Social Icons

गजल ११५ गरिब छ


गरिब छ 
दुर्गन्ध छ अफ्ठ्यारो छ बाटो गरिब छ
रुखो अनि  खडेरी छ  माटो  गरिब छ !

शिशिर छ र तुसारो छ छैन बसन्त
नफेरिने जिन्दगीको पाटो गरिब छ  !

गग्रेटो छ  गाग्री  छैन टाढा  पधेरो
अमुक छ बोल्दैन उ लाटो गरिब छ!

सरिर आफै बिझाउँछ ओढ्ने हुँदैन
मध्यान्नामै देक्छ तारा छानो गरिब छ !

गजल ११४ सपनाका तात लागि


सपनाका तात लागि 

सपनाका तांतलागि किन आउछ संधै राति
मेरा लागि बिपना नै बनेको छ प्रिय साथी !

धर्तिकै छ माया मोह थामेको छ मेरो वजन 
पानी हुँदै झर्छु बरु उड्नु छैन बादल माथि !

मान्छे न हो बोल्दै जाँदा धेरैथोरै गल्ति हुन्छ  
झुट बोलेर  जित्नु भन्दा  नबोलेरै  हार्न जाति 

निभ्नु रैछ मनको दिप उत्ताउलो चमक थियो 
हाँसिहाँसी बिदा दिन्छु हुदिन म बिस्वासघाति

जिब्रो न हो तितो मिठो अशल खराब सबै लिन्छ 
बेस्वाद अनि बेमज्जाले  चाख्छ स्वाद नानाभाती

सत्य कथामा आधारित कथा मेरी आदी ९


आँखाभरी आँशु टिलपिल टिलपिल गर्दैछन ! बोलि मधुरो अस्पस्ट अनि  अनुहार रातो देखिन्छ! आधा घण्टा जति भै सक्यो एकोहोरो बुथको फोन समातेर गन्गनाइ रहेको! म यता उता गर्दै समय काटिरहेकी छु! आफ्नो पालो आउने बित्तिकै यहाँका बेलिबिस्तार पतिदेबलाइ सुनाउना निक्कै आतुर छु!

             नर्शले बोलाइन  र रुममा जाने आदेस दिईन ! म  रूममा पसेंर   बजैलाई सोंधे, भोक लाग्यो? टाउको हल्लाइन मैले खानेकुरा ल्याएर दिएँ  उनि खाँदै भन्छिन नेपाल फोन गरिस त? अह, किन? बुथमा अघिदेखि  एउटा मोटे बसेको छ उसका कुरा नै सकिएका छैनन् म कसरी बोलौ  अलिअलि दुखि हुँदै र कठोर हुँदै म उनलाई उत्तर दिन्छु !

             दिउसोको खाना पछी सबै बिरामिले  बिश्राम   गर्ने हुँदा म पनि बजुलाइ बिस्तारामा पल्टाएर फेरी बाहिर निस्किएँ ! अनि उहि अघिको बुथ ( फोन गर्ने ठाउँ) तिर लम्कियें !त्यो मोटे अझै बोलिरहेकै थियो मलाई मनमनै रिस उठ्यो  हैन यसले यो बुथ यसको ससुराली बाट दाइजो ल्याको होकी के हो? कति यहि मात्र बोलि रहन्छ? गएर झपारौ जस्तो पनि नलागेको कहाँ हो र? तर  पनि धैर्यता गर्दै एउटा बेन्चमा गएर प्रतिक्षा गर्न थालें ! उता नेपालमा  पाँच बजिसकेको थियो ! यहि बेलामा बोल्न पाएदेखि बाबु छोरा सबै संग बोल्न सकिन्थ्यो नत्र एकछिनमा त सानो छोरो  सुतिहाल्छ मैले फेरी उसको बोलि सुन्न भोलि पर्खनु पर्ने हुन्छ नत्र...मन हतारिएर खप्नु भएको छैन उता मोटेले बुथ छाडेको छैन यहाँ नया छु आजै बजुलाई लिएर  हस्पिटल आएकी छु!

            कुर्दाकुर्दै  चार बजिसकेछ  अब त नेपालमा रातको आठ पनि बजिसक्यो  बाबुहरू पनि सुतिसके होला मन त्यसै निरास र अमिलो भएको छ!  बेलाबेलामा बजुलाई पनि हेर्न जानु पर्ने हुँदा कोठा भित्र पसेर के निस्केकी थिएँ फोन त फिलिपिनीको हातमा माछो नउम्कियोस भनेर समय झैँ दुइ हात मजबुत छन्  ! उफ्फ़ आज मेरो दिन बिग्रेकै हुनुपर्छ! सायद मेरो बोल्ने साइत जुरेकै  छैन ऊ मस्त  कुरा गरिरहेकी छ ! सायद उ पनि मेरा जस्तै साना साना बाबुनानिहरु संग बोल्दै होलि र त आफ्नै सुरतालमा पिंजडा बाट  छुटेको चरी झैँ एकसुरमा  दाँया बाँया नहेरी  काखैमा नानि राखे झैं बेला बेला किस गर्दै बोलीको ब्रेक लगाउंदै छ !  अब भने मलाई बन्दै रिष उठेन भक्कानिएर रुन मन लाग्यो! मोबाइलबाट गर्नलाइ  ब्यालेन्स छैन! एउटा भएको बुथ प्याक छ! निरास भएर झोक्रिदै बेन्चमा बसे ! एकोहोरो नेपाल मात्रै सम्झना आयो परिवार संग रमाएर बसेका दिन देखि बिदा भएर हिंडेका बेलासम्मलाइ सम्झिन पुगिछु! बसेकै ठाउँमा घुक्क घुक्क गरेको आवाजले कसैले भन्यो किन रोएको के भयो ? कता कता लाज पनि लाग्यो र हतार  हतार उठेर बाथरुममा पसें अनि ऐना अगाडी आफ्नै अनुहार हेरेर बेसरी रोएँ!

          भोलि पल्ट बिहानको नास्ता खाएपछि बजुलाई भनेर  बुथमा आएँ आश्चर्य के भने तेहि  हिजोको मोटे सुक्क सुक्क गर्दै फोन समातेर रुँदै रहेछ! सोंचे, यो म भन्दा पनि निक्कै दुखेको छ यसलाई कसले घात गर्यो?  या यो किन सल्लो सुसाए झैँ सुस्ताउंदै खडेरीको मूल फुटे झैँ आँखाबाट मोतीको सागर बगाउँदैछ  ? मेरो मनमा खुल्दुली मच्चियो जान्ने उत्सुकताले म उसको छेउसम्म तानिएँ !उसले पुलुक्क मलाई हेर्यो  म खिस्स बनावटि हाँशो हाँसे !

