Social Icons

कथा ~~म सानो हुँदाको दशैं

कथा ~ म  सानो हुँदाको दशैं
 बर्ष दिनमा बल्ल बल्ल एक पटक आउँने दशैँ ! त्यो पनि गरिबको घरमा गरिबी संगै भित्रिन्थ्यो ! बर्ष भरिनै बिहान देखि बेलुका सम्म हात खुट्टा बजार्दा लाउन खानको दुख भने थिएँन! सायद म दस बर्षकी हुनु पर्छ दशैँ नजिकिंदै थियो ! किनमेल गर्न बाबा आमा बजार जाने तरखरमा हुनुहुँन्थ्यो! मैले पनि बजार जाने जिद्दी गरे! म बाबा आमाको कान्छी छोरी यसै पनि मायाले पुलपुलिएकी थिएँ त्यसैले नाई नभनी लिएर जानु भयो ! हरेक बर्ष स्कुलका ड्रेश त्यहि दशैको मौका पारेर फेरिने गर्थ्यो ! लुगा नयाँ  हुन्थ्यो ! तर उही सेतो सर्ट र निलो फरक ,चप्पल नयाँ हुन्थ्यो तर उही पिटिक पिटिक गर्ने हात्ती छाप! दशैँ त आउँथ्यो तर प्रत्येक बर्ष झैँ मेरा इक्ष्या र चाहनाले भने नया रुप लिन सकेका थिएनन ! यसपटक भने म आफै बजार गएकी हुँदा जिद्दीपन संगै सेतो भुइमा रातो र निलो फूल बुट्टा भएको जामा किनेर खुशी हुँदै घर फर्किएँ ! अष्टमी हुँदै बडादशैं पनि आयो ! टिका लाउने तयारी भयो! तिन दाजु र एक दिदी सहित पालो पालो गर्दै टिका संगै आसिर्बाद थाप्ने क्रममा मेरो पालो आयो! बाबा र आमाले टिका लगाउँदै आशिर्बादका सब्द बर्साउँन सुरु गर्नु भयो! नानी ठुली हुनु राम्रो पढ्नु ज्ञानी हुनु आफु भन्दा ठुलाले भनेको मान्नु राम्रो ज्वाई भेटेस् भाग्यमानी भएस .....आदि आदी! यहि आसिर्बाद संगै बाबाले भन्नु भयो अब कान्छीले मासु भात खाएर लिंगे पिङ भएतिर भैसी लिएर जान्छे ! एकै छिनमा आउनु भन्दै बाबाले भने पनि म झन खुशी भएर हतार हतार खाना खाएर भैसी खोलेर हिंडे !

                      दशैंको दिन नयाँ लुगा फेरेको दिन साथीहरुलाई देखाउन हतारो भएको थियो ! त्यो दशैंमा मेरो नयाँ जामा स्कुलको ड्रेश भन्दा फरक पाएकी ले  म फुर्केर भुइमा खुट्टा नै थिएनन्! त्यस बेलाको सिनेमा हल सारदा टाकिज बेलबारीमा लाहुरे फ्लिम चलेकोले गर्दा सबैको मुखमा सोहि फिल्म कै गीत झुन्डिएको थियो ! म पनि भैसी माथी चडेर बिरताको चिनो बिरको सन्तान सहीदको रगत लाहुरेको निशानी....गुन्गुनाउदै भैंसी लाई सिर्कनाले हान्दै छिटो छिटो पाइला सार्ने संकेत दिदै थिएँ ! बाटोमा एक साथी संग भेट भयो! फुरुक्क हुँदै जामाकै कुरा गरें ! क्रमस जामा संगै मेरो फुर्क्याई सकेर म घर फर्कन लागें! भैंसी  लाई कुलोमा पानी खुवाउन लाँदै थिएँ ! बजिनिलाई आहाल बस्न मन लागेछ घर आउँन मान्दै मानिन आहाल बसेरै छाडी ! एकछिनमा कुलोको हरियो दुबो चर्याम चर्याम पार्दै चपाउन लागेकीले मेरो कमलो मनले कुलोको बाटो हुँदै घरसम्म चराएर लैजाने निर्णय गर्यो! सो भैसी माथी चडेर आफ्नै कान थर्किने गरी ठुलो ठुलो स्वर निकाल्दै गीत गाउँन लागेछु !
चलेछ बतास सुस्तरी मनै सरर ....
भरोसा छैन जीबनको खेलाची नगर...!
                   
                   जाँदा जाँदै कुलोको डिलमा भएको अम्बाको बोट अगाडी आईपुगेको ख्याल नै भएनछ! नुहेको हाँगोले जामा अड्काएर उधोमुन्टि पार्दा पो आमा भनेर चिच्याएँछु ! मेरो स्वर सुनेर दाजु, आमा र दिदी कुधेर आउँनु भएछ! अनि मलाई त्यो अंकुसे बाट भुइमा उतार्दा पो चाल पाएँ मेरो नयाँ जामा त दुइटा भएर मलाइ नांगै बनाएर मै माथी आँखा तर्दै गिज्याई रहेको रहेछ ! मामा घरका हजुर बुबाले एक मोहर दिंदा लगाएको टिका पुछेर रुने मान्छे म! नातिनीको आँशु पुछ्न एक रुपयाँको ढ्याक दिनै पर्ने हुन्थ्यो! त्यो जामा लगाएर मामा घरमा हजुरबाले दिने एक रुपियाको ढ्याक थाप्ने मेरो रहर अधुरो भयो ! त्यो जामा फाटेपछी को मेरो दशैं घर भित्रै सिमित भयो ! पुर्णिमाको भोलि पल्ट मात्र बाहिर निस्किएकी थिएँ ! मलाई अझै पनि त्यो फूल बुट्टे जामको खुब  माया लाग्छ र त्यो जामा मेरो आँखाभरी आउछ ! त्यो दिन म यति धेरै रोएकी थिएँ कि त्यो क्षण सम्झिंदा म अझै रुन थाल्दछु !!

                बडा दशैँ २०६९ को पावन अवसरमा देश विदेशमा रहनु हुने सम्पूर्ण आफन्तजन र मित्रहरुमा हार्दिक हार्दिकमंगलमय  शुभकामना व्यक्त गर्दछु!!!


"कल्पना भावुक"

No comments:

Post a Comment