सुन्दा अझै त्यस्तो नबोल भो
यस्तै रैछ जिन्दगी यो प्रतिक्षामै दिन काटौं
निस्चल हाम्रो पिरतिमा आसुँ नघोल भो!!!***गोविन्द भाबुक
*
७,
टाढै बसी प्रियसीका कथाहरु सुन प्रिय
चाहेर नी तिम्रो हात सक्दिन म छुन प्रिय
सुनी हल्का गरी देउ यो मनको भारिलाइ
दिदैन कि समयले छिटै तिम्रो हुन प्रिय !!***कल्पना भाबुक
*
८,
लेख्न थाल्यौ बेदनाले भरिएका कथा फेरी
भो अब त नसुनाउ बल्झ्यो उही ब्यथा फेरी
कतिन्जेल चल्छ र खै तिमी वारी म पारी भै
एउटै मुटु छुटाउने कस्ले ल्यायो प्रथा फेरी!!!***गोविन्द भाबुक
*
९,
बन्द गरेँ दिलको खाता नदुखाउ मन अब
सकुसल छ कि छैन तिम्रो खबर भन अब
वारि पारि भए पनि भेट गर्ने बाटो खोजौ
छिटै मन मिलाउने हाम्रो दिन गन अब !!!***कल्पना भाबुक
*
१०,
दिलको खाता बन्द गर्छु भन्छौ र पो मन दुख्छ
हेर्दा ठिकै लाग्छ तर खै किन हो तन दुख्छ
भरोसाको त्यान्द्रो छोडें सृस्‍टि कर्ता उनैलाई
भाग्य भए भेट होला नत्र आफ्नो पन दुख्छ!!!***गोविन्द भाबुक
*****
गोविन्द अधिकारी
रचना; १२ मंसिर २०६८