           नमस्ते! उसले पनि नमस्ते फर्कायो!  मैले सोधें  म तपाइलाई हिजो बाट  नियाली रहेकिछु! तपाई हिजो पनि एसरि नै रुनु हुँदै थियो र  आज पनि रुँदै हुनुहुन्छ ! तपाई त छोरा मान्छे सार्वजनिक ठाउमा यसरि रुँनुको बजाय के होला जान्न सक्छु? उ मौन बन्यो र बाइ पनि नभनी फोन बुथमा अड्काएर म भएतिर फर्कियो !
तपाइ कहाँ बाट आउनु भएको?
नेपालबाट !
यहाँ के काम गर्नु हुन्छ?
कियरगिभर्को काम गर्छु!
आएको कति भयो?
तिन बर्ष !
अझै कति बस्नु हुन्छ ?
थाहा छैन 
बिबाहित?
हजुर!
श्रीमान कहाँ हुनुहुन्छ?
नेपालमै !
बालबच्चा ?
दुइटा छोरा !
को संग छन्?
उहाले नै हेर्नु हुन्छ !
तपाइलाई  उनि हरुको याद आउँदैन?
मलाई झनक्क रिष पनि उठ्यो २४ घण्टा उनीहरुकै यादमा डुबेको कसले देख्ने ?पल पल कोल्टे फेर्दा  झरेका आँशुको कथा यहि मनलाइ मात्र थाहाछ यो कस्तो जिन्दगी ! प्रश्न गर्नलाई पैसा पनि नचाहिने रहेछ नत्र त्यसले यो मुटुमा तिर लाग्ने गरि किन यो प्रश्न गर्थ्यो? मनमनै सोंचे अनि आफुलाई समाल्दै मैले भने त्यहि याद आएरत हिजो बाट  यो बुथमा आँखा तन्काइरहेकि छु तपाईले बोल्न दिनु भएकै हैन! म रुखो आवाजमा उत्तर दिन्छु ! उ फेरी कुरा अघि बढाउँछ र भन्छ कति बर्षकि  हुनु भो? किन चाहियो ? तपाई मेरो इन्टरभिउ लिंदै हुनुहुन्छ हो?  हैन किन रिसाको? भन्न मिल्दैन भने नभन्नुस ! म केहि बेरको मौनता पछी उत्तर दिन्छु ३४ बर्ष ! बाबुहरुनी कत्रा कत्रा छन्? एउटा १२ बर्षको र अर्को 6 बर्षको !कति चाडै बिहे गर्नु भएछ है, कठैबरी सानै रहेछन आमाको कति याद आउँदो हो साथिले आमा भनेर बोलाउंदा पनि सपना झैँ लाग्दो हो तिनीहरुलाई  ति निर्दोष आँखाले  आमाको ममता कति खोज्दाहुन् कति निस्ठुरी है तपाई ? उसको यो प्रश्नले म झस्किएँ मेरो मन बिथोलियो र  आँखा रसाए! मैले कठोर हुँदै भने उनीहरुकै उज्वल भविस्यको खातिर म यहाँ संघर्ष गर्दैछु यो मेरो रहर हैन मेरो बाध्यता हो बुझ्नु भो ? अनि दाया बाया नजर लगाएर यसो उ भएतिर हेरेको त उ त झन् बर्बरी आँशु झार्दै निगुर्मुन्टि न भएर बसेको रहेछ!  मैले भने किन रुनु भएको ? तपाइभित्र कस्तो पींडा छ ? जो तपाइले जतिबेलै आँशु झारिरहनु पर्छ?  म अब उ तिर फर्किएँ र सोध्न लागें ! उ उत्तर नदिकन बसिरहेको थियो दुइटा प्रहरी आएर उसलाई लिएर रुम भित्र छिरे ए दाइ सुन्नुस न तपाइको नाम....?  म उसलाई प्रश्न गर्दै थिएँ नाम पनि जान्न पाइन त्यो मोटेको! साँझ परिसकेको थियो म पनि बजु भएतिर हानिएं मनमा उत्सुकताले  घच्घच्याई रह्यो ....

          नौ बजेको छ बजुको सबै काम सकेर कफीको चुस्की संगै बुथ भएको बेन्चमा बसेर मोटे आउने  प्रतिक्षामा नजर दौडाइ रहेकी छु नभन्दै उ ह्वीलचियरका पांग्रा दुवै हातले गुड्काउँदै बुथ भएतिर आयो साथमा दुइ प्रहरी आएका छन! म बिस्तारै मोटे भएतिर लम्किन्छु  नमस्ते ! सन्चै हुनुहुन्छ?  म भेटघाटको औपचारिकता पुरा गर्छु ! नमस्ते भन्दै उ म तिर फर्कियो उसको चेहरा निक्कै उज्यालो छ आँखा निलो गगन झैँ सफा र उत्सुक देखिन्छन! ओठमा मलिन मुस्कान सहित उ मलाई सोच्छ नास्ता  भयो? हजुर भयो तपाइको नि? मेरो पनि भयो उ बोल्छ ! म फेरी प्रश्न गर्छु तपाइको नाम? मुसुक्क हाँसेर भन्यो यतिका चिनजान पछी? एली !

         मलाई उसको आँशुको रहस्य जान्नु थियो उसको जिन्दगी  पढ्नु थियो त्यसैले मैले कुरा कोट्याएं  तपाई आज निक्कै खुशी हुनुहुन्छ यस्तो बेलामा भन्न ठिक हुन्छ्हुन्न मलाई थाहा भएन तर तपाई कस्तो पीडा बोकेर  बाच्नु भएको छ भन्न  मिल्छ भने प्लिज....मैले अनुरोध गरें ! उ बर्बराउन थाल्यो ....

          म १८ बर्ष पुरा भएपछी आर्मीमा भर्ति भएं ! लेबनानको र इजरायलको बोडर्मा ट्रेनिंगको लागि लगियो ! तिन बर्ष सम्मको लामो बसाइमा मेरो मित्रता आदि नामकी एक युवती  संग भयो ! उनि पनि ट्रेनिग मै भएकिले हाम्रो भेटघाटका दिनहरु रमाइला र मिठा हुन थाले! यसै क्रममा उनको र मेरो मन मिल्यो! अनि हामीले एकाअर्कासंग जिन्दगी संगै जिउने संगै मर्ने बाचा गरिउ  ! अनि त्यसपछी के भयो? म हतारिनछु ! उनले भने  उनको र मेरो प्रेमले  लगभग छ महिना पार गरिसकेको थियो ! हाम्रो सम्बन्ध सागर भन्दा गहिरो आकास भन्दा फराकिलो भएर मुस्कुराइ रहेको थियो ! हामि एकार्का प्रति धेरै बिस्वास  गर्थ्यौ! एक दिनको कुरा हो  क्याममा उनि र म एक्लै भएको बेलामा हामीले मन मात्र नभएर तन पनि  एकअर्कालाई सहज सुम्पिएका थियौ! उनि टक्क अडिन्छन!  तेस्पछी? म फेरी उनलाई झक्झक्याउंछु ! उनि असाध्यै राम्री थिइन सबैको आँखा उनि माथि पर्थे! मेरो एउटा साथीले उनलाई मन परउदोरहेछ! एकदिन उसले आदिलाई मेरै छेउमा आएर प्रेम प्रस्ताब राख्यो ! आदिले अस्विकार गरिन र मेरो र उनको सम्बन्धको बारेमा भनिन उ निरास भएर फर्कियो !

          दिउसोको खान खाने बेला भएछ तपाई पनि खानुस र म पनि बजुलाई खान दिन्छु यो तपाइको जिबनकहानी भरे पुरा गर्ने है मलाई बोलाइन भनेर म दौडिएँ ! मन भने तेही अल्झीरहेको थियो उनि संगै! दिउँसोको खान पछि  उनि फोन गर्ने निहुँले बुथमा  आए र म पनि बजु सुताएर उनको अगाडी आएर काँन  ठाडा पार्दै बसे ! उनि अघिको कहानी पुरा गर्नतिर लाग्छन!  साँझाको  बेला थियो उनि बेथ कफे  ( कफी पिउन) गएकी थिइन् म उनको प्रतिक्षामा बरण्डा बाट छितिज नियाँलदै  बसिरहेको थिएँ ! मेरो अगाडी उनलाई मन पराउने केटा देखा पर्यो र भन्यो आदि मेरी हो म उसलाई तैले भन्दा बढि माया गर्छु त्यसैले आजै बाट उसलाई हेर्न छाडिदे भनेर धम्कि दियो ! मैले उसलाई सम्झाउने कोसिस गरें उ मुर्ख झैँ उसैका कुरामा अडिक भएर म माथि हातपात गर्न थाल्यो ! उसको र मेरो झगडा निक्कै बेर चलिरहेको थियो खै के के भयो थाहा छैन  मैले एक्कासी आफुलाई हस्पिटलको बेडमा पाएँ मेरो एउटा खुट्टा काटिएको थियो यति भन्दा उसका आँखा टिलपिल भएर भुइमा पोखिसकेका थिए म बाकि काहानी सुन्न हतारिदै थिएँ ! प्लिज भन्नुस न!


             म सानै हुँदा मेरी आमाको निधन भयो आमाको अनुहार धमिलो छाँया जस्तै अलिअलि याद छ! बाबाले अर्की आमा ल्याएर बस्नु भयो !सौतेनी आमाले हेला गरेपछि  म काकाको घरमा गएर बस्न पढ्न थालें ! मलाई पढ भन्ने कोहि थिएन मेरो सुन्दर भविस्यको  कल्पना गर्ने पनि कोहि थिएन जसोतसो दस सम्म पढेर आर्मीमा भर्ति भएँ त्यो पनि आज यो अवस्थामा आफुलाई भेटेको छु खै के भनौ?  सुख दुख बाँडे मन हल्का हुन्छ रे पीडा आँशुले बगाएर लैजान्छ रे त्यसैले नरोक्नुस अब पुरा भन्नुस यो अधुरो कहानिले म बिथोलिंछु एली... मैले भने !  उ बोल्न थाल्यो, साथी र म बिचको झगडाले गोलि सम्म चलेको थियो  मैले हानेको गोलिले उसको छाति वारपार भएर उसले त्यहि जिन्दगी  बिसाएछ म भाग्ने हुँदा माथि बाट  बजारिएर दुवै गोडा काम नलाग्ने गरि...यो अवस्थामा छु! मलाई ज्यान मारेको अभियोगमा जेल चलान गरियो म यो ह्वीलचियरमा बसेको बाह्र बर्ष भयो ! पांच बर्ष देखी क्यान्सर रोघका कारण आधा  मरिसकेको छु!  डाक्टरले दिएको म्याद अब दुइ हप्ता मात्र बाँकि छ!

            यति भनि सक्दा मैले मेरा आँखामा फेवाताल भरिएको चालै पाइनछु उसले नै तिमी  पहिले आँशु पुछ भन्दा पो झसंग भएँ! उनि अघि बोल्दै गए ! मलाई भेट्न आदि आइरहन्छिन! म यो बुथ बाट  धित मरुन्जेल उनि संग कुरा गर्दै रुने गर्छु! उनि जागिर खाने हुँदा संधै आउन पाउदिनन हाम्रो मायाँको चिनो  छोरी छिन तर उनलाई म बाबु हुँ भनेर  थाहा छैन!  किन? म क्यान्सरको रोघी छु भनेर छोरीलाई ढाटेका छौ!  एक त जेलमा त्यसमाथि पनि म मर्दै छु भन्दा उसलाई कस्तो घात पर्ला? सो उनि बिना बाबुकी छोरी भनेर भनेकी छिन उनकी आमाले ! आज आदि अफिस सकिएपछी छोरी लिएर मलाई भेट्न आउदै छिन बिहान म  खुशी हुनुको  कारण त्यहि हो!  डाक्टरले भनेको मेरो स्वस्थस्थिती हिजो भन्दा आज निक्कै बिग्रिसकेको छ रे भोलि यहाँ बाट डिस्चार्ज हुँदै छु! जेलमा छोरी ल्याउदिनन सायद मैले मेरी छोरीलाई देख्न पाउने आज अन्तिम  दिन हो! मैले एक शब्द पनि छोरी भनेर काखमा राख्न नपाइ मर्ने भएँ! आदि रुएर कम्जोर भैसकेकी छन् मैले कत्ति भन्दा पनि उनले बिहे गर्न मानिनन मैले भनेको छु मेरो निधन पछी तिमीले जसरि पनि बिहे गर्नु भनेर तर उनि जवाफ दिन्न !  अब त्यो छोरीलाइ कसरी र कस्तो जिन्दगी दिन्छिन थाहा छैन!  सायद तेस्को जिन्दगी  पनि कतै मेरै जस्तो......उनि संगसंगै म पनि निक्कै बेर  आँशुमा डुबेर आफ्नो स्थान तर्फ लांगे ! भोलि पल्टदेखि त्यो बुथ जतिबेलई खालि हुन्थ्यो तर म गोजीमा काड बोकेरै बसिरहें त्यो दिनबाट हस्पिटल बसाइ दिक्क लाग्दो भयो |

कल्पना भावुक 
इजरायल!

कथा ८


म तेस्तै ११ बर्षकी थिएँ ! बाबा आमाले बसिबियालोको लागि सानो सानो किराना पसल घरमै राख्नु भएको थियो ! जाडोको मौसम पारेर आमाले बिहान बेलुका चिया पनि बनाउनु हुन्थ्यो ! त्यहाँ सामान बेच्ने भन्दा पनि बढी तासको खेल चल्थ्यो! तास खेल्नेहरुले नै चियाको चुस्की धेरै लिने हुँदा पसल राम्रै संग चलेको थियो ! तास खेल्नेहरुमा बुढापाकाहरु नै धेरै थिए त्यसमा पनि मेरो बुबा त नम्बर एक मै पर्नु हुन्थ्यो ! म घरकी सबै भन्दा सानी सदस्य (कान्छी छोरी) !मलाई सानोतिनो काम पालैपालो सबैले अर्हाउने गर्थे,यानेकि म सबैका लागि सजिली रिमोट थिएँ!

           कार्तिक कै बेला हुनु पर्छ! बर्षायामको पसिनाको फल पहेलपुर् भएर खेतबारीमा झुल्दा मेहेनती अनुहारहरु खुशिले गद गद भएर हर्षउल्लासका साथ बिजइ घोषित गर्दै थिय ! हुन पनि किसानलाई त्यो भन्दा ठुलो पुरस्कार के हुन सक्छ र मानो रोपेर मुरी उब्जदै छ अनि वर्षाको भेल संगै बगेका पसिनाका थोपाहरु सुनिला रंगमा रंगिन सफल भएको छ !कोहि धान काट्ने कोहि ओसार्ने कोहि कुनिउ लगाउने कामले कसैलाई फुर्सद थिएन ! भनौ मलाई पनि फुर्सद नै थिएन ! कान्छी खेतमा खाजा पुर्याउन जा है खेतालाहरु भोकाइ सके ,कुनिउ लाउनेहरुलाई चिया लिएर जाजा, पसलमा तास खेल्नेहरुलाई सलाई देन चुरोट खान पर्यो रे, ति बाख्रालाई घाँस हलिदेन भोकले कराई रहेछन, भैसीलाइ पानी खुवाउन लानु पर्ने ,उ साथीहरुले गाईबस्तु खोलेर ल्याएछन बेला गइ सक्यो......यस्तै यस्तै कामहरु हजुरमा देखि लिएर घरका सबै सदस्यले मलाई रिमोट सम्झेर अह्राउन  ! सानी थिएँ सबैकि सजिली थिएँ भ्यासम्म गर्थें पनि ! ठुला मान्छे ठुलै काममा व्यस्त हुने हुँदा म नै थिएँ सबैका लागि एक मात्र रिमोट जसलाई जता मन लाग्यो उतै घुमाउन सजिलो सामग्री ! ठुला मान्छेले साना मान्छेलाई अह्राउन कति सजिलो छ है हाम्रो समाजमा ?

            एक दिन हाम्रो घरमा धानको दाइं हाल्ने धमाधम थियो! घरका सदस्य आआफ्नै तालमा आआफ्नो काम गर्न व्यस्त थिए! मेरो भागमा दाइमा गोरु धपाउने परेको थियो ! बिहान देखि गोरुका पछिपछी हिड्दा गलेर भुतुक्क भै सकेकी म साँझको पाच बजिसक्दा पनि दाइ सकिएकै थिएन! एकोहोरो बाटो हिड्ने हो भने निक्कै लामो यात्रा थकित यात्री हुने थिएं  म   तर पनि त्यो  काम काम मै गनिदैनथ्यो! जून काम सानामान्छेले गर्छन ठुलाका लागि त्यो काम नै नहुने रहेछ उफ्फ़ .... आगन भरि सुकुल ओछ्याईएको थियो ! सबै बुढापाकाहरु तासमा मस्त थिए ! आमाले कल बाट पानी ल्याउन अर्हाउनु भयो ! म पनि चुपलागेर गाग्री बोकेर आगनमा गएँ र पानी भर्न थालें ! दिनभरिको गोरु धपाईले गलेर भुतुक्क भएकि म यति पानी लगेर खाना खान्छु र सुत्छु भनेर सोच्दै गाग्री बोकेर अघि बढें ! ख्यालै गरिनछु जुंगे (दर्जी) दाइ बसेकै सुकुल टेकेर पानी बोकेर गएछु ! माथि पानी पुर्याएर राख्न पनि भ्याएकी थिइन सिर्कनो सवाट पिडुलामा बर्सिदा तोरीका फूल देखे मैले! बिजुली चम्केको आभास भयो !यसो पछाडी फर्खेर हेरेको त त्यहाँ दमाइ बसेको देखिनस? तेही सुकुल टेकेर हिड्नु पर्छ ? भनेर बुबाले कडकिदा पो बल्ल मैले थाहा पाएँ म किन कुटाइ खाँदैछु भनेर !

           ति जुंगे दाइले सुनेर के सोचे होला ? उनि पनि त मान्छे नै हुन् नि, मेरो मनले यस्तै भन्न थाल्यो! सबै खाना खाएर सुत्न गए आमा भने मैले नखादा निक्कै दुखि भएर मलाई सम्झाई रहनु भएको थियो! आमाको मन न हो छोराछोरी भोकै बसेको कहाँ देख्न सक्छ र ! म निक्कै जिद्दी थिएँ मैले खान मानिन र भोकै सुतें !निन्द्रा परेन मनमा एककिसिमको सोचले गाजिरह्यो ! अस्ति म उनका घरमा लुगा लिन जाँदा भाउजुले मलाई चिया र पाउरोटी खाने भनेर सोधिन र खाएकी पनि थिएँ! यो कुरा बुबाले थाहा पाउनु भयो भने? मेरी स्कुलकी साथी पनि हाम्रो समाजको नजरमा सानै जातकी हो, उ संग त जुठो पनि चल्छ मेरो , मैले कति पटक उसका घरमा खाना खाएकिछु, उ मेरी मिल्ने साथी म उसलाई म जस्तै देख्छु उसको र मेरो सरिर पनि उस्तै छ मात्र म भन्दा अलिक मोटि छ! उ र म बिचको फरक भनेको ओजनमा दुइ चार किलो तल माथि हौला बस... तिनै जुंगे दाइले सिलाएको लुगा हाम्रा बाबाले पनि लाउछन, आमा पनि तिनै लुगा लगाएर खाना पकाउनु हुन्छ मैले के गल्ति गरे? म आधा रातसम्म सुतिन यस्तै के के सोचिरहें खै कति बेला निधाएं थाहा छैन !

            जुगे दाइका बारीमा रायोको साग लह लह थियो! आमाले जुगेनी भाउजुलाई सागको कुरा गर्नु भएको रहेछ भोलिपल्ट मलाई साग लिन पठाइयो ! तिनै दाइका बारीमा फलेको साग पकाएर आमाले सबैलाई खाना खान बोलाउनु भयो! सबै खान बसेकै बेला मैले भने त्यो साग त सुँगुरको खोर छेउमा लिदी भएको ठाउबाट टिपेर दिनु भएको हो भाउजुले ! साग टिप्दा भाउजुले सुँगुर पनि छुनु भएको थियो त्यो सागले त सुँगुर पनि छोएको छ म हिजोको रिष पोख्न थालें ! बुबाले नकराइकन भात खान आदेश दिनु भयो ! ठण्डीको बेलामा भेटेको रायोको साग कतिमिठो मानेर भात संग बुजा हाल्दै थिए  सबैजना तर म चुप भइन ! हिजोको कुटाइले मेरो दिल धेरै दुखेको थियो त्यसैले म  बोल्न थालें! उनीहरुले सिलाको लुगा लाउन हुने,बारीको साग खान हुने ,संगै बस्न बोल्न हुने छोएको खान किन नहुने? मलाई किन पिट्नु भएको ? म ठुली भएपछी दमाइ संगै बिहे गर्छु अनि बल्ल ठिक्क हुन्छ भनेर मुख चलाउन लागें ! बुबाले फेरिपनि मलाई थप्पड लाउनु भयो त्यसपछि म आँशुका ढिका बर्बरी झार्दै बिना अवाज रुना थालें  ! त्यो ठुलो हातको झापड यो सानो गलामा पांच औलाको छाप र दुखाइ दिलसम्म पुगेको थियो ! मलाई त्यो दिन एउटा सोचाइ आयो यो सोच बाट इनिहरुलाई बाहिर निकालेरै छाड्छु केहि थोरै भएपनि परिवर्तन गरेरै छाड्छु !

           छुवाछुतको पर्खाल मैले यसरि भत्काएं कि   मेरा अलिक टाढाका साथीहरुलाई अरु नै जातको हौँ भन है भनेर घरमा ल्याउने संगै खाने र संगै  सुत्ने गर्न थालें! त्यो कुरा कसैलाई पनि थाहा भएँन ! म भित्र भित्रै खुशी हुन्थें र जुन बेला उहाहरुले थाहा पाउनु भयो त्यो बेला म ठुली भैसकेकी थिएँ! छोएको नखाएपनि घरमा पस्न र बस्न छुट दिन थालेका थिए !जो होचो उसका मुखमा घोचो भने झैँ मान्छेले आफु भित्र भएको रिषको आवेग पोख्ने ठाउँ सानै मान्छे हुँदो रहेछ यो पाठ पनि मैले तेही बेला सिके !

         रुढिबादी समाजका पुराना मान्छेमा अझै पनि यो भ्रम छदै छ! सानो जातले छोएको खान हुन्न  बिवाह गर्न हुन्न भनेर !मेरो घरमा आफ्नै नाता भित्रका मेरा दाइले तिनै सानो जातकी भाउजु ल्याउदा दाइको घरपरिवारमा निक्कै ठुलो रडाको मच्चिएको थियो! घर बाट उनिहरुलाई निकालिएको थियो ! दशैँ तिहारमा पनि दाजु भाउजु एक्लै भएका थिए! मलाई यो देखेर साह्रै नरमाइलो लागिरहन्थ्यो! ति भाउजुको बोलि ब्यबहार कति मिठो थियो तर सबैले सानो जातकी भनेर हेला गर्थे! म उहाहरूकैमा दशैको टिका थाप्न जान्थे तिहारमा दुबो र तेलले छेकेर दाजु भाउजुलाई टिका लागाइदिंथे भाउजु मलाई देखेर खुशी हुनुहुन्थ्यो र म वहाको खुशी देखेर आनन्दित हुन्थे ! तिनै भाउजु हुन् जसले मलाई आफ्नो खुट्टामा आफै उभिन सिकाएकी छिन ! आत्मनिर्भर हुन सहायोग  गरेकी छिन!

         मेरी भाउजु आज  दुवै किड्नी फेल भएर नाजुक अवस्थामा छिन ! किड्नी tranesfar गर्नु पर्ने अवस्था आएको छ! मैले गर्ने सहयोग त छदै छ तर तिम्रो यो अवस्था सुनेर म धेरै दुखि छु भाउजु !

        म हरेक दिन भगवान संग प्राथना गर्छु यति राम्रो मन र बिचार भएकी मेरी भाउजुलाई अझै बाच्न देउ  भगवान!  लान्छौ भने त्यस्ता खराब मान्छेलाई लैजाउ जो समाजमा  घमण्ड र अहंकारले  ठुलो हुँभन्ने  भ्रम फिजाएर गरिब र असहाय प्रति अन्याय गरिरहेका छन् !

       घरपरिवारले जस्तो दृस्टीकोण बाट हेरे पनि जुन दर्जामा राखे पनि मेरो हरेक खुशीमा रमाउने मेरी भाउजु आज पनि तिमीलाई म धेरै सम्मान गर्छु र सम्झिरहन्छु ! जब मलाई भाउजुको याद आउछ महाकवी लक्ष्मीप्रसाद देबकोटाको याद आउँछ !
क्षेत्रीको छोरो त्यो पाउ छुन्छ घिनले छुदैन 
मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन !!
कल्पना भावुक
इजरायल !

गीत १८ दुरी टाढा हुँदा मायाँ गाढा हुन्छ किन? .


गीत 
झर्दा आँशु पुछिदिने टाढा  हुन्छ किन ?
दुरी टाढा हुँदा मायाँ  गाढा हुन्छ किन?
.

आँखा चिम्ली यादगर्छु समिपमा हुन्छौ
नयन बाट कोशी बग्दा हत्केलाले चुम्छौ
एक्लै हुँदा  मनको फूल काँडा हुन्छ किन 
दुरी टाढा हुँदा मायाँ  गाढा हुन्छ किन ?
.

सपनाका सुनाखरी शित बनि झर्छन 
गरिबीको पर्खाल लाग्छ नफक्रिदै मर्छन  
मिलनमा नियती नै बाधा हुन्छ  किन 
दुरी टाढा हुँदा मायाँ  गाढा हुन्छ किन ?
.
कल्पना भावुक 

गजल-नअटेरै हो कि माया ..112


गजल-नअटेरै हो कि माया ...

नअटेरै हो कि माया आँखाबाट पोखिएको 
नचाहेरै हो कि यात्रा दोबाटोमा रोकिएको !

आकाशमा बादल रुन्छ म धर्तीमा एक्लै रुन्छु 
रुनैथ्यो त प्रेमी नजर किन यता  ठोकिएको?

हत्केलामा ठेला देख्छु निधार मरुभूमि लाग्छ 
साथ्मा भए  देख्ने थिएँ का छ भाग्य छोपिएको? 

छातीभरी  बैश फुल्दा हृदयमा तिमी  बस्यौ 
सार्थक हुन्थ्यो जिन्दगानी पाएदेखि रोजिएको !

कल्पना भावुक 
इजरायल

गजल १११ ~~ मेरी आमा


गजल ~ मेरी आमा !

सानो कलम ठुलो रहर शिखर छुन्छ मेरी आमा 
अज्ञानी छु सानो छोरो  ज्ञानी हुन्छ मेरी आमा !
,
सताउछु  रुवाउछु  कत्ति  दुखः दिन्छु तिम्लाई 
हासी हासी फकाउछेउ दिब्य गुणछ मेरी आमा !
,
लापत्ता छन् मेरा बाबा दुस्मनले हेरे तिम्लाई 
डराउदिन  बद्लालिन तिम्रै खुनछ  मेरी आमा !
,
कैले  हुँला  प्रवासमा  कैले  हुँला तिम्रै काख 
इ कानले तिम्रो मात्र आवाज सुन्छ मेरी आमा !
,
धर्य गर भविस्य त्यो बनाउछु आफ्नै हातले 
यो कालेले  तिम्रो दुख चाडै फुन्छ मेरी आमा !
,
कल्पना भावुक 
इजरायल 

कविता ईच्छामृत्यु-पत्र

बिक्रम सुब्बा
कविता    ईच्छामृत्यु-पत्र
पृय पत्नी, यो साठी वर्षे जन्म-घडी पार गर्दैगर्दा
ओछ्यान परेकी तिम्रै वारिसको नाताले
तिम्रो अग्रिम-मरणको मेरो ईच्छापत्र लेखिरहेछु -
अर्थात, मेरा काखमा अखण्ड शिर राखेर, मसँग
मुलायम-मुलायम माया बोल्दा-बोल्दै तिम्रो प्राण जाओस्
मौरीको रानीजस्तै लोकन्तीका झुण्डामा राखेर
मेरा घरको अग्नी-मण्डपमा तिमी पुर्‍याईएपछि
स्वागत-बडाइँका दर्जनौँ जोरनाले बन्दुक बजाउँदे
पच्चिसौँ च्याब्रुङ र नौमतीबाजा घन्केको साईतमा
पहिलो पटक जिउ नै सिरिङ्ग पार्ने तिम्रो हात छुँदै
मैले 'सौभग्यवती भव:' भनेर सिन्दुरले
तिम्रो भर्जिन सिउँदोमा हालेको भविष्य-वाणी पुगोस्
अर्थात, नरकको दैँत्यलाई पनि, तिम्रो
निधारमा 'विधवा' शब्द लेख्ने मौका नमिलोस्  
अर्थात, सिन्दुर-पोतेमै सजिएको तिम्रो सकल शरिर
घाटको अग्नी-देवलाई प्रसाद चढाउँन सकुँ
अंतिम घडीमा मेरा आँशु पनि कदापी खस्न दिन्न
अर्थात, तिम्रो रुद्रघण्टीमा घिडघिड तगारो पस्न दिन्न
महान अर्धाङ्गिनीलाई लगनको लुगामै विदा दिन सकुँ
यो साठी वर्षे जन्म-घडी पार गर्दैगर्दा, तिम्रो लागी
यही सम्मानीय मृत्युको ईच्छा-पत्र लेखिरहेछु पृये!

…तिम्रा कोखबाट निसृत लालाबालाका हात-पखेटा उम्रिसके 
अब तिनका आकाशको कुनै चिन्ता लिनु पर्दैन
अर्थात, खुशिसाथ तिमी पार्थिवयात्रा थाल 
रहलपहल घरघरायसी धन्दाहरू मैँझारु गरेर, मैले पनि 
त्यही क्रुर लाम्चो-अर्थी चढेर कात्रोको पहिरनमा
तिमीसम्म आउँने पर्यटन गर्नुछ पृये !
अर्थात, हामी दुई त एक मुटुका
आधा-आधा अनमोल धातुहरू कतै खोजेर-भेटेर
ईमान्दार देउताको आरनमा ढलोट दिव्य-आत्मा हौँ
अर्थात, हीराभन्दा बलियो हाम्रो प्रेमको ढिक्कोलाई
फुटाएर हरण गर्ने रावण कतै जन्मेकै छैन
तेसो त, मेरो देहको पनि म्याद पुगिसक्यो पृये!, बरु
मेरा आत्माको लागि पनि एक असल कुलको गर्भ खोजिदिराख्नु  
अर्थात, पवित्र नश्लका आत्माले अनिवार्य अवतार लिनु पर्छ
अनि फेरि भाँडाकुटीको भोज-भतेर सहित
हाम्रा पुतलीहरूको रमाईलो विहेको साईतमा
प्रणयका अनेक अध्याय र परिच्छेदहरू थप्नु पर्छ
अर्थात, फेरि कैलाशकुटमा हाम्रो एक चिटिक्क याक्सा थपेर
धुतुमुने र परीहरूले सिकुवा-आँगन भरिदिनुपर्छ
अर्थात, जनम-जनम सृष्टी-मुन्धुम बुन्दै जानुपर्छ
चखेवा जोडीको माया त
अजर-अमर पो हुन्छ त बाबै !

...अर्थात, कसैले चाहेपनि हामी कहिल्यै मर्दैनौँ पृये!
एकबारको पञ्चतत्व ध्वस्त भएपनि सिद्धिने होईन यो   
पवित्र प्रेमात्माहरू त झन् ज्योतीपुञ्जभै उदाउँछन्  
अर्थात, आत्म-मिलन भइसकेपछि अपरम्पार हुन्छन् 
त्यसैले मायालु पत्नी, तिम्रो नीजि निधारमा म
बारम्बार 'सौभाग्यवती'को छाप लगाईरहन चहान्छु
तसर्थ, अधिकृत वारिसको हैसियतले, तिम्रो खातिर
जुनी-जुनी विधवा नहुने ईच्छामृत्यु-पत्र लेखिरहेछु
एक अटल फैसला-पत्र लेखिरहेछु
…अर्थात, म लाखौँचोटी विधुर भएर हेला सहन्छु बरु, तर
'विधवा' तोकेर तिमी कतै लेखिनु मञ्जुर छैन मलाई
अर्थात, मेरै काखमा तिम्रो सर्वाङ्ग शरिर राखेर, मसँग
चोचोमोचोमा माया बोल्दा-बोल्दै प्राण जाओस्
पृय पत्नी, यो साठी वर्षे जन्म-घडी पार गर्दैगर्दा
तिम्रो यही ईच्छा-मृत्युको नोट-पत्र लेखिरहेछु

…अर्थात, हेर्दाहेर्दै आफ्नो सेनापती ढलेपछि
'विराङ्गना'को वीरचक्र-तक्माले शुसोभित गरेर
बाँकी युद्धको कमाण्ड सम्हाल्न चाहान्छु म
यही हो मेरो अन्तिम ईच्छा पृये…, त्यसपछि
शिरमा विजयको पगरीसहित म पनि उतै आउँनेछु…
तेसो त, मायाको रणभूमिमा मायात्माहरूलाई जित्ने
स्वर्गमालोकमा पनि कुनै देउता जन्मेका छैनन्…
र नरकमा पनि कुनै दैत्य जन्मेका छैनन्
अर्थात, चोखो प्रेमको वगैँचामा
आत्मा त एक अजम्बरी फुल हो पृये!
bikram subba 

राजनितिम़ा डकैतिको अभाव हुनु पर्छ ११०


गजल 
राजनितिम़ा डकैतिको अभाव हुनु पर्छ
जनतामा सद्बुद्दिको प्रभाव हुनु पर्छ!
,
हिउँ आफै पग्ले पनि  शितल दिंदै बग्छ
रगत भित्र रिस हैन सदभाव हुनु पर्छ!
,
नालापानी युद्द ले नै जन्म्यो गोर्खे नाउँ 
गोर्खाली हौं हाम्रो छुट्टै रवाफ हुनु पर्छ!
,
बोली बुद्ध  दिल सुद्ध  पलौं दिब्य दृष्टि
बुद्ध जस्तै शान्त अनि नम्रभाव  हुनु पर्छ!
,
तेत्तिस कोटी देवी देऊता पुज्छौं साँझ बिहान
शिबजिका भक्त हामी फलिफाप हुनु पर्छ !
,
नेपाली हुँ भन्दा अझै नपुगेमा परिचय 
सगरमाथा सिरको टोपी जवाफ हुनु पर्छ !
,
कल्पना भावुक
इजरयल

नदेखेको प्रेम अब छुटेरपो के भयोर १०९


गजल~
नदेखेको प्रेम अब  छुटेरपो के भयोर
,
नदेखेको प्रेम अब  छुटेरपो के भयोर
चर्किएको मुटु अब  फुटेरपो के भयोर!
,
आकासले थिचीदिन्छ धरतीले मिचीदिन्छ
आश्वासनका  शब्दहरु  जुटेरपो के भयोर!
,
पलभर  खुशी  हुँदा  युगौ  रुनु पर्छ यहाँ 
असहाय जिन्दगीलाई चुटेरपो के भयोर!
,
क्षणभरमै ओइलाउने  फूल रैछ जिन्दगानी 
मक्किएको चाहनालाई खुटेरपो के भयोर!
,
बाग फूल्छ यौवनको कैदी हुन्छन नजरहरु 
बेचिएको  अस्मितालाई  लुटेरपो के भयोर !
,
कल्पना भावुक 
इजरायल 

नयन बाट मोती बर्से थाप्ने भए आऊ १०८

गजल
नयन बाट मोती बर्से थाप्ने भए आऊ
दोषी छ की दया मनमा जाच्ने भए आऊ !
.
दयालु छौ राम नाम बिर्सिदिन्छन सबै
आँखा भित्र नानी बनाई  राख्ने भए  आऊ !
.
दिलको भाँडो रित्तिएछ रहर बाँकी नै छ
अब बाँकी जिन्दगी छ साट्ने भए आऊ !
.
भोली बिघ्न जति आवोस हिजो हुँदै टर्छ
दु;ख सुख जीबन रथ हाँक्ने  भए आऊ !

गजल १०७ म संगै हिजो बिताएका कुरा गर !


म संगै हिजो बिताएका कुरा गर !

चिन्ताका हैन चिताएका कुरा गर !
म संगै हिजो बिताएका कुरा गर !

सम्झना आयो एकपटक फेरि भन्छु 
बैसमा दुइ मुख मिठ्याएका कुरा गर !

भुतुक्क भाथ्यौ सुन्दरी थें तिम्रा लागि 
पट्याउन आँखा झिम्काएका कुरा गर! 

सम्झँदा लाग्छ समय त्यो फेरी भेटूँ 
मायामा यौवन रित्याएका कुरा गर !

कल्पना भावुक
इजराएल 

कथा ~~म सानो हुँदाको दशैं

कथा ~ म  सानो हुँदाको दशैं
 बर्ष दिनमा बल्ल बल्ल एक पटक आउँने दशैँ ! त्यो पनि गरिबको घरमा गरिबी संगै भित्रिन्थ्यो ! बर्ष भरिनै बिहान देखि बेलुका सम्म हात खुट्टा बजार्दा लाउन खानको दुख भने थिएँन! सायद म दस बर्षकी हुनु पर्छ दशैँ नजिकिंदै थियो ! किनमेल गर्न बाबा आमा बजार जाने तरखरमा हुनुहुँन्थ्यो! मैले पनि बजार जाने जिद्दी गरे! म बाबा आमाको कान्छी छोरी यसै पनि मायाले पुलपुलिएकी थिएँ त्यसैले नाई नभनी लिएर जानु भयो ! हरेक बर्ष स्कुलका ड्रेश त्यहि दशैको मौका पारेर फेरिने गर्थ्यो ! लुगा नयाँ  हुन्थ्यो ! तर उही सेतो सर्ट र निलो फरक ,चप्पल नयाँ हुन्थ्यो तर उही पिटिक पिटिक गर्ने हात्ती छाप! दशैँ त आउँथ्यो तर प्रत्येक बर्ष झैँ मेरा इक्ष्या र चाहनाले भने नया रुप लिन सकेका थिएनन ! यसपटक भने म आफै बजार गएकी हुँदा जिद्दीपन संगै सेतो भुइमा रातो र निलो फूल बुट्टा भएको जामा किनेर खुशी हुँदै घर फर्किएँ ! अष्टमी हुँदै बडादशैं पनि आयो ! टिका लाउने तयारी भयो! तिन दाजु र एक दिदी सहित पालो पालो गर्दै टिका संगै आसिर्बाद थाप्ने क्रममा मेरो पालो आयो! बाबा र आमाले टिका लगाउँदै आशिर्बादका सब्द बर्साउँन सुरु गर्नु भयो! नानी ठुली हुनु राम्रो पढ्नु ज्ञानी हुनु आफु भन्दा ठुलाले भनेको मान्नु राम्रो ज्वाई भेटेस् भाग्यमानी भएस .....आदि आदी! यहि आसिर्बाद संगै बाबाले भन्नु भयो अब कान्छीले मासु भात खाएर लिंगे पिङ भएतिर भैसी लिएर जान्छे ! एकै छिनमा आउनु भन्दै बाबाले भने पनि म झन खुशी भएर हतार हतार खाना खाएर भैसी खोलेर हिंडे !

                      दशैंको दिन नयाँ लुगा फेरेको दिन साथीहरुलाई देखाउन हतारो भएको थियो ! त्यो दशैंमा मेरो नयाँ जामा स्कुलको ड्रेश भन्दा फरक पाएकी ले  म फुर्केर भुइमा खुट्टा नै थिएनन्! त्यस बेलाको सिनेमा हल सारदा टाकिज बेलबारीमा लाहुरे फ्लिम चलेकोले गर्दा सबैको मुखमा सोहि फिल्म कै गीत झुन्डिएको थियो ! म पनि भैसी माथी चडेर बिरताको चिनो बिरको सन्तान सहीदको रगत लाहुरेको निशानी....गुन्गुनाउदै भैंसी लाई सिर्कनाले हान्दै छिटो छिटो पाइला सार्ने संकेत दिदै थिएँ ! बाटोमा एक साथी संग भेट भयो! फुरुक्क हुँदै जामाकै कुरा गरें ! क्रमस जामा संगै मेरो फुर्क्याई सकेर म घर फर्कन लागें! भैंसी  लाई कुलोमा पानी खुवाउन लाँदै थिएँ ! बजिनिलाई आहाल बस्न मन लागेछ घर आउँन मान्दै मानिन आहाल बसेरै छाडी ! एकछिनमा कुलोको हरियो दुबो चर्याम चर्याम पार्दै चपाउन लागेकीले मेरो कमलो मनले कुलोको बाटो हुँदै घरसम्म चराएर लैजाने निर्णय गर्यो! सो भैसी माथी चडेर आफ्नै कान थर्किने गरी ठुलो ठुलो स्वर निकाल्दै गीत गाउँन लागेछु !
चलेछ बतास सुस्तरी मनै सरर ....
भरोसा छैन जीबनको खेलाची नगर...!
                   
                   जाँदा जाँदै कुलोको डिलमा भएको अम्बाको बोट अगाडी आईपुगेको ख्याल नै भएनछ! नुहेको हाँगोले जामा अड्काएर उधोमुन्टि पार्दा पो आमा भनेर चिच्याएँछु ! मेरो स्वर सुनेर दाजु, आमा र दिदी कुधेर आउँनु भएछ! अनि मलाई त्यो अंकुसे बाट भुइमा उतार्दा पो चाल पाएँ मेरो नयाँ जामा त दुइटा भएर मलाइ नांगै बनाएर मै माथी आँखा तर्दै गिज्याई रहेको रहेछ ! मामा घरका हजुर बुबाले एक मोहर दिंदा लगाएको टिका पुछेर रुने मान्छे म! नातिनीको आँशु पुछ्न एक रुपयाँको ढ्याक दिनै पर्ने हुन्थ्यो! त्यो जामा लगाएर मामा घरमा हजुरबाले दिने एक रुपियाको ढ्याक थाप्ने मेरो रहर अधुरो भयो ! त्यो जामा फाटेपछी को मेरो दशैं घर भित्रै सिमित भयो ! पुर्णिमाको भोलि पल्ट मात्र बाहिर निस्किएकी थिएँ ! मलाई अझै पनि त्यो फूल बुट्टे जामको खुब  माया लाग्छ र त्यो जामा मेरो आँखाभरी आउछ ! त्यो दिन म यति धेरै रोएकी थिएँ कि त्यो क्षण सम्झिंदा म अझै रुन थाल्दछु !!

                बडा दशैँ २०६९ को पावन अवसरमा देश विदेशमा रहनु हुने सम्पूर्ण आफन्तजन र मित्रहरुमा हार्दिक हार्दिकमंगलमय  शुभकामना व्यक्त गर्दछु!!!


"कल्पना भावुक"

कथा ; समय


 कथा ; समय   
                           कालो बादलले आकाश डम्म ढाकिए पनि ठाउँ ठाउँबाट भने निलो गगन मजाले नियाल्न सकिन्छ ! पुर्णिमाको रात टहटह जूनको उज्यालोले धर्ति जगमगाइ रहेको छ ! लिनाको मन्द मुस्कानमा जिबनको सुख र सारा खुशी खोजिरहेको हुन्छ आशीर ! दायाँ बायाँ पनि युगल जोडीहरुको घुइचो लागेको छ! पार्क भरी यस्तै जोडीले ढाकेको महसुस गर्दा गर्दै उनको त्यो जुनेली रातमा लिनाको शिर आफ्नो काखमा राखेर  चन्द्रमा र लिनाको मुहार लाई एकै साथ नियाली रहेको हुन्छ आशीर ! आशीर हेरन..! त्यो आकाश र चन्द्रमाको कति अटुट र अजम्बरी साइनो छ है ? के हामी पनि हाम्रो प्रेमलाई त्यस्तै अजम्बरी बनाउन सक्दैनौ ? जो हामी मरेर गएपनि हाम्रो प्रेम सदा अमर बनिरहोस् ! 

                         लिना, तिमी भन्छौ भने म तिम्रा हरेक चाहनाहरुलाई सफल बनाउने प्रण गर्छु ! तर मेरो एउटा कुरा तिमीले मान्नु पर्छ ! तिमीले तिम्रो देश बिर्सेर सदा मेरो आसपासमा मुस्कानी फूल बनेर फुलिरहनु पर्छ! लिना दोधारमा पर्छे ! उसलाई कता कता खल्लो महसुस हुन्छ! किन कि ऊ आफ्नो देश छाडेर कामको सिलसिलामा प्राबासी भूमिमा आई पुग्दा दैब संयोग एउटै प्रोजेक्टमा काम गर्ने आशीर संग प्रेममा बाधिन पुगेकी हुन्छे ! दिन बित्दै गयो उनीहरुको प्रेम पनि कलिलो मुना बाट फूल्दै फक्रंदै गयो ! उता भने लिना आमा बाबाकी एउटै मात्र सन्तान थिइ त्यो पनि टाढा प्रबासी भूमिमा..! एकातिर बृद्ध हुन लागेका बाबु आमाको माया अर्को तिर फक्रिन लागेको जवानी अनि प्रेम उसलाई निर्णय लिन निक्कै गाह्रो हुन्छ ! तै पनि ऊ आशीर लाई दुखि देख्न नसकेर ( कहिले काहीं आमा बाबालाई भेट्न जान पाउने सर्तमा ) उसकै अंगालोमा बेरिन पुग्छे ! 

                          समय चिप्लेको र उमेरले नेटो काटेको पत्तै हुँदो रहेनछ ! हेर्दा हेर्दै उनीहरुबाट एक सन्तानको जन्म भयो! दुवै जागिरे छन् ! बिहानको आठ नबज्दै बाहिरिएका बेल्लुकाको आठ बजे मात्र भेट हुन्छन उनीहरु  ! छोरी हेर्ने शिसुस्याहार केन्द्र छदै छ!  दुबैको कमाइ पनि राम्रो छ ! कुनै कुराको कमि छैन उनीहरुको परिवारमा ! दिनदिनै छोरी पनि ठुली हुदै गइरहेकी छ बोली रहुँ खेलाई रहुँ  जस्ती...! जव जव छोरीको हाँसो लिनाको मनमुटु सम्म फैलिन्छ तव उस्ले पनि बाबा आमाको माया र ममता लाई झल्झली सम्झन थाल्छे ! लिना आफ्ना पति र छोरी बाट सन्तुस्ट र खुशी छे! तर पनि उसलाई केहि कुराको कमि महसुश भई रहेको छ! एउटी भएकी छोरी पनि दुरादेशमा! बृद्ध  भएका बाबु आमाको  दु;ख सुख बाँढ्ने र ममता पोख्ने ठाउँ पनि सपना झैँ भएको छ ! आमा, सधैं छोरीको सम्झनामा आँशु बगाईरहन्छिन्! बाबु आशाको त्यान्द्रो बटुल्दै बाटो हेरिरहन्छन ! यता लिना पनि जति जति छोरीलाई मायाले अंगाल्छे त्यति नै आमा बाबाको यादले छटपटिन थाल्छे र सम्झिन्छे उस्को बालापन! बिरामी परेको बेला उस्ले खाना नखाए सम्म उसकी आमा दिनभर भोकै हुन्थिन! बाबु अफिसबाट घर आउँदा रित्तो हात कहिल्यै फर्कंदैनथे! केहि न केहि लिएर नै आउँथे ! आज तिनै बृद्ध बाबा आमाको साहारा बन्न नसक्दा ऊ छोरीलाई अंगालो मार्दै आँशुका बलिन्द्र धारा बगाएर रुन थाल्छे ! जव घरमा आशीरको उपस्थिति संगै लिना माथी सयौं प्रश्न तेर्सिन्छन्  !  तब लिना एका एक बर्बराउँदै आफ्नो मनमा गुम्सिएका बेदनाका पोका हरु खोल्न थाल्छे ! बाबा आमाको आफु बाहेक बुढेसकालको सहारा कोहि पनि नभएको बताउँछिन् लिना ! छोरीको बाटो हेर्दा हेर्दै पर्खाइमा ति  बृद्ध नयनबाट बगेका आँशुले कुनै एउटा ताल बनि सक्यो होला ! उनीहरुको बुढेसकालको सहारा अनि आशा र भरोसाको पर्खाल म एउटै मात्र हुँ ! उनीहरुको मन मस्तिस्कमा कति पीडा र छटपटी बितिरहेको होला ! मलाई मेरा बाबा आमाको साथमा जानु छ!  र म उनीहरुको बाकी जीबनमा दिप बनेर उज्यालो छर्नुछ आशीर ! लिनाको रुन्चे अनि भावुक बोलीले आशीरको मन चसक्क हुन्छ अनि आफ्नो पुरुषार्थ जमाउँने रवाफ देखाउँन् थाल्छ! तिमी त पराई धन हौ, उमेर नपुगुन्जेल मात्रै बाबा आमाको ममता भित्र त्यस पछी त पति को घर नै सबै थोक हुन्छ ! छोरी भएर जन्मे पछी इ सम्पूर्ण कुरा हरुलाई बुझ्न पनि सक्नु पर्छ लिना! सधै माइती घरमै बस्ने भए किन बिहे गरेर आउनु, कुमारी नै बसेर बाबा आमाको सेवा गरेर बसे भैगो नि ! यस्तै यस्तै थोरै रुख्खो पन मिसिएको उपदेश सुरु हुन्छ आशीर बाट!

                        समय बदलिने हैन बदलिन्छ त मानिसको सोच बिचार र हेर्ने दृष्टिकोण ! त्यो सानो र शुखी परिवारमा पनि आज अभाब फैलिएको छ ! लिना बाबा आमालाई सम्झेर पागल भएकी छ! आशीर आफु पुरुष हुनुको घमण्ड डेग सर्न दिदैन ! बिचरी त्यो नाबालक छोरी, बाबु आमाले मुखा मुख गरेको देखेर ट्वाल्ल परेर हेरिरहन्छे ! डाँडा माथिको घाम ुडुबे पछी यो धर्ति मा उज्यालो देख्न एक युगको पर्खाइमा बस्नु पर्छ ! ति बृद्ध भएका बाबु आमा एक पटक अस्ताएपछी जीबन भरको पर्खाइ पनि असफल हुन्छ! यो नितिको नियम कसैले पनि बदल्न सक्दैन! एकदिन लिना उही सम्झनामा टोलाउँदै सुक्सुराउँदै बिगतका रमाइला क्षणहरुलाई मनमनै सुम्सुम्याउन थाल्छे! उस्को हात छोरीको शिरमाथि मन संगै दौडी रहेको हुन्छ! छोरीले जे जति बुझेकी छ आमालाई सम्झाउने र रुन सघाउने बातावरण बाट भने टाढिएकी छैन ! उता छोरी धेरै बर्ष सम्म नआए पछी टेली फोन सम्पर्क टाढिदै जाँदा एक दिन छोरी संग सम्पर्क बिहिन नै हुन पुग्छन बाबु आमा ! समयको दौरान संगै दुखित  मन पनि दौडिरहेको बेलामा एक दिन हुलाकीले लिनाको हातमा एउटा चिट्ठी थमाएर जान्छन ! हतार हतार खोलेर हेर्छे! चिठ्ठी भित्रको खबरले ऊ बिह्रल बन्छे र आशीरको अनुस्पस्थितिमै छोरी च्यापेर घरबाट बाहिरिन्छे लिना ! टिकेट को चाँजोपाँजो मिलेपछी जन्म घर तिरको उडान सुरु हुन्छ र ऊ जन्मथलोमा पाइला टेक्न पुग्छे छोरी लिनाको साथमा ! छोरीको आगमनमा आमाले तप्लक्क मोतीदाना खसाल्दै भुइँतिर हेर्छिन ! बाबा नदेखे पछी ऊ सबै कोठा चाहार्छे  र आमालाई अंगालो मारेर रुन थाल्छे ! अब उसले बाबालाई मात्रै भित्ताको तस्बिरमा देख्न पाउने छ! जून बाबाले अन्तिम क्षण लिना लिना भन्दै देह बिसाएका थिए!  उस्ले अब एउटा संकल्प नै गर्छे र भन्छे ! आमा! मैले मेरो प्राण भन्दा प्यारो बाबाको बोली सुन्न अब अर्को जुनीमा उहाकै छोरी भएर जन्मिनु पर्छ! म तपाईलाई छाडेर कहिँ जान्न यहिँ छोरीका साथमा तपाई संग सदाको लागि बस्न आएकी छु ! छोरीका कुरा सुनेर आमाले पनि हर्ष र बिस्मात दुवै मिसाएर आँशु झार्छिन ! दिन बित्दै जान्छ हजुरआमा र नातिनी रमाई रमाई खेलेको देखेर मख्ख परेर हेरिरहन्छिन लिना!

                        जवानी रहुन्जेल पराइको साथ र माया प्यारो भए पनि जब एउटी नारी आमा बन्छे तब सन्तानको ममता र दाइत्व आँखा अगाडी बिम्ब बनेर बसिदिन्छ ! आफुले आफ्नो सन्तान लाई जन्म दिंदा जति खुशी थिइन उनि! उसै गरी आफुलाई जन्माउदा आफु जस्तै खुशी भएका बाबा आमाको कल्पना गर्छे!  सबै कुराले सन्तुस्ट भए पनि आज फेरी कहीं  कतै केहि अभावको महसुश हुँदै छ लिना लाई ! हुन त उता आशीर लाई पनि श्रीमती र छोरीको बियोगले पागल नबनाएको भने होइन ! नत उस्ले लिना लाई भेट्ने आँट गर्छ नत एक्लै जीबन बिताउने नै! आफ्नै स्वार्थीपनले गर्दा आज ऊ सबै बाट टाढा भएको छ एक्लो भएको छ .....!!!

                    "यसै लाई जीवनको एउटा रित सम्झेर आज लिना आफ्नी आमा र आफ्नो प्रेमको  निशानी स्वरूप प्यारी छोरीको साथमा आनन्दले जीवन बिताई रहेकी छिन् "

  कल्पना भावुक
काठमाडौँ 
हाल ,इजराएल 

कविता ; मेरो कविता मेरो देशको खातिर!


कविता ;  मेरो कविता मेरो देशको खातिर!
आमा
सुनन..
त्यो कपुत छोराको खोजीमा किन अपाहिज  बन्छौ ?
तिम्रो ममता बाट बुर्लुक्क माथी उफ्रिएर
निसास्सिने गरी
तिम्रै छातीमा
ड्याम्म बुट जुत्ता बजारेको बिर्सियौ
आमा...!
तिम्रो सग्लो अनि सुन्दर स्वरुप माथि
निर्माणका निर्धारित धर्साहरु कोर्दै
प्रयोगसालामा राखिएको रवरको टुक्रा सम्झेर
मनोमानित आकार दिने बहानामा
तिम्रो प्राकृतिक सुन्दरतालाई
बकुल्लाको घाटी बनाएका बिर्सियौ ?
जहाँ
आँखा चिम्लिएर निशाना लगाउने होडबाजीमा
ऊ प्रथम बनोस!

आमा...!
तिमीले संसार हेर्ने आँखा पनि गुमाएकी छौ 
तिनै कपुत हरुका खातिर
तिनकै भुडीका खातिर
प्रत्येक गाँसमा सन्तानको नाम लेखेर राख्यौ 
परेलीको डिलमा  टिलपिल भएको आँशु  
परेलिमै सुकाई छोराको पर्खाइमा 
मुसुक्क हाँसेर 
घुटुक्क थुक निल्दै किलकिले भिजायौ
तर
स्वअस्तित्व बचाउँनको खातिर
तिम्रै सन्तानले
तिम्रै सन्तानलाई मुला बनाएर
घिरौला बनाएर
छाप्काऊँदै रक्तकुन्डको होलीमा
नृत्य गरेको बिर्सियौ आमा ?
 आमा...!
ति सन्तानको पर्खाइमा
त्यो चिरा चिरा परेको छाति 
अझै आशाको झिल्को बोकेर
खुइया गर्दै
रंग बिनाका
नुनिला आँशुको बाढी नबगाउ आमा !

अब त तिमीले
यस्तो सन्तानको आशा गर्नु पर्छ 
जो जन्मदै शान्तिको माला
घाटीमा पहिरिएर आवस 
स्वाभिमानी बर्कोले जिउ ढाकेर आवस 
असल कर्मका खातिर
जननी जन्म भूमिका खातिर
सुदूर क्षितिज नियाल्न शान्तिको प्रतिक
अनि
प्रेमको प्रतिक बनेर आवस 
तिमी भन्दा शक्तिसाली अरु कोहि छैन आमा!
त्यसैले.... त्यसैले
एउटा अशल सन्तानको खोजि गर
आमा..!
जो तिम्रो खातिर
एक मुठी पानीले सम्पूर्ण भोक मेट्न सकोस
एक त्यान्द्रो कपडाले सम्पूर्ण लाज ढाक्न सकोस
तिम्रो एक उपदेशले ब्रम्हाण्ड हाँक्न सकोस् 
हर्षका साथ तिम्रो नाम
खुला छातीमा स्वाभिमानले लेख्न सकोस
आमा..!
ममताको पर्खालले दुस्मनको गोली छेक्न सकोस !

कल्पना गिरी "भावुक